मुख्य खबर

कात्तिक १ बाट जजिरा एयरवेजले नेपाल उडान गर्ने


काठमाडौं । खाडी मुलुक कुबेतस्थित अन्तर्राष्ट्रिय वायुसेवा कम्पनी जजिरा एयरवेजले नेपाल उडान गर्ने घोषणा गरेको छ। जजिराले आगामी आगामी कात्तिक १ (नोभेम्बर १५) देखि कुबेतबाट काठमाडौंका लागि दैनिक एक उडान गर्ने घोषणा गरेको हो। नेपालको उडान व्यवस्थापन सम्हाल्न जजिराले सोसाइटी इन्टरनेसनल ट्राभल सर्भिसेस प्रालिलाई ‘जनरल सेल्स एजेन्ट’ (जिएसए) नियुक्त गरेको छ।

जजिराको जिएसए सोसाइटी इन्टरनेसनल ट्राभलकी अपरेसन हेड सङ्गीता रौनियारले कुबेतबाट आउने जजिरा प्रत्येक अपराह्न ४ बजे काठमाडौंबाट कुबेतका लागि उड्ने तालिका बनाइएको छ। काठमाडौंबाट कुबेतको हवाई उडान दुरी करिब साढे चार घण्टा छ। जजिराले नेपाल उडानका लागि युरोपेली जहाज निर्माता कम्पनी एयरबसमा निर्मित ‘ए३२०-२००’ सिरिजको जहाज प्रयोग गर्ने जनाएको छ।

१ सय ६० हाराहारी सिट रहेको उक्त जहाजमा बिजनेस र इकोनोमी दुवै क्लास सिट छन्। ‘हवाई भाडा दर अहिले सार्वजनिक गरेका छैनौं,’ रौनियारले भनिन्, ‘यात्रुलाई उत्कृष्ट सेवासहित प्रतिस्पर्धी भाडा दरमा उडान सुविधा दिनेछौं।’ सन् २००४ मा स्थापना भएको जजिरा एयरवेजले हाल १० थान ए३२० जहाजबाट मध्यपूर्वका १७ गन्तव्यमा उडान गरिरहेको छ। जजिरा कुबेत अन्तर्राष्ट्रिय विमानस्थलबाट दोहा, दुबई, दम्माम, रियाध, जेद्दाह र लन्डनसम्म गइरहेको छ।

सम्बन्धित समाचार शीर्षकहरु