मुख्य खबर

नेपालको आर्थिक वृद्धि ६.३ प्रतिशतमा खुम्चिने एडिबीले गर्यो यस्तो प्रक्षेपण


काठमाडौं । एसियाली विकास बैंक (एडिबी)ले चालु आर्थिक वर्ष नेपालको आर्थिक वृद्धि ६.३ प्रतिशतमा खुम्चिने प्रक्षेपण गरेको छ।

एडिबीको प्रक्षेपण गत आवमा हासिल भएको वृद्धि र सरकारले चालु आवमा लिएको लक्ष्यभन्दा कम हो। सरकारले चालु आवको नीति तथा कार्यक्रम र बजेटमा ८.५ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य राखेको छ, जुन एडिबीले प्रक्षेपण गरेभन्दा २.२ प्रतिशतले कम हो। गत आवमा यस्तो वृद्धिदर ७.१ हासिल भएको प्रारम्भिक अनुमान गरिएको छ।

एडिबीद्वारा शुक्रबार सार्वजनिक ‘नेपाल माइक्रोइकोनोमिक अपडेट’ मा तल्लो तहसम्म सरकारी खर्च बढाउन सके र निजी क्षेत्रको लगानी बढाउन सके आर्थिक वृद्धिदर थप बलियो हुने उल्लेख गरिएको छ।

‘यस आर्थिक वर्षमा मनसुन सामान्य रहनु, ठूला पूर्वाधारको तीव्र कार्यान्वयनमा भएको प्रयास र पर्यटक आगमन बढ्नुले उच्च आर्थिक कायम राख्न सहयोग पुर्‍याउने देखिन्छ,’ एडिबीले भनेको छ।

गत जुलाइमा आएको बाढीले धानबालीमा पुर्‍याएको क्षतिका कारण गत आर्थिक वर्षको तुलनामा कृषिको वृद्धिदर घट्ने अनुमान गरिएको छ। उद्योग क्षेत्रको वृद्धि ७.९ प्रतिशत हुने अनुमान गरिएको छ। विद्युत् प्रवाह र प्रमुख पूर्वाधारमा लगानी बढेका कारण यस क्षेत्रको वृद्धिमा राम्रो हुने प्रतिवेदनमा उल्लेख गरिएको छ।

सेवा क्षेत्रको वृद्धि ६.९ प्रतिशत हुने अनुमान गरिएको छ। यसअन्तर्गत थोक तथा खुद्रा व्यापार, वित्तीय मध्यस्थता र पर्यटनलगायतमा सुधार हुने एडिबीको भनाइ छ।

चालु आवमा मूल्यवृद्धि बढ्ने देखाइएको छ। गत वर्ष ४.६ प्रतिशतमा सीमित मूल्यवृद्धि बढेर ५.५ प्रतिशत पुग्ने प्रतिवेदनमा छ। तर, सरकारले लिएको लक्ष्यभन्दा एडिबीको प्रक्षेपण कम हो। सरकारले चालु आवको बजेटमा मूल्यवृद्धि ६.० प्रतिशतमा सीमित गर्ने लक्ष्य राखेको छ।

संघीयताको सहज कार्यान्वयनमा अझै जोखिम रहेको एडिबीले जनाएको छ। संघीयताको सहज कार्यान्वयनका लागि पर्याप्त मानव संसाधन, प्राविधिक कर्मचारी तथा स्थानीय सरकारहरूको क्षमता बढाउन आवश्यक रहेको प्रतिवेदनमा औंल्याइएको छ।

सम्बन्धित समाचार शीर्षकहरु