मुख्य खबर

दशैको मुखमा यस्तो छ महंगीको मार,साग सब्जी किन्दै मात्र जाने भयो घरबार


काठमाडौं । कोटेश्‍वर महादेवस्थानकी लक्ष्मीकुमारी तरकारी किन्‍न तीनकुनेस्थित फलफूल तथा तरकारी बजार पुगिन्। त्यहाँ पुगेर भाउ सोध्दा झन्डै बेहोस् भइनन्। एक महिनाअघि ४०-५० रुपैयाँ किलो पर्ने सुकेको प्याज अहिले झन्डै डेढ सय छ। ६५ पर्ने तने बोडीको भाउ पनि उस्तै।

‘जहिले पनि दसैं तिहारकै बेला भाउ बढाउँछन्। तरकारी त खानै नसकिने भयो,’ कुमारीले गुनासो गरिन्।

‘तरकारी नखाउँ भने हुँदैन, खाउँ भने किन्‍नै नसकिने, जहिल्यै समस्या गरिबले भोग्‍नुपर्छ,’ उनले भनिन्। तरकारीको भाउ दुई हप्तादेखि आकासिएको छ। पहिलेको तुलनामा दोब्बर नै भएको छ, अझ कति तरकारीको त तेब्बर भएको छ।

दसैं तिहारमा घरपरिवारलाई एक-दुई छाक भए पनि मिठो मसिनो खुवाउने खाने चलन छ। लक्ष्मी पनि त्यसैका लागि किनमेल गर्न तरकारी बजार पुगेकी थिइन्। ‘के गर्नु गरिबको पीडा कसले सुन्‍ने, चाडबाडको बेला सरकारले सकेसम्म मूल्य घटाउनुपर्ने हो। तर, हाम्रो देशमा झन दोब्बर बढ्छ,’ उनले भनिन्।

दसैं तथा चाडबाडका बेला बजारमा चहलपहल बढ्छ। हरेकले नयाँ सामान किन्छन्। एक-दुई दिन भए पनि सबैलाई चिटिक्क हुन मन लाग्छ।

तर, धेरैलाई महंगीकै कारण समस्या हुने गरेको छ। उनीहरू महंगी बढ्यो भन्नबाहेक केही गर्न सक्दैनन्।

सागसब्जीको चर्को मुल्यवृद्धिसँगै यसको कारोबार किलोमा भन्दा पाउमा गर्न थालिएको छ। ‘साग तरकारीको मूल्य छोई नसक्नु छ, मुल्यवृद्धिले विपन्न वर्गलाई मारमा पारेको छ,’ तरकारी लिन आएका विपीनले भण्डारीले भने।

चाडबाडको बेला महंगी अचाक्ली भए पनि न त मूल्यप्रति सरोकारवाला निकायले चासो नै दिएको छ, न मुल्य नै घटेको छ।

तर, बजार अनुगमन नियमन गर्ने निकाय वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले भने नियमित बजार अनुगमन गरी तरकारी तथा फलफूलको कृत्रिम अभाव सिर्जना गर्नेलाई कारबाही गर्ने गरेको बताएको छ।

‘थोक बिक्री पसलमा तरकारीको मूल्य सान्दर्भिक भए पनि खुद्रा तथा फुटपाथका पसलले अत्यधिक मूल्य बढाएका छन्,’ विभागका महानिर्देशक योगेन्द्र गौचनले भने।

लगातारको वर्षा, डुबान तथा पहिरोको कारणले तरकारीको मूल्य लगातार बढेकोे उल्लेख गर्दै उनले निरन्तर बजार अनुगमन तथा छड्के जाँच गरिरहेको र मुल्यमा मनोमानी गर्ने व्यापारीलाई कारबाही गर्ने बताए।

‘बजारमा तरकारीको भाउ बढेका बेला केही बिचौलियाले गर्ने कृत्रिम अभावप्रति विभाग सचेत छ,’ गौचनले भने, ‘नियमनमा कडाइ गरेका छौ। कसैलाई मनोमानी गर्न छुट छैन।

विभागले लगातारको वर्षा तथा बाढी पहिरोका कारण केही तरकारीमा केही मात्रामा वृद्धि हुनु स्वभाविक भएको समेत बताएको छ।
तरकारीको थोक बिक्री पसलमा भएको वृद्धिलाई त्यति अस्वाभाविक भन्न नमिल्ने गौचन बताउँछन्। उनी भन्छन्, ‘थोक पसलबाट खुद्रा पसलमा लगेर बेच्ने उपत्यकाका कुनाकुनाका व्यापारीले तरकारीको मुल्य अत्यधिक बढाएका छन्।’

विभागले उत्पादक, थोक बिक्रेता, पैठारीकर्ता आफ्नो कार्य क्षेत्रमा पर्ने भए पनि खुद्रा पसल तथा फुटपाथ नपर्ने भएकाले अनुगमन प्रभावकारी नभएको बताएको छ।

‘खुद्रा तथा फुटपाथका पसलको निरीक्षण नियमन गर्ने काम स्थानीय निकायको हो,’ उनले भने, ‘विभागले अनुगमन गर्दा केही व्यापारीले कृत्रिम अभाव सिर्जना गरेको भेटिएको छ, हामी त्यस्तालाई कारबाही गर्छौं।’

मूल्य बढ्दा व्यापारीले सामान लुकाउने, कालोबजारी गर्ने तथा स्टक राख्ने गरेको विभागले बताएको छ।

विभागले साउनदेखि हालसम्म ४ सय ५० पसलमा अनुगमन गरिसकेको र तीमध्ये ४५ प्रतिशतलाई बन्द गरेको जनाएको छ। विभागले महंगी नियन्त्रणका लागि सुपथ मुल्य पसल सञ्चालन गरिएको जनाएको छ।


सम्बन्धित समाचार शीर्षकहरु