मुख्य खबर

चीनको प्रभाब ह्वात्तै बढ्यो,पछिल्लो दुई महिनामा वैदेशिक लगानीका ७० उद्योग दर्ता हुँदा ६३ वटा चिनियाँ


काठमाडौं –  चालु आर्थिक वर्षको पहिलो २ महिनामा आएको कुल वैदेशिक लगनीमध्ये ९० प्रतिशत चिनियाँ कम्पनीका देखिन्छ । उद्योग विभागका अनुसार, चालु आवको पहिलो २ महिनामा नेपालमा १० अर्ब रुपैयाँभन्दा बढी वैदेशिक लगानी भित्रिएको छ । त्यसमध्य ९ अर्ब ४९ करोड लगानी प्रतिबद्धता सहित चिनियाँ लगानीका ६३ ओटा उद्योग दर्ता भएका छन् । विदेशी लगानी अन्तर्गत विभागमा यस अवधिमा कुल ७० उद्योग दर्ता भएका छन् । ती ७० मध्ये ६३ ओटा उद्योग चिनियाँ लगानीका हुन् । पछिल्लो समय चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणको क्रममा धेरैको चासोको विषय बनेको थियो केरुङ–काठमाडौं रेलमार्ग । तर यस बाहेक अन्य केही विषयमा भने सायदै कसैले चासो देखाएका होलान् ।

आर्थिक वर्ष २०७१/७२ देखि २०७५/७६ सम्मको ५ वर्षको अवधिमा कुल ७७ अर्ब २१ करोड रुपैंयाको वैदेशिक लगानी चीनबाट आएको छ । सोही अवधिमा भारतीय वैदेशिक लगानी प्रतिबद्धता भने ५० अर्ब रुपैंया बराबरको आएको छ । विगतको तथ्याङकलाई हेर्दा नेपालमा सबैभन्दा बढी लगानी गर्ने राष्ट्र चीन रहेको देखिन्छ । नेपालमा प्रत्यक्ष वैदेशिक लगानी गर्ने मामिलामा चीन सबैभन्दा अगाडि रहेको तथ्य भने धेरैले चासो नदिएको पक्ष हो । उद्योग विभागको तथ्यांक अनुसार चीनले गर्ने लगानीमा पहिलो प्राथमिकतामा परेको छ उर्जा क्षेत्र । यस क्षेत्रमा चीनको हालसम्म कुल ४१ अर्ब ५४ करोड रुपैंया बराबरको लगानीको प्रतिबद्धता आएको छ ।

त्यस्तै, पर्यटन क्षेत्रमा २० अर्ब ५७ करोड, सेवा क्षेत्रमा १८ अर्ब, उत्पादनमूलक क्षेत्रमा १२ अर्ब ४८ करोड, कृषिमा ४ अर्ब ३४ करोड तथा खनिज क्षेत्रमा ४ अर्ब ९९ करोड रुपैंयाको प्रतिबद्धता हालसम्म आएको विभागको तथ्यांकले देखाएको छ । विभागको पछिल्लो तथ्यांक अनुसार नेपालमा चिनियाँ लगानी निरन्तर बढ्दो क्रममा रहेको छ । विगतका थुप्र्रै वर्षदेखि हाल असोजको दोस्रो सातासम्म चिनियाँ लगानीकर्ताहरूले कुल १ खर्ब ४ अर्ब रुपैंया बराबरको लगानीको प्रतिबद्धता गरेका छन् । जबकी वि.सं ५० र ६० को दशकमा नेपालमा वैदेशिक लगानीमा अगाडि रहेको दक्षिणी छिमेकी राष्ट्र भारतबाट भने सोही अवधिमा मात्रै ९४ अर्ब ३१ करोड रुपैंया प्रतिबद्धता आएको तथ्यांकले देखाएको छ ।

आर्थिक वर्ष २०६२/६३ पछि क्रमिक रुपमा बढ्दै गएको चिनियाँ लगानी पछिल्लो ५ वर्षयता निकै बढेको देखिन्छ । आर्थिक वर्ष २०७१/७२ देखि २०७५/७६ सम्मको ५ वर्षको अवधिमा कुल ७७ अर्ब २१ करोड रुपैयाको वैदेशिक लगानी चीनबाट आएको छ । सोही अवधिमा भारतीय वैदेशिक लगानी प्रतिबद्धता भने ५० अर्ब रुपैंया बराबरको आएको छ । विगतका वर्षहरूमा साना र मझौला व्यवसाय तथा उद्योगमा चिनियाँ लगानी भित्रिएपनि पछिल्ला वर्षहरूमा भने सो लगानी ठूला उद्योग र ठूला पूर्वाधार आयोजनामा केन्द्रित हुन थालेका छन् ।

चिनियाँ–नेपाली लगानीकर्ताको संयुक्त लगानी रहेको होङ्सी सिमेन्ट, हुवासिन सिमेन्ट, दमक औद्योगिक पार्क लगायत आयोजना यसका उदाहरण हुन् । प्रधानमन्त्री केपी शर्मा ओलीको गृहनगर दमकमा बन्ने यो औद्योगिक पार्कमा ६५ अर्ब रुपैयाँ चिनियाँ लगानी हुने भएको छ । यसरी लामो राजनीतिक संक्रमणपछि नेपालमा आएको राजनीतिक स्थायित्व, स्थिर सरकार र लगानी क्षेत्रमा भएको नीतिगत सुधारले लगानीको वातावरण बनेको विज्ञहरू बताउँछन् । खासगरी, लगानीका क्षेत्रमा रहेका विगतका झन्झटिला प्रक्रिया विस्तारै हट्दै जानु, लोडसेडिङको अन्त्य हुनु जस्ता पक्षले पनि नेपालमा चिनियाँ लगानीकर्ता आकर्षित भएको नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेशकाजी श्रेष्ठको ठम्याई छ ।

पछिल्लो समय नेपालमा चिनियाँ पर्यटकको बढ्दो आवागमनलाई ध्यानमा राखेर चिनियाँ लगानीकर्ताले पर्यटन क्षेत्रमा लगानी बढाउँदै लगेको तथ्यांकले देखाएको छ । चालु आवमा असोजको दास्रो सातासम्ममा मात्रै पर्यटन क्षेत्रमा ५ अर्ब रुपैंया भन्दा बढी लगानी प्रतिवद्धता आएको छ । चिनियाँ लगानीकर्ताबाट पर्यटन क्षेत्रमा गरिएको उक्त वैदेशिक लगानीको प्रतिबद्धता अधिकांश साना तथा मझौला होटल र रेस्टुराँका लागि छन् ।

सम्बन्धित समाचार शीर्षकहरु