मुख्य खबर

सैदान्तिक विचलनको मारमा मधेशी दल


— उपेन्द्र झा

काठमाडौं – दुई तिहाईवाला नेकपाको शक्तिशाली सरकारको राजनीतिक धरातलमा असन्तुष्टता र आक्रोशको अग्नि प्रज्ज्वलित हुन थालेको छ । दावानल जस्तै यो आगोले राजनीतिक सतहमा देखिएका धेरै कुराहरू जलेर भष्म हुने सम्भावना बढिरहेको छ । सरकारलाई पनि यसको आभाष भइरहेको छ । सरकार विरोधी आन्दोलनको सूत्रपात हुन लागेको अवस्थामा नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले केही तत्वहरू सरकारको विरोधमा लागेको भन्ने आशयका अभिव्यक्ति दिएर शंका व्यक्त गरेका छन् ।
सडकमा देखिएका गुठी विधेयक विरोधी आन्दोलन तथा रवि लामिछानेको समर्थकहरूको आन्दोलनमा देखिएका जनआक्रोश विद्यमान सरकारको अकर्मण्यताको खिल्ली उडाउन प्रतिनिधि घटनाहरू हुन् । थरूहट थारूवान संघर्ष समितिले मंसिर १ गते सिंहदरबार घेर्ने आन्दोलनको घोषणा गरेको छ ।


सरकारले असन्तुष्ट पक्षलाई यथास्थितिमा राखेर घोषणा गरेको संविधान अमान्य साबित हुन लागेको बुद्धिजीबीहरूको विश्लेषणले देखाउँछ । यही असोज ३ गते संविधान दिवसलाई बहुमत जनताले “कालो दिवस’को रूपमा मनायो । यसरी संविधानको स्वामित्व लिने शासकवर्ग बाहेक जनशक्ति घटिरहेको अवस्थामा शक्तिशाली सरकारको औचित्यमाथि प्रश्न उठ्न थालेको छ ।
मधेशी, जनजाति, थारू, महिला, मुस्लिमहरूको आवाजलाई दबाएर शासन गर्ने यो सरकारको विरूद्ध राजनीतिक वातावरण बिग्रिन लागेको छ । आन्दोलनकारी पक्षमा एकता हुँदै जनआन्दोलनको आँधी बेहरी आउने सम्भावना प्रवक्त भएको छ । मंसिर १ गते थारू आन्दोलनले काठमाडौंमा व्यापक समर्थन पाउने सम्भावनालाई नकार्न सकिँदैन ।


मधेश थारू आन्दोलनलाई हेरिरहेको छ । जसरी गुठी विधेयकमा नेतृत्वविहीन जनताहरू स्वतः सडकमा आएर आन्दोलनको जन्म दियो, रवि लामिछाने प्रकरणमा जसरी बिना नेतृत्वका जनताहरू आन्दोलनलाई संगठित पारे, त्यस्तै थारू आन्दोलनलाई साथ दिन बिना नेतृत्वका मधेशी, जनजाति, दलित, मुस्लिम लगायतका जनताहरू सडकमा आउने कुरामा कुनै शंका देखिँदैन । मधेशका दलहरूमा सैद्धान्तिक विचलन बढी देखिएकोले यसले मधेशको कुरा गरे पनि आन्दोलनलाई अगाडि बढाउने क्षमता राख्दैन । राजपा, सामाजवादीभन्दा मधेशको मुद्दालाई बढी उठाउने गरे पनि आन्दोलन उठाएर अगाडि बढ्ने चरित्र भने छैन । समाजवादी सोझै आन्दोलनमा जाने हिम्मत जुटाइरहेको छैन । सत्तालिप्साले शासक वर्गसँग गहिरो सम्बन्ध विकास गरि दिएकोले आन्दोलनमा जाँदा सरकारको कोपको भाजन हुनुपर्ने डर छ ।


राजपा, समाजवादीले मधेश आन्दोलनको विश्वास गुमाइसकेकोले प्रष्फुटित हुने आन्दोलनमा मधेशी जनता स्वतः सडकमा आउने स्पष्ट छ । सकडबाटै सबै समुदायले आफ्ना लागि नेतृत्व चयन गर्नेछ । राजपा एक्लै संघर्ष गर्न तयार भयो भने सरकारको दमन थेग्न नसक्ने राजपाका यथास्थितिवादी सोचले उसलाई समाजवादीसँग मिल्न बाध्य पारेको छ ।


राजपाका अधिकांश अध्यक्षहरूमा यथास्थितिवादी सोच छ । यथास्थितिवादी सोच छ । महन्थ ठाकुरले “मधेशमा पृथकतावादी आन्दोलनको विकास हुन्छ’ भन्ने अभिव्यक्ति पराजित मानसिकको आक्रोश मात्र हो । क्रान्तिकारी र शेर कहिल्यै पनि जमात खोज्दैन भन्ने कुराको ज्ञान नभएकोले नै प्राप्त गरिएको सुख सुविधालाई त्याग्न कोही तयार छैन तर भुक्न पनि छोडेको छैन । के गर्ने भन्ने द्विविधाबाट राजपा मुक्त हुने कुनै सम्भावना देखिँदैन ।
राजपका अध्यक्षमण्डलका सदस्य राजकिशोर यादव र अनिल झाले समाजवादीसँगको मिलन अप्राकृतिक रहेको भन्ने तर्कमा धेरै हदसम्म यथार्थ झल्केको छ । मधेशको पहिचान लिएर जन्मेका उपेन्द्र यादव आफ्नो हैसियत बिर्सेर राष्ट्रिय नेताको रूपमा आफ्नो छवि बनाउने उद्देश्य लिएर राजनीति गर्दैछन् । मधेशको मुद्दा त उसको बार्गेनिङ्ग प्वाइन्ट मात्र हो । तर मधेशको पहिचान बनेकाले उपेन्द्र यादवको दिवास्वप्न कहिल्यै पूरा नहुने यथार्थलाई स्वीकार गर्न चाहँदैन ।


पहाड र मधेश भनुँ अथवा शासक र शासितवर्ग भनुँ यी दुवैबीच रहेको अन्तर्विरोध ०६३ सालदेखि चर्किँदै दुबै समुदायलाई राजनीतिको दुई किनारामा उभ्याई दिएको छ । यसलाई सहजै न्यूनीकरण गर्ने सम्भावना धेरै कम छ । यसलाई सहजै न्यूनीकरण गर्ने सम्भावना धेरै कम छ । यो यथार्थले उपेन्द्र यादवलाई कहिल्यै पनि राष्ट्रिय नेताको रूपमा विकास हुन दिँदैन ।
उपेन्द्र मधेशकै भरमा राजनीति गर्न चाहँदैन । त्यसकारण पनि उसले अशोक राई र बाबुराम भट्टराईको पार्टीसँग एकीकरण गरी शक्ति बढाउने प्रयासमा लाग्यो । यथास्थितिको घोर दलदलमा फँसेको समाजवादी पार्टी मधेशको अधिकार प्राप्त गर्ने संघर्षभन्दा यथास्थितिको राजनीतिमा आफ्नो वर्चस्व कायम राखी सत्तासँग बार्गेनिङ्ग गर्दै सुख सुविधा हासिल गर्न तत्पर रहेको कुरा सबैले बुझिसकेका छन् ।


मधेश यथास्थितिमा रहन चाहँदैन । आन्दोलनको विकास भएको अवस्थामा विशुद्ध मधेशी आन्दोलनलाई नेतृत्व गर्ने कोही नभएको अवस्थालाई परिपूर्ति गर्न राजकिशोर यादव र अनिल झाको तर्क यथासम्भव उचित लागेको बुझ्न सकिन्छ । क्रान्तिकारी र यथास्थितिवादीको समिश्रणमा आन्दोलन गन्तव्यमा पुग्न नसकिने यथार्थलाई प्रष्टसँग बुझ्न जरूरी छ ।
वैकल्पिक शक्ति बनाएर यो सरकारलाई चुनौती दिने समाजवादी पार्टीको उद्देश्य रहेकोले यसले वर्तमान सरकारलाई अपदस्थ गरी अर्को सरकार बनाउन सक्षम होला तर यसले अधिकारवादी आन्दोलनलाई गन्तव्यमा पुग्न दिँदैन र प्राप्त उपलब्धिलाई पनि बचाउन सक्दैन । तसर्थ समाजवादी पार्टीको वैकल्पिक शक्तिो चाहना पार्टीलाई यथास्थितिमा नै राख्नेछ र यसबाट मधेश केही नपाउने पक्क छ ।


मधेश आन्दोलन गर्ने उर्वरक भूमि हो । यसै यथार्थलाई स्वीकार गरी यहाँ अस्तित्व खोज्न अन्य पार्टीहरू विलय हुन पुगे । ठूलो पार्टीको जन्म भए पनि मधेशको पहिचान भने हराएको छ । राजपा पनि सामेल भए मधेशको कुरा गर्नबाट तथा मधेशीको पहिचान दिलाउनबाट वञ्चित हुने कुरा पक्का छ । (मधेश दर्पण फिचर सेवा)

सम्बन्धित समाचार शीर्षकहरु