मुख्य खबर

नेपालले पाउने भयो साढे १० खर्ब बढी ऋण,दुई महिनामा अनुदान र ऋण दुवै बढे


काठमाडौं – चालु आर्थिक वर्षको दुई महिनामा वैदेशिक सहायता प्रतिबद्धता करिब २ सय ४० प्रतिशतले बढेको छ। गत आवको सोही अवधिको तुलनामा यस्तो प्रतिबद्धता बढेको हो। अर्थ मन्त्रालयका अनुसार आव २०७६/७७ को भदौ मसान्तसम्ममा विभिन्न दातृ राष्ट्र÷निकायबाट १२ अर्ब ३५ करोड रुपैयाँ बराबरको वैदेशिक सहायता प्रतिबद्धता प्राप्त भएको छ। उक्त प्रतिबद्धता गत आवको तुलनामा २ सय ३९.२ प्रतिशतले बढी हो। गत आव (२०७५/७६) को सोही अवधिमा यस्तो प्रतिबद्धता ३ अर्ब ६४ करोड रुपैयाँ थियो।

चालु आर्थिक वर्षको भदौसम्म प्राप्त प्रतिबद्धतामध्ये अधिकांश प्रदेश र स्थानीय सरकार सहयोग कार्यक्रम (पिएलजिएसपी) परियोजनाको लागि भएको अर्थ मन्त्रालयले जनाएको छ। उक्त परियोजनाका लागि ११ अर्ब ४० करोड बराबरको वैदेशिक सहायता प्रतिबद्धता प्राप्त भएको मन्त्रालयको भनाइ छ। यसअवधिमा प्राप्त प्रतिबद्धता सबै द्विपक्षीय वैदेशिक अनुदान रहेको मन्त्रालयले जनाएको छ। दुई महिनामा अनुदान र ऋण दुवै बढे चालु आवको दुई महिनामा संघीय सरकारले प्राप्त गरेको वैदेशिक अनुदान र ऋण दुवैतर्फको रकम बढेका छन्। अर्थ मन्त्रालयका अनुसार भदौ मसान्तसम्म सरकारले ६ अर्ब ६६ करोड रुपैयाँ वैदेशिक अनुदान प्राप्त गरेको छ।

यो रकम गत आवको सोही अवधिको तुलनामा १ सय २५.८ प्रतिशतले बढी हो। त्यसैगरी, भदौ मसान्तसम्म विभिन्न दातृ निकायबाट १६ अर्ब ८४ करोड रुपैयाँ वैदशिक ऋण प्राप्त गरेको छ, जुन गत आवको तुलनामा १ सय २२.८ प्रतिशतले बढी हो। साढे १० खर्ब बढी ऋण चालु आवको भदौ मसान्तसम्म मुलुकले तिर्नुपर्ने ऋणको आँकडा १० खर्ब ६८ अर्ब ११ करोड रुपैयाँ पुगेको छ।

उक्त ऋणमध्ये ४ खर्ब ५३ अर्ब ४९ करोड रुपैयाँ आन्तरिक ऋणतर्फको रकम हो भने बाँकी ६ खर्ब १४ अर्ब ६२ करोड रुपैयाँ वैदेशिक ऋण हो। यस अवधिमा सरकारले वैदेशिक ऋणतर्फ सावाँ र ब्याज गरी ७८ करोड ७४ लाख रुपैयाँ तथा आन्तरिक ऋणतर्फ २ अर्ब २४ करोड रुपैयाँ ब्याज भुक्तानी गरेको अर्थ मन्त्रालयले जनाएको छ।

सम्बन्धित समाचार शीर्षकहरु