मुख्य खबर

डिजेल र मट्टितेलको आयातमा यसरी आयो कमी, आयल निगमको ६ अर्ब कसरी जोगियो ?


काठमाडौं – चालू आर्थिक वर्ष २०७६/७७ को पहिलो तीन महिनामा डिजेल र मट्टितेलको आयातमा कमी आएको छ । भन्सार विभागले केही दिन अघि सार्वजनिक गरेको तथ्याङक अनुसार गत आवको सोही समिक्षा अवधिको तुलनामा चालू आवमा डिजेल तथा मट्टितेलको आयातमा कमी आएको देखिएको हो । मुख्य चाडपर्वको समयमा समेत डिजेल तथा मट्टितेलको आयात घटेको भन्सार विभागका अधिकारीहरु बताउँछन् । यता आयात घट्नुको मुख्य कारण भने नियमित विद्युत आपूर्ति हो रहेको नेपाल आयल निगमका नायव प्रबन्धक सुशील भट्टराई बताउँछन् ।

‘अघिल्लो वर्षदेखि नै उद्योगहरुमा रहेको केही घण्टाको लोडसेडिङ हट्दा डिजेल आयात घटेको हो, अहिले प्रायः कुनैपनि उद्योगमा डिजेल हालेर जेनेरेटर चलाउनुपर्ने अवस्था छैन, जसले गर्दा आयातमा कमी आउनु स्वभाविक नै हो ।’ चालू आर्थिक वर्षको असोज मसान्तसम्ममा ३० करोड ८२ लाख ३६ हजार लिटर डिजेल आयात भएको विभागको तथ्याङ्कमा उल्लेख छ । जबकी, अघिल्लो वर्षको सोही समीक्षा अवधिमा आयल निगमले ३४ करोड २० लाख ९८ हजार लिटर डिजेल नेपालले आयात गरेको थियो ।

यस्तै गत आवको सोही तीन महिनामा ६६ लाख ८२ हजार लिटर मट्टितेल आयात भएको छ । उक्त आयात चालू आवको सोही अवधिमा ६६ लाख लिटरमा सिमित रहेको विभागको तथ्याङकले स्पष्ट पारेको छ । तथ्यांकअनुसार गत वर्षभन्दा ३ करोड ३८ लाख ६२ हजार लिटर डिजेल र ६६ लाख लिटर मट्टितेल कम आयात भएको हो । नेपाल आयल निगमका अनुसार डिजेल र मट्टितेलको आयात घटेसँगै उक्त तीन महिनामा निगमको करिब ६ अर्ब रुपैयाँ बचत भएको छ । गत वर्षको पहिलो त्रैमासिकमा डिजेल किन्न नेपाल आयल निगमले २५ अर्ब ८२ करोड ७ लाख ४३ हजार रुपैयाँ खर्च गरेको थियो । त्यस्तै, चालू आवको तीन महिनामा निगमले २० अर्ब १६ करोड ३९ लाख ४ हजार रुपैयाँ खर्च गरेको जानकारी गराएको छ । डिजेलमा मात्रै ५ अर्ब ६६ करोड रुपैयाँ बचत भएको निगमको भनाई छ । यस्तै, गत वर्ष मट्टितेल आयात गर्न निगमले ४९ करोड ४५ लाख ७३ हजार रुपैयाँ करबाहेक खर्च गरेको थियो । चालू आवको तीन महिनामा भने मट्टितेल आयातको क्रममा ४१ करोड ५१ लाख ६० हजार रुपैयाँ खर्च भएको निगम स्वयमले बताएको छ

सम्बन्धित समाचार शीर्षकहरु