मुख्य खबर

यो यतिके सरकार हो कि केपीको ?

गोपालमान श्रेष्ठ, नेता, नेपाली कांग्रेस
इमान्दारीका साथ सधैं शेरबहादुर देउवाको साथमा रहने कांग्रेस नेता हुन्, गोपालमान श्रेष्ठ । अहिले कांग्रेसमा भाँडभैलो छ, महाधिवेशनलाई लिएर । यसबीच, केही विभाग गठन भए । त्यसमा सबै गुट एक भएर देउवाविरुद्ध खनिएका छन् । यसमा देउवापक्षीय भनी चिनिएका प्रकाशमानलगायत नेता पनि छन् । तर, गोपालमान टसमस भएका छैनन् ।

शेरबहादुर देउवाको हठले कांग्रेस सकिने भयो भन्नेहरु बढेका छन्, वास्तविकता के हो ?


– काम गर्न पनि नदिने, बाहिर बसेर पार्टी सकियो भन्ने ? उहाँले सहमतिका लागि निकै प्रयत्न गर्नुभएको हो । तर, केही नलागेर थाक्नुभएजस्तो छ । प्रजातान्त्रिक पद्धति भनेको बैठकमा आउने, आफ्ना कुरा राख्ने हो । बैठकमा नआउने, आए पनि घण्टौं कुराइदिने । उहाँहरूकै कारण बैठक नै पोष्टपण्ड गर्नुपर्ने । अनि बाहिर बसेर सभापतिलाई गाली गर्ने । उहाँहरूलाई मागेजति दिइएको हो ।


प्रतिपक्षी दलभित्रै आन्तरिक एकता सुदृढ नहुँदा सत्तापक्षलाई मनोमानी गर्न सघाउ पुग्दैन र ?


– यतिबेला सबै एकै ठाउँमा उभिएर सदनमा अवरोध गर्दै सडक तताउनुपर्ने बेला हो । सभामुख रिक्त भएको ४ महिना बितिसक्दा उहाँहरू अनिर्णयको बन्दी भएर मुलुकलाई बन्धक बनाउनु अत्यन्त दुःखदायी विषय हो । योे यतिको सरकार हो कि केपीको सरकार हो ? नेपाल ट्रष्टका सम्पत्ति कौडीको भाउमा यतिलाई ? अझै ६ वर्ष म्याद बाँकी भएको उसलाई अर्काे २५ वर्ष लिजमा दिनु कत्तिको जायज हो ? यो अधिनायकवाद भयो । कानुन त्यस्तै आएको छ । अधिकारजति प्रधानमन्त्रीकहाँ ल्याएर थुपारेको छ । लेख्ने, बोल्ने स्वतन्त्रता पनि खोसिँदै छ । सदन चलेको भए हामी यी कुरा जोडदारसँग राख्थ्यौं, जवाफ खोज्थ्यौं ।


राष्ट्रिय सभामा कांग्रेस नील हुने स्थिति आउँदै छ । के भन्नु्हुन्छ ?


– संविधानतः सभामुख वा उपसभामुखमध्ये एक प्रमुख प्रतिपक्षीलाई दिइनुपर्ने हो । तर, उहाँहरूले बाहानाबाजी गर्नुभयो हामी फरक–फरक दल हौं भनेर । उहाँहरूले सभामुखको डिसिजन गर्न नसके हामीलाई दिए हुन्थ्यो । अझै पनि जालझेल गरेर अरूलाई दिने इच्छा हो । यही बेला हामीमा खिचातानीका कारण उनीहरूको मनोबल बढेको छ ।


कसरी सल्टन्छ आन्तरिक कलह ?


– शेरबहादुरले वैधानिक गरेन भन्ने अनि अवैधानिक कामचाहिँ आफूले गर्ने ? पार्टीमा हार्ने पक्षले जिल्लाका मान्छेलाई जोडेरसभापति सम्मेलन गर्न मिल्छ ? एक वर्षअघि सभापतिहरूको हेटौंडामा सम्मेलन भएकै हो । महासमिति डाकिएको एक वर्ष कट्यो । प्रजातन्त्रमा अल्पमत र बहुमत हुन्छ । हरेक कुरा सर्वसम्मतबाट हुन्छ भन्ने छैन । बहुमतको निर्णयलाई अल्पमतले स्वीकारेर जानुपर्छ सुझाव, अभिमत, नोट अफ डिसेन्ट लेख्न पाउने अधिकार त छँँदै छ ।


ल्ला सभापतिहरूले देउवालाई दिएको ज्ञापनपत्रबारे के भन्नुहुन्छ ?


– उहाँहरू आउनुअगावै ३५÷४० जना सभापतिलाई निमन्त्रणा गर्नुभएको थियो । जसमध्ये २० जना गएर आफ्ना कुरा राख्नुभयो । भागबण्डाको विरोध गर्नुभयो । त्यसैमा त सबै कुरा अल्झिरहेको छ । चुनाव हार्ने, राम्रो भाग खोज्ने । पार्टीलाई एउटै बास्केटमा राखेर जसको जहाँ उपयोगिता हुन्छ त्यही ठाउँ दिनुपर्छ भन्ने मेरो मान्यता हो । फेरि उहाँहरूले भाग पाउँदा पनि मानिरहनुभएको छैन । ४० प्रतिशत दिन्छु भनिएकै छ । अनि अधिवेशनको मिति तोकेपछि विभाग किन बनाउनुप¥यो भन्दै बटारिने । कमसेकम ४० जनाभन्दा बढी साथी सक्रिय हुन्छन् । केन्द्रीय समितिका साथीहरूले काम पाउँछन् ।

एउटा विभागमा ५० जना हुन्छन् । कमसेकम २३ सयभन्दा बढी साथी क्रियाशील हुन्छन् । एक वर्षमा धेरै काम हुन्छन् । सभापतिको हात खुट्टा बाँधेर काम गर्न नदिने परिपाटी राम्रो होइन । अस्ति जिल्लामा हारेका उपसभापतिका उम्मेदवारहरूले यस्तै हतकण्डा गर्नुभयो भने के गर्नुहुन्छ ? भनेर सोधिएपछि उहाँहरू चुप लाग्नुभयो । मूल मिति ७ फागुनदेखि १० सम्म कुनै हालतमा सर्दैन । रामचन्द्रजीसँग परामर्श गरेर विधान बहुमतले पास गरेका हौं । महासमिति बसेको ५÷७ महिनाभित्र विधान पास नभएको भए अहिलेसम्म केही नहुनेरहेछ । महामन्त्री देउवाजीको पक्षमा नभए पनि अर्काे महामन्त्री मनोनयन गर्ने ठाउँ छ । सजग हुनुहोस् भनेर बारम्बार भनेको हुँ । उहाँको जवाफ मिलाएरै गर्ने हो भन्ने आउँँथ्यो ।


सभापतिलाई असफल पारेर रामचन्द्र, शेखर, सशांकहरूलाई के फाइदा ?


– कांग्रेसको संगठन भएर कसलाई फाइदा हुन्छ ? कांग्रेसजनलाई बेफाइदा भइरहेको छ । हाम्रो इतिहास हेर्नुहोस् त जब विभाजित हुन्छौं तब हामी गुमाउँँछौं । ०५१ सालमा फुट्यौं । मध्यावधि निर्वाचन गुमायौं । ०५६ मा एक भयौं जित्यौं । ०६४ मा माओवादीले लतार्दा, डर, त्रासका बाबजुद पनि राम्रै स्थान ल्यायौं । ०७० मा जनताले कांग्रेसलाई बहुमत नदिई संविधान बन्दोरहेनछ भनेर मत दिए । कांग्रेसकै नेतृत्वको सरकारले संविधान बनायो ।

०७४ मा उम्मेदवारी त दियौं तर विभिन्न ठाउँमा हाम्रै साथीहरूलाई हराउन कम्मर कसेर लागिपरे । माओवादी हामीसँग मिल्न आएको थियो । त्यतिबेला ३५ प्रतिशत पनि दिन सकेनौं । शेरबहादुरजी त मिलाऔं । दिऔं भन्ने पक्षमा हुनुहुन्थ्यो । साथीहरू मान्नुभएन । हामी सरकारमा सँगै थियौं । मिलेर गएको भए अहिले हाम्रै सरकार हुन्थ्यो । तर, त्यसरी मिलेको खण्डमा सभापति सफल हुने भए । सभापतिको सफलता देख्न नसक्दा मुलुक र पार्टीकै असफलता भयो । मलाई पनि विपक्षीले हराएको होइन । आफ्नै पार्टीका मान्छेले हो ती कहाँबाट सञ्चालित थिए भन्दिनँँ ।

रामचन्द्रजी पनि हार्ने मान्छे होइन । धेरै साथी कम भोटले हारेका छन् । एमालेको झगडाका कारण हामीले बर्दियामा जित्यौं । त्यहाँ एउटा डिजाइन थियो वामदेवलाई संसद्मा आउन नदिने । त्यस्तै डिजाइन कहाँ–कहाँबाट बुनियो र मेरो पनि संसद्मा आउने बाटो छेकियो । कसैले त्यसबाट मज्जा माने होलान् पार्टीलाई ठूलो नोक्सान भयो । मेरो आकलन थियो कम्तीमा पनि ५ हजार मतान्तरले तर जित्ने । तर, परिवारकै सदस्यले भित्रभित्रै खेल्छ । विपक्षीसँग लड्न सजिलो हुन्छ तर आफ्नैसँग भिड्न गाह्रो हुन्छ । हाम्रो १५ सिट यही लफडाका कारण गुमेको हो ।


पहिला मर्यादाक्रमको विषयमा तपाईंको असन्तुष्टि थियो । अहिले संबोधन भयो ?


– ज्ञानेन्द्रको संयोजकत्वमा तीन जनाको एउटा कमिटीले ढिलै भए पनि मेरो मर्यादाक्रम कायम ग¥यो । रामचन्द्रजीलाई वरिष्ठमा लगिसकेपछि मलाई केन्द्रीय सदस्यमध्ये तेस्रोमा पु¥याइएको थियो । अहिले पहिलो कायम गरिएको छ । अरू लिने दिने कुरा आपसमा छँदै छ । संयुक्त पार्टीको उपसभापति थिएँ गिरिजाबाबु हुँदा । फुटेको बेला शेरबहादुरजी जेलमा हुँदा दुई वर्ष कार्यवाहक चलाएको हुँ । माओवादीलाई मूलधारमा ल्याउने १२ बुँदेको हस्ताक्षरकर्ता पनि हुँ । मेरो स्वभाव आफू नचाहिँदो नगर्ने, अरूले गरेको पनि नसहने हो । त्यतिबेला मेरै सभापतिले मविरुद्ध अन्याय गर्दा उहाँविरुद्ध लडेको हुँ । मलाई एक नम्बरको सदस्यबाट खसालेर निवर्तमान महामन्त्री उपसभापतिभन्दा माथि हुन सक्दैन भन्दै लडेपछि सभापति बाध्य हुनुभयो । र, निर्णय सच्याउनुभयो ।

सिएमसी विवादको शुरुआतकर्ता कांग्रेस नै हो भनिन्छ ।


– यो एउटा ठूलो उपलब्धि हो । हाम्रो विकासलाई ठूलो टेवा दिने गरी बजेट आउँदै छ । यो नलिनु ठूलो भूल हुनेछ । लिनुपर्छ, संसद् चल्नेबित्तिकै यसलाई पास गर्नुपर्छ । कराउने कुरा एकातिर तर, यो पैसा लिनुपर्छ ।


वाइडबडी, एनसेल, सिएमसी, यतिलाई जग्गा लिजजस्ता हरेक प्रकरणमा तपाईंहरूको पार्टी सभापति मुछिरहनुभएको छ । यी सबै निर्णय तपाईंहरूकै पालामा भएकाले यसको जिम्मा लिनुपर्ने कि नपर्ने ?


– हाम्रो सभापतिको कुनै हात छैन । वाइडबडी, बालुवाटार जग्गा प्रकरण, एनसेल, ३३ किलो सुन ढिसमिस बनाइँँदै छ । प्रधानमन्त्री ओलीले भ्रष्टाचारीको मुख हेर्दिनँँ भन्नुभएको छ । तर, अहिले तिनैसँग अंकमाल गर्दै हुनुहुन्छ । उहाँहरूकै आवरणमा बदमासी भइरहेको छ । यस्तै ज्यादती रहिरह्यो भने १०४ वर्षे राणाशासन त टिकेन, २४० वर्षको राजसंस्था त फ्याँँकियो भने यिनीहरूलाई ब्यालेटबाट फ्याँक्न नसके पनि बीचमै फाल्नुपर्ने अवस्था आउँछ ।


यो सरकारको कार्यशैलीलाई कसरी मूल्यांकन गर्नुहुन्छ ?


– हामी असाध्यै भाग्यमानी । जतिसुकै चुट्की मारे पनि काम पटक्कै हुन सकेको छैन । गृहिणीले झोलाभरी पैसा लिएर गएर त्यही झोलाभरी तरकारी किनी फर्कनुपर्ने अवस्था छ । सरकार यति निकम्मा भयो कि आफ्नो मान्छे पोस्नमै उद्यत छ । प्रधानमन्त्री मात्र होइन, मुलुकै रोगी भइसक्यो ।


स्याङ्जालाई कत्तिको मिस गर्नुहुन्छ ?


– बेला–बेला गइरहन्छु । टेलिफोनबाटै दुःख–सुख सबै बुझ्छु । तर अहिले हाम्रा शुभचिन्तकलाई अत्यन्त पेल्ने, बसिखानै नदिने काम भइरहेको छ ।

This image has an empty alt attribute; its file name is 82381170_462612887739280_4371014936130748416_n.jpg

सम्बन्धित समाचार शीर्षकहरु