मुख्य खबर

किसानहरुलाई क्षमताका आधारमा अनुदान सहयोग गर्नु पर्नेमा जोड

काठमाडौं । किसानलाई उनीहरुको कामको क्षमताको आधारमा अनुदान वितरण गर्नु पर्ने, सही र ब्यवसायीक किसानको पहिचान हुनु पर्ने, नीतिमा भन्दा ब्यवहारमा वितरण गरिएको कृषि अनुदानले मात्र उत्पादनलाई प्रभावकारी बनाउने बताईएको छ । “राज्यले कृषकलाई नारा होइन, व्यवहारले सहयोग गरौं“ भन्ने नारा स्थापित गर्दै काठमाडौं र भक्तपुरका किसानहरुले एक कार्यक्रमको आयोजना गरी साक्षात्कार गरेका छन् ।


देशका विभिन्न स्थानमा ब्यवसायीक पशुपालन तथा कृषकहरुको समस्या र चुनौती बिषयक अन्तक्र्रिया कार्यक्रममा भक्तपुरको निलबाराहीमा भेला भएका सहभागिहरुले सामुहिक रुपमा आफ्ना धारणा राखेका हुन । कार्यक्रममा बागमती प्रदेश काठमाडौं क्षेत्र नं. २ का सांसद मनीराम फुँयालले किसानहरुको योग्यता र उत्पादन क्षमताका आधारमा प्रदेश सरकारले अनुदान वितरण गर्दै आएको दाबी गरेका छन् । उनले सरकारले किसानको घरदैलोमा पुगेर उनीहरुको कामको मुल्यांकन गरी सरकारी अनुदान र प्राबिधिक सेवा उपलब्ध गराउनु पर्ने बताए ।


कार्यक्रममा पशु सेवा विभागका उपमहानिर्देशक डा. दिरकदेव भट्टले अझै पनि किसानहरुका घरदैलोमा प्राबिधिकहरु सहज रुपमा पुग्न नसकेको तर आगामी दिनमा स्थानीय निकाय मार्फत प्राविधिकहरुले पशुपंक्षी पालक किसानहरुलाई सेवा प्रदान गर्ने बताए । पशुपंक्षी बिमालाई प्रभावकारी बनाउन किसानहरुमा सचेतनाको आवश्यकता भएको उनको भनाई थियो । उनले भने पशुपंक्षी बिमाका लागि सरकारले असी प्रतिशतसम्म प्रिमियम शुल्क बुझाईदिने भए पनि किसानहरुले यो कुरालाई बुझ्न नसकेका कारण यो प्रभावकारी हुन सकेको छैन । हामी सबै किसानलाई कृषि बिमाका लागि आब्हान गर्दछौं उनले भने ।


कृषि ज्ञान केन्द्र ललितपुरका प्रमुख निर्मल गदालले किसानका खास समस्या समाधानका लागि ज्ञान केन्द्रले प्रभावकारी भूमिका निर्वाह गर्दै आएको बताए । कृषि अनुदानको बिषयलाई औंल्याउँदै उनले भने कतिपय अबस्थामा अनुदान आब्हानमा थोरै बजेटले धेरै किसानलाई सहयोग गर्न नसकेकोले किसानहरुको गुनासो आउने गरेको छ ।

पर्याप्त कार्यक्रममा बजेट विनियोजन गर्न नसक्दा भनेजति किसानहरुलाई अनुदान सहयोग उपलब्ध गराउन नसकिएको बताए । उनले आगामी बर्षदेखि किसानको घरदैलोमा पुगेर नै अनुदान सहयोग बितरण गर्ने भन्ने बिषयमा मन्त्रालय र विभागमा छलफल चलिरहेको जानकारी दिए ।
कार्यक्रममा नयाँ कृषि अभियान सहकारीका मिनप्रसाद गैरे, पशुसेवा विभागका प्रबक्ता चन्द्र ढकाल लगायतले किसानका समस्या र चुनौतिका विषयमा विचार ब्यक्त गरेका थिए ।

कार्यक्रममा किसानहरुले सहकारीको माध्यमबाट संगठीत भएर देशको आर्थिक बिकासमा योगदान दिन र निर्बाहमुखी खेती प्रणालीलाई ब्यवसायीकरण गरी आधुनिक प्रणालीमा रुपान्तरण गरेमा मात्र कृषि र किसानको भविश्य सुनिश्चित हुने बताईएको छ । अन्तक्र्रिया कार्यक्रममा स्थानीय किसानहरुले किसानका समस्या र सरकारी अनुदान रकमको पहुँच तथा बजार ब्यवस्थापनमा सरकारले खेल्नु पर्ने भूमिकाको बिषयमा आवाज उठाएका थिए । उनीहरुले सरकारी अनुदान पहुँच र पावरका भरमा वितरण गरिएकोले वास्तविक किसानले पाउन नसकेको प्रति गुनासो समेत गरेका छन ।


चम्पादेवी कृषक समूह कागेश्वरी मनोहरा, काठमाडौ र नव निलबाराही मिश्रित कृषि समूह, मध्यपुरथिमी, भक्तपुरको संयुक्त आयोजनामा तय गरिएको अन्तक्र्रिया तथा बनभोज कार्यक्रममा काठमाडौ र भक्तपुर जिल्लाका करिब एक सय ब्यवासायीक किसानहरुको सहभागिता रहेको थियो । कार्यक्रम चम्पादेवी कृषक समूहका अध्यक्ष तारा भण्डारी तथा सञ्चालन शान्ता कार्कीले गरेकी थिईन । कार्यक्रममा स्थानीय कलाकारहरुले सांगितिक मनोरञ्जन प्रदान गरेका थिए ।


ब्यवसायीक किसानहरु संगठित


भक्तपुरको मध्यपुरथिमी नगरपालिका वडा नं. ७ र ८ मा विभिन्न गाईपालन, बाख्रा तथा पंक्षी पालनमा सम्लग्न र तरकारी खेती ब्यवसायमा क्रियाशिल किसानहरुले समूह गठन गरी सामुहिक अभियान सञ्चालन गर्दै आएका छन् । चम्पादेवी कृषक समूहमा तीस जना भन्दा बढी ब्यवसायीक किसानहरुको संम्लग्नता रहेको छ भने नव निलबाराही मिश्रित कृषि समूहमा करिब चालिस किसानहरुको आवद्धता रहेको समूहको कोषाध्यक्ष प्रदिप श्रेष्ठले जानकारी दिए ।

किसानहरुले समुहगत रुपमा किसानका समस्याका बिषयमा स्थानीय स्तरमा अन्तक्र्रिया कार्यक्रमको आयोजना गरेको यो क्षेत्रमा पहिलो भएको यमन पशुपंक्षी तथा कृषि फार्मका सञ्चालक घमण्डबहादुर श्रेष्ठ बताउँछन । यहाँ किसानहरुले साझा रुपमा एक किसान हित कोषको स्थापना गर्ने समेत जनाएका छन ।

सम्बन्धित समाचार शीर्षकहरु