मुख्य खबर

प्रधान र राणा ओलम्पिक कमिटीको मानार्थ अध्यक्ष

७६पोखरा,५चैत: नेपाल ओलम्पिक कमिटी (एनओसी)को लामो समयदेखिको विवाद अन्त्य भएको छ । काठमाडौं बाहिर पहिलो पटक बसेको एनओसीको तेस्रो पूर्ण बैठकले रुक्मशमशेर राणालाई समेत ओलम्पिक कमिटीमा समावेश गरेपछि ओलम्पिक विवाद लगभग अन्त्य भएको हो ।

पोखरामा दुई दिन भएको एनओसीको बैठकले एनओसीका पूर्वअध्यक्ष राणासहित, धुव्रबहादुर प्रधानलाई मानार्थ अध्यक्षमा मनोनयन गर्ने निर्णय गरेको नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले बताए । ‘अब एनओसीमा कुनै विवाद रहेन । देशमा अब एउटै मात्र ओलम्पिक कमिटी छ ।’ एनओसीका अध्यक्ष तथा प्रतिनिधि सभाका सांसद जीवनराम श्रेष्ठले भने ।

विगत १२ वर्षदेखि नेपालमा दुईवटा एनओसी अस्तित्वमा देखिएको थिए । लामो विवाद अन्त्य भएको छ । यसले नेपाली खेलकुदमा नयाँ उत्साह थप्नेछ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का उपाध्यक्ष तथा एनओसीका उपमहासचिव पीताम्बर तिम्सिनाले भने, ‘यो ऐतिहासिक निर्णय हो । यसले महŒव बोकेको छ’ एनओसीका महासचिव नीलेन्द्रराज श्रेष्ठले खेलकुदमा छलाङ मार्न यो निर्णय ऐतिहासिक भएको उल्लेख गरे ।

यस्तै, बैठकले ११ बुँदे निर्णयसहित एनएओसीलाई अब संघीय संरचनामा अघि बढाउने निर्णय गरेको छ । बैठकका निर्णय जानकारी गराउँदै अध्यक्ष श्रेष्ठले प्रत्येक प्रदेशमा संयोजक तोकिएको बताए । ‘अब खेलकुद विकासमा प्रदेश सरकारको समेत अहं भूमिका रहेको छ । प्रदेश खेलकुद संघ र प्रदेश सरकारसँग समन्वय गरेर अघि बढ्नुपर्ने भएकाले यसलाई मूर्तरूप दिएका हौं ।’ अध्यक्ष श्रेष्ठले बैठकको निर्णयबारे भने ।

प्रदेश संयोजक तोकियो
ओलम्पिकले प्रदेशसँग संयोजन गर्न प्रदेश संयोजक तोकेको छ । प्रदेशमा बन्ने खेलकुद संघलाई परिचालन र व्यवस्थित गर्न संयोजक तोकिएको हो । त्यसका लागि कार्यविधि बनाएर अगाडि बढ्ने बताइएको छ । प्रदेश १ मा पीताम्बर तिम्सिनालाई संयोजक तोकिएको छ । प्रदेश २ मा अशोक रत्न बज्राचार्य संयोजक तोकिएको छ । सदस्यमा रामजीबहादुर श्रेष्ठ र प्रकाश शमशेर राणा छन् । बाग्मती प्रदेशमा सुनिलबहादुर श्रेष्ठ संयोजक छन् । गण्डकी प्रदेशमा तेजबहादर गुरुङ संयोजक छन् भने टासी घले सदस्य रहेका छन् ।

प्रदेश ५ मा तुलसी थापा संयोजक र दीर्घबहादुर केसी सदस्य तोकिएका छन् । कर्णाली प्र्रदेशमा दीपकहर्ष बज्राचार्य संयोजक तोकिएका छन् । रतन टन्डनलाई सुदूरपश्चिम प्रदेशको संयोजकको जिम्मेवारी दिएको नेपाल ओलम्पिक कमिटीले जनाएको छ । त्यसैगरी, अन्य समितिमा समेत जिम्मेवारी बाँडफाँट गरिएको छ । राष्ट्रिय प्रतियोगिता र च्याम्पियनसिपमा पीताम्बर तिम्सिना जिम्मेवारी दिइएको छ । रामजीबहादुर श्रेष्ठ र दीर्घबहादुर केसी सदस्य छन् । अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि नीलेन्द्रराज श्रेष्ठलाई संयोजक तोकिएको छ ।

एनओसीको कार्यक्रमका लागि अशोकरत्न बज्राचार्य संयोजक र दीपकहर्ष बज्राचार्य, रमेश शिवाकोटी र राम अवाले सदस्य रहेका छन् । एनआरएनएसँग समन्वय गर्न तेजबहादुर गुरुङलाई जिम्मेवारी दिइएको छ । राष्ट्रिय संघको संयोजकमा चतुरानन्दा वैद्य संयोजक र होम दोङ सदस्यलाई सदस्यको जिम्मेवारी प्रदान गरिएको छ । यस्तै, बैठकले खेल क्षेत्रमा निरन्तर लागि राष्ट्रलाई चिनाउन सफल खेलाडीको खेल जीवनपछिको भविष्य सुनिश्चित गर्नेबारे कार्यदल गठन गर्ने निर्णय गरेको छ ।

टेन्डीको उपचारका लागि १० लाख सहयोग गर्ने
एनओसीका पूर्वमहासचिव, राखेपका पूर्वउपाध्यक्ष तथा नेपाल बास्केटबल संघका अध्यक्ष लामा टेन्डी शेर्पाको उपचारका लागि एनओसीले १० लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ । जसमा ओलम्पिक कमिटीबाट ५ लाख र एनओसी कार्यसमिति पदाधिकारीको तर्फबाट ५ लाख प्रदान गरिने र थप सहयोगको लागि नेपाल सरकार र राखेपलाई अनुरोध गर्ने निर्णय गरेको छ । यस्तै, बैठकले ओलम्पिक कमिटीलाई सहज रूपमा अघि बढाउन विभिन्न मिसन गठन गरेको छ ।

महिला तथा खेलकुद संयोजकमा ज्योति राणा, संस्कृति संयोजक रामजीबहादुर श्रेष्ठ, बजार व्यवस्थापन संयोजकमा गोपालसुन्दर लाल कक्षपति, सदस्यमा टासी घले र प्रकाश शमशेर राणा छन् । स्पोर्ट्स फर अलमा विष्णुगोपाल श्रेष्ठ र मेडिकलमा डाक्टर सरोजकृष्ण श्रेष्ठ, स्पोर्ट्स मनोविज्ञानमा इन्द्र गुरुङ, शान्ति र स्पोर्ट्समा रमेश महर्जन, स्पोर्ट्स तथा वातावरणमा गोवद्र्धन श्रेष्ठ र सूचना संयोजकमा मोहन नेपाललाई चयन गरेको छ ।

यस्तै, बैठकले १३औं दक्षिण एसियाली खलकुद (साग) सफलतापूर्वक सम्पन्न भएकोमा आयोजक कमिटीसहित सागमा पदक जित्न सफल खेलाडीलाई धन्यवाद ज्ञापन गरेको छ । युवा ब्याडमिन्टर स्टार प्रिन्स दाहालले विश्व ब्याडमिन्टनको जुनियर वरीयतामा सातौं स्थान हासिल गरेकोमा समेत बधाई दिने निर्णय गरेको छ ।

कार्यकारी निर्देशक राख्ने, पूर्वमन्त्री पौडेल र भण्डारी सल्लाहकार
ओलम्पिक अभियानमा विशेष योगदान दिएका पूर्वमन्त्री पुरुषोत्तम पौडेल र शरदसिंह भण्डारीलाई नेपाल ओलम्पिक कमिटीको सल्लाहकारमा मनोनयन गर्ने निर्णय भएको अध्यक्ष श्रेष्ठले बताए । त्यसैगरी, वरिष्ठ अधिवक्ता लोकभक्त राणालाई एनओसीको कानुनी सल्लाहकारमा मनोननय गर्ने निर्णय गरिएको हो । ओलम्पिक विधान च्याप्टर ९ को ३७÷१ अनुसार दैनिक कार्यलाई व्यवस्थित गर्न कार्यकारी निर्देशक राख्ने निर्णय बोर्ड बैठकले गरेको छ । सो पदमा नेपाल ओलम्पिक कमिटीका उपाध्यक्ष चतुरानद्य राज वैद्यलाई नियुक्ति गर्ने निर्णय गरिएको हो ।

१३औं सागको सेभ दिन मिसन उप महासचिव पीताम्बर तिम्सिना डेपुटी सेभ दि मिसन तेजबहादुर गुरुङ र रिम रानाभाटलाई धन्यवाद ज्ञापन गर्ने निर्णय गरिएको छ । बैठकले विशेष प्रस्तावसमेत पास गरेको छ । जसमा प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गाैला प्रत्यारोपण शल्यक्रिया सम्पन्न भएको र उनको शीघ्र स्वास्थ्य लाभको कामना गरिएको छ ।
कोरोना भाइरसविरुद्ध जनचेतनाको आयोजना गर्ने

महामारीका रूपमा विश्वभरि फैलिएको कोरोना भाइरस कोभिड १९ बाट बच्न जनेचेतना अभिवृद्धि गर्न विभिन्न सन्देशमूलक कार्यक्रम सञ्चालन गर्ने निर्णय गरिएको छ । पछिल्लो समय नेपालका थु्रपै खेलकुद प्रतियोगिता कोभिड–१९ का कारण स्थगित भएका छन् ।

त्यसैगरी चिल्र्डेन अफ एसियन गेम्स नेपालमा आयोजना गर्न नेपाल सरकार र गण्डकी प्रदेश सरकारलाई अनुरोध गर्ने निर्णय गरिएको छ । कोभिड–१९ बाट प्रभावित भिजिट नेपाल २०२० र पर्यटन क्षेत्रमा परेको असरलाई केही राहत हुने र नेपालमा भ्रमणको योग्य छ भन्ने सन्देश संसारभरि प्रवाह गर्न सकिने बताइएको छ ।

ओलम्पिक अवार्ड
नेपाल ओलम्पिक कमिटीले ओलम्पिक अभियानमा योगदान पु-याउने पत्रकारलाई ओलम्पिक अवार्ड प्रदान गर्ने निर्णय गरेको छ । जसमा छापा, फोटो, अनलाइन, टेलिभिजनमा कार्य गर्ने पत्रकार र तीन उत्कृष्ट राष्ट्रिय संघलाई ओलम्पिक अवार्ड दिइने निर्णय भएको छ । त्यसैगरी उत्कृष्ट खेलाडी महिला र पुरुषलाई समेत अवार्ड प्रदान गरिनेछ ।

सम्बन्धित समाचार शीर्षकहरु