मुख्य खबर

संक्रमित युवती चढेको विमानका यात्रु खोज्दै प्रहरी

७६काठमाडौं,११चैत:प्रहरीले चैत ४ मा फ्रान्सको पेरिसबाट कतारको दोहा हुँदै काठमाडौं आएका एक सय ५ जना यात्रुको खोजी सुरु गरेको छ। 

सोही विमानबाट काठमाडौं उत्रिएकी १९ वर्षीया एक युवतीमा कोरोना संक्रमण देखिएपछि उक्त विमानमा सवार अन्य यात्रुको खोजी सुरु भएको हो।

कतार एयरवेजको फ्लाइट नम्बर क्युआर ६५२ विमानका सबै यात्रुको विवरण अध्यागमन र स्वास्थ्य डेस्कबाट लिएर प्रहरीले खोजी सुरु गरेको हो।

विमानमा आएका सबै यात्रुको विवरण पाएसँगै प्रहरीले उनीको खोज सुरु गरेको जानकारी प्रहरीका प्रवक्ता डीआइजी शैलेश थापा क्षेत्रीले दिए। 

‘यात्रुको ठेगाना अनुसार सम्बन्धित प्रहरी इकाई मार्फत खोजी गरेर उनीहरुलाई क्वारेन्टाइनमा बस्न र शंकास्पद अवस्था देखिए परीक्षण गराउन निर्देशन दिइएको छ’, उनले भे। 

डीआईजी क्षेत्रीका अनुसार केही यात्रु आफैं पनि सम्पर्कमा आइसकेका छन्। प्रहरीको सम्पर्कमा आएका यात्रुलाई क्वारेन्टाइनमा राख्ने तयारी भइरहेको उनले बताए। 

उनले सम्पर्कमा आएका यात्रुलाई स्थानीय प्रहरी ईकाइमार्फत जिल्ला जनस्वाथ्य कार्यालयमा सम्पर्क गराउन निर्देशन दिइएको उनले बताए। ‘जो-जो यात्रु आउनुभएको थियो, उहाँहरु आफैं प्रहरीको सम्पर्कमा आएमा थप सहज हुन्छ’, उनले भने, ‘प्रहरीले पनि खोजिरहेको छ।’ 

आठराईका युवा कोरोना संक्रमित युवतीसँग नआएको पुष्टि

फिदिम : तेह्रथुमको आठराईका दुई युवा कोरोना संक्रमित युवतीसँग नआएको पुष्टि भएको छ। गत चैत ६ र ७ गते उनीहरु कताारबाट नेपाल आएका थिए।  

३७ र ४० वर्षका ती युवा कतारबाट नेपाल आए पनि कोरोना संक्रमित १९ वर्षीया युवतीसँग नआएको पुष्टि भएको हो। 

दुई युवा काठमाडौंबाट झापा हुँदै चैत १० गते आठराईस्थित घर पुगेका थिए। त्यस्तै हङकङबाट चैत ९ गते ७४ वर्षका वृद्ध आठराई आएका छन्। कतार र हङकङबाट आउने तीनैजनाको स्वास्थ्य अवस्था सामान्य रहेको आठराई गाउँपालिकाका स्वास्थ्य प्रमुख सुशील इङनामले जानकारी दिए।

विदेशबाट आउने तीनैजनालाई नजिकैको स्वास्थ्य केन्द्रको  सम्पर्कमा रहने गरी घरमै सेल्फ क्वारेन्टाइनमा बस्ने व्यवस्था मिलाइएको इलाका प्रशासन कार्यालय, आठराईका प्रमुख रमेश दाहालले जानकारी दिए।  

यसअघि आठराईका दुई युवा कोरोना संक्रमित युवतीसँग आएको भनी हल्ला फैलिएपछि यो क्षेत्रका मानिस त्रसित बनेका थिए। (annapurnapost.com)

सम्बन्धित समाचार शीर्षकहरु