नेपाल प्रज्ञा–प्रतिष्ठानले राष्ट्रिय बाङ्मय गोष्ठी आयोजना गर्दै

Friday May 19, 2017
वि.सं.२०७४ जेठ ५ शुक्रवार ०५:३४

५ जेठ, काठमाडौं- नेपाल प्रज्ञा–प्रतिष्ठानले जेठ ६ गतेदेखि तीन दिनसम्म प्रज्ञा भवनमा राष्ट्रिय बाङ्मय गोष्ठी आयोजना गर्ने भएको छ । प्रतिष्ठानको हीरक महोत्सवका अवसरमा आयोजना गरिने बाङ्मय गोष्ठीमा नेपाली भाषा, मातृभाषा, कविता, आख्यान, समालोचना, अनुवाद, दर्शन, बालसाहित्यको विषयमा बहस हुनेछ ।
यसका साथै भारतीय नेपाली साहित्यको वर्तमान अवस्थादेखि सन् १९५० को नेपाल–भारत शान्ति तथा मैत्री सन्धिका सम्बन्धमा विज्ञहरूबीच समूह छलफल चलाइने प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले जानकारी दिए । प्रधानमन्त्री पुष्पकमल दाहालद्वारा उद्घाटन गरिने वाङ्मय गोष्ठीमा बाङ्मयका विभिन्न विधामा बहसका साथै काव्य उत्सव र सांस्कृतिक कार्यक्रम समेत हुने जनाइएको छ । गोष्ठीमा देशका सात वटै प्रदेशका प्रतिनिधि स्रष्टाहरूका साथै भारतका सिक्किम, डुवर्स, दार्जिलिङ, कालेबुङ, असम, सिलिगुडी र तेजपुरबाट भारतीय नेपालीभाषी साहित्यकारहरू सहभागी हुने प्रतिष्ठानले जनाएको छ ।