नेपाल चलचित्र पत्रकार संघद्वारा ‘चलचित्र पत्रकारिता सम्मान र पुरस्कार’ प्रदान

Tuesday May 23, 2017
वि.सं.२०७४ जेठ ९ मंगलवार ००:२४

९ जेठ, काठमाण्डौँ- नेपाल चलचित्र पत्रकार संघले आफ्नो १८औँ वार्षिकोत्सव मनाउँदै ‘चलचित्र पत्रकारिता सम्मान र पुरस्कार’ प्रदान गरेको छ । यो वर्ष चलचित्र पत्रकारिता सम्मानबाट नवराज लम्साल सम्मानित भए । त्यस्तै, चलचित्र पत्रकारिता पुरस्कारबाट पारस पौडेल र विजय सुवेदी ‘आवाज’लाई पुरस्कृत गरियो । पौडेल र सुवेदीलाई सम्मानपत्र, ट्रफी र २१ हजार रुपैयाँ प्रदान गरियो ।
काठमाडाैँमा आइतबार आयोजित कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष डा. महेन्द्र विष्ट र कलाकार हरिवंश आचार्यले सम्मान तथा ट्रफी हस्तान्तरण गरे । यही वर्षबाट सुरु गरिएको ‘चलचित्र पत्रकारिता प्रोत्साहन पुरस्कार’ स्वेच्छा राउतले पाइन् । उनलाई सम्मानपत्र, ट्रफी र ल्यापटप प्रदान गरियो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष महेन्द्र विष्टले चलचित्र पत्रकारहरूले नेपाली चलचित्र क्षेत्रको विकासमा ठूलो योगदान पु¥याएको बताए भने कलाकार हरिवंश आचार्यले चलचित्र पत्रकारिता थप व्यावसायिक हुँदै गएकोमा खुसी व्यक्त गरे ।
कार्यक्रममा कलाकार दीपक क्षेत्रीको उपचारका लागि चलचित्र पत्रकार संघको पहलमा संकलन भएको सात लाख ३ हजार ३ सय ३५ रुपैयाँ पनि हस्तान्तरण गरिएको थियो । संघका अध्यक्ष सन्दीप सापकोटाको सक्रियतामा प्रारम्भ भएको रकम संकलन अभियान विदेशसम्म पुगेको थियो ।
अध्यक्ष सापकोटाले संघले चलचित्र पत्रकारको हकहितका लागि सधैँ काम गरिरहने प्रतिबद्धता व्यक्त गरे । पुरस्कार प्राप्त गरेपछि पत्रकार विजय सुवेदीले चलचित्र पत्रकारितामा थप ऊर्जा मिलेको सुनाए । ‘जुन तरिकाले विभिन्न आरोह–अवरोह आउँदा पनि काम गरेँ, त्यसको प्रतिफल मिलेको आभाष भएको छ,’ उनले भने, ‘आगामी दिनमा अझै सशक्त चलचित्र पत्रकारिता गर्नेछु ।’ पुरस्कृत पौडेल र राउतले पनि संघप्रति आभार जनाए ।
कार्यक्रममा संघका संस्थापक अध्यक्ष भरत शाक्य र पूर्वअध्यक्ष विदुर गिरीले चलचित्र पत्रकारिता अझ परिस्कृत बन्दै गएकोमा सन्तुष्टि व्यक्त गरे । संघले हरेक वर्षको जेठ ७ गते स्थापना दिवस मनाउँदै आएको छ ।