पश्चिमाञ्चलले मध्यामाञ्चललाई ९५ रनको फराकिलो अन्तरले हरायो

Wednesday May 31, 2017
वि.सं.२०७४ जेठ १७ बुधवार १५:००

१७ जेठ, काठमाडौं- प्रधानमन्त्री कप एकदिवशीय क्रिकेट प्रतियोगिता अन्तर्गत बुधबारको खेलमा पश्चिमाञ्चलले मध्यामाञ्चललाई ९५ रनको फराकिलो अन्तरले हराएको छ ।
कीर्तिपुर मैदानमा टस जितेर पहिले ब्याटिङ रोजेको पश्चिमाञ्चलले शौरभ खनालको ७८ रनको अविजित पारीको सहयोगमा निर्धारित ओभरमा ८ विकेट गुमाएर २०२ रनको योगफल बनाएको थियो ।
सातौं नम्बरमा ब्याटिङ गर्न आएका शौरभले ५८ बल खेलेर ६ छक्का र ३ चौका प्रहार गरेका थिए ।
यसअघि ओपनर नूरध्वज शेन ३ रनको व्यक्तिगत स्कोरमै आउट भएपछि आएका बिधान श्रेष्ठले अर्का ओपनर अनिल गुरुङसँग मिलेर ४३ रनको साझेदारी गरे ।
टिमको स्कोर ५२ रन हुँदा दोस्रो विकेटको रुपमा अनिललाई व्यक्तिगत २८ रनमा गुमाएको पश्चिमाञ्चलले लगत्तै बिधानलाई पनि १८ रनको व्यक्तिगत स्कोरमा गुमायो ।
विकेट किपर ब्याट्सम्यान प्रकाश केसीले ५ रनमात्र जोड्न सके । कप्तान अन्तिम थापाले ३४ रनको योगदान दिए । पश्चिमाञ्चलका लागि कृष्ण कार्कीले १५ रन बनाए भने उसले १६ अतिरिक्त रन पाएको थियो ।
बलिङतर्फ मध्यामाञ्चलका किशोर महतोले ३, नन्दन यादवले दुई तथा कप्तान शरद भेषावकर र शशी केशरीले एक एक विकेट लिए ।
२०३ रनको लक्ष्य लिएर जवाफी ब्याटिङमा उत्रिएको मध्यामाञ्चल ४०.३ ओभरमा १०७ रनमै समेटियो । मध्यामाञ्चलका लागि इसान पाण्डेले बनाएको २४ रन मध्यामाञ्चलका ब्याट्सम्यानले बनाएको सर्बाधिक व्यक्तिगत स्कोर हो ।
मध्यामाञ्चलका लागि किशोर महतोले अविजित २०, रामसाद आलमले १५ र सुमित महर्जनले १० रन बनाए । कप्तान भेषावकर ७ रनमा आउट भए ।
बलिङतर्फ पश्चिमाञ्चलका लाल अधिकारी र रोहित कुमार पौडेलले समान तीन-तीन विकेट लिँदा बिपिन खत्रीले २ र कृष्ण कार्कीले १ विकेट लिए ।
खेलको म्यान अफ द म्याच पश्चिमाञ्चलका शौरभ खनाल चुनिए ।