निर्मला हत्याकाण्ड : डीआईजी धिरु बस्न्यातको संयोजकत्वमा छानबिन समिति गठन

Sunday Sep 16, 2018
वि.सं.२०७५ भदौ ३१ आइतवार १३:३७
काठमाडौं, भदौ ३१ । कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछिको हत्या प्रकरणमा छानबिनका लागि सरकारले पुनः छानबिन समिति गठन गरेको छ ।
हालै मात्र एआईजीका लागि सिफारिश भएका डीआईजी धिरु बस्न्यातको संयोजकत्वमा छानबिन समिति गठन गरिएको हो । प्रहरी मुख्यालय स्रोतका अनुसार यसअघिको छानबिन समितिका प्रहरी अधिकारी नै निलम्बनमा परेपछि घटनालाई गम्भीरतापूर्वक अनुसन्धान गर्न अर्को समिति गठन गरिएको हो ।
यो समितिलाई अघिल्लो छानबिन समितिका प्रहरी अधिकारीमाथि पनि छानबिन गरी प्रतिवेदन बुझाउने जिम्मेवारी दिइएको बुझिएको छ । शनिवार मात्रै गृह मन्त्रालयले जिम्मेवार रुपमा अनुसन्धान नगरेको भन्दै पाँच प्रहरीलाई निलम्बन गरेको थियो ।
घटनाको छानबिन गरिरहेको सहसचिव हरिप्रसाद मैनाली नेतृत्वको उच्चस्तरीय छानबिन समितिले बुझाएको प्रारम्भिक प्रतिवेदनअनुसार ती प्रहरीलाई निलम्बन गरिएको हो । निलम्बित हुनेमा केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का डीएसपी अंगुर जिसी, अर्का डीएसपी ज्ञानबहादुर सेटी, प्रहरी निरीक्षक जगदीश भट्ट, एकेन्द्र खड्का र प्रहरी सहायक निरीक्षक रामसिंह धामी रहेका छन् । उक्त प्रकरणमा कञ्चनपुरका तत्कालीन एसपी डिल्लीराज विष्ट यसअघि निलम्बनमा परिसकेका छन् ।