फेरिनुपर्छ सामाजिक संरचना

Thursday Sep 20, 2018
वि.सं.२०७५ असोज ४ बिहीवार ११:४१
विभूति भट्टराई
‘मान्छे’ जन्मिनु प्राकृतिक प्रक्रिया हो, तर ‘महिला’ जन्मिनु प्राकृतिक प्रक्रिया होइन। महिला केवल यौनिक पहिचान होइन। यो मानवनिर्मित सामाजिक मान्यता पनि हो। त्यसैले महिलाको निर्माण सधैं बहसमा रहने गर्छ।
अन्तर्राष्ट्रिय स्तरमा हुने बहसको हिसाबले यो विषय नयाँ होइन। तर नेपाली समाजमा ‘महिला’ बन्ने प्रक्रिया भने केही फरक छ।
प्रश्न उठाउन सकिन्छ– जन्माउने ‘मान्छे’ कि जन्मिने ‘मान्छे’ रु प्रश्न अलि हास्यास्सपद भए पनि जन्मिने उत्तम, जन्माउने खत्तमको व्यवहार आजसम्मको हाम्रो सामाजिक संरचनाले गरिरहेको छ। अर्थात् पुरुष लिंग उत्कृष्ट, महिला योनि निकृष्ट। यो मान्यताको प्रभाव राजनीति, साहित्य, सार्वजनिक बौद्धिक बहसलगायत सबै क्षेत्रमा देखिन्छ। सामान्यतयाः महिलामा उत्कृष्ट चेतना हुन्छ भन्ने अनुमान नै गरिँदैन। त्यसले समाजलाई महिलाको क्षमतामाथि विश्वास नै गर्न दिँदैन।
यही सोच नै समाजको स्थापित मान्यता बनेको छ। सामाजिक मान्यता यसै बन्दैन। यसले लामोे यात्रा पार गरेको हुन्छ। यो मान्यताले सयौं वर्षदेखि शासन गरिरहेको छ। त्यो मान्यताविरुद्ध उभिनु भनेको पहरामा कुहिनो ठोक्नुजत्तिकै गाह्रो काम हो। त्यो मान्यता भत्काउनु भनेको सामाजिक सभ्यतालाई नै चुनौती दिनु हो। त्यो कठिन पहरो ‘सामाजिक संरचना’ हो।
सामाजिक संरचनाका विभिन्न रूप हुन्छन्। राजनीति, कानुन, धर्म, संस्कृति, नैतिकता, विज्ञान प्रविधि, दर्शन इत्यादि। सामाजिक संरचना सभ्यताको सबैभन्दा माथिल्लो तह हो। यो वैयक्तिक र सैद्धान्तिक चेतनाबाट निर्मित हुन्छ। व्यक्ति जुन सैद्धान्तिक चेतनाबाट निर्देशित हुन्छ, उसको वैयक्तिक र सामाजिक चेतना पनि सोहीअनुरूप नै उत्पादन हुन्छन्। यहाँनिर वैयक्तिक चेतनाले व्यक्ति र समाज दुवैलाई इंगित गर्छ। अर्थात् कुनै व्यक्तिको इच्छा, भावना, मनोविज्ञान, सोच व्यक्तिगत हो भने त्यसको सामूहिक रूप सामाजिक चेतना हो।
हरेक व्यक्तिको सोच, विचार, नैतिकता, मनोविज्ञान, इच्छा, आकांक्षाले सामाजिक चेतनाको रूप लिन्छ। त्यो सैद्धान्तिक चेतनाको प्रतिबिम्बन पनि हो। सामाजिक चेतनाअनुरूप नै राजनीति, कानुन, धर्म, संस्कृति निर्माण हुँदै जान्छन्। ती सबैको योगको रूपमा सामाजिक संरचना खडा हुन्छ। सामाजिक संरचनाले चेतनाका तीनै तह ९चेतन, अवचेतन र अचेतन० लाई प्रभाव पारेको हुन्छ। त्यसैले व्यक्तिगत चेतना र व्यवहार सामाजिक संरचनाअनुरूप बनेको हुन्छ।
सामाजिक संरचनाको सबैभन्दा महत्वपूर्ण पक्ष राजनीति हो, जसको प्रत्यक्ष सम्बन्ध राज्यसत्तासँग जोडिएको हुन्छ। त्यसैसँग जोडिएको हुन्छ राजनीतिक चेतना। शासन प्रणाली, राज्य सत्ता सञ्चालन, व्यवस्थापन सबै यसैअन्तर्गत पर्छन्। राजनीति सञ्चालन गर्ने वर्गले आफूअनुकूल समाज सञ्चालन गरिरहेको हुन्छ। अहिलेको पुँजीवादी समाजको राजनीतिको केन्द्रमा अभिजात र दलाल पुँजीपति वर्ग छन्। तिनैको स्वार्थअनुसार समाज सञ्चालित छ। सामाजिक मान्यता निर्मित छन्। उनीहरूका निम्ति समाज एक बजार मात्र हो। यसरी निर्मित बजार पुँजीवादी संरचनाले महिलालाई ‘माल’ या ‘भोग्य वस्तु’ का रूपमा लिन्छ। यस्तो व्यवस्थाले ‘योनि’ लाई सधैं कमजोर र दोयम एवं ‘लिंग’ लाई शक्तिशाली र प्राथमिक रूपमा व्याख्या गरिदिन्छ। फलस्वरूप सामाजिक र व्यक्तिगत चेतना ‘कमजोर योनि र शक्तिशाली लिंग’ कै अवधारणाबाट ग्रसित बन्न पुग्छ। त्यसले ‘शक्ति’ र ‘चेतना’ को आधार ‘क्षमता’ लाई नभई निरपेक्ष रूपमा ‘लिंग’ लाई सम्झिन्छ।
सामाजिक संरचनाको अर्को महत्वपूर्ण रूप कानुन हो। कानुन र राजनीति एक सिक्काका दुई पाटा हुन्। राजनीतिको बागडोर जुन वर्गको हातमा हुन्छ, निश्चय नै कानुन पनि त्यही वर्गमैत्री सिद्धान्तमा आधारित हुन्छ। त्यसैले राजनीतिक सिद्धान्त एउटा र कानुनी व्यवस्था त्योभन्दा राम्रो या फरक अपेक्षा गर्नु नै त्रुटिपूर्ण हुन्छ।
हाम्रो कानुनको परिप्रेक्षमा पनि यही नियम लागू हुन्छ। जसरी राजनीतिमा महिला र उत्पीडित समुदायको अत्यन्तै न्यून पहुँच छ, ठीक त्यसैगरी निर्माण प्रक्रियामा रहेका र मौजुदा अधिकांश कानुनहरू अपवादबाहेक न महिलाप्रति समान दृष्टिकोण राख्छन् न विभेदरहित नै छन्।
राजनीति र कानुनभन्दा धेरै अगाडिदेखि व्यक्तिगत र सामाजिक चेतनामार्फत सामाजिक संरचना निर्माणमा सबैभन्दा बढी हस्तक्षेप धर्मले गरेको छ। सबैभन्दा लामो समयदेखि मानव समुदायलाई धर्मले नै नियन्त्रित र निर्देशित गरिरहेको छ। धर्म र संस्कृतिनिर्मित चेतना र सामाजिक संरचनालाई सहज रूपले छोटो समयमा परिवर्तन गर्न सकिँदैन।
समाजमा स्थापित जति पनि मूल्य, मान्यता, रीतिरिवाज, परम्परा, संस्कार, नीति, नियम, ऐन, कानुनहरू छन्, आधारभूत रूपमा ती सबै त्यही धर्मका ‘सन्तान’ हुन्। ती धर्मका जन्मदाता र हर्ताकर्ता भने पुरुष हुन्।
हाम्रो समाजमा सयौं वर्षदेखि महिलाको ‘कमजोर बिम्ब’ को निर्माता यही धर्म र धर्मनिर्मित संस्कृति नै हो। रामायण, महाभारत, पुराणजस्ता विभिन्न धर्मग्रन्थअनुसार सामाजिक मान्यता निर्माण गरियो। ती धर्मग्रन्थले महिलालाई ‘अपूर्ण मान्छे’, ‘पतिको पाउको पानी खाने दासी’, ‘अवला’, ‘बुद्धिहीन असक्त’, ‘पुरुषद्वारा परिचालन गराइनुपर्ने निरिह प्राणी’ को रूपमा चित्रण गरेका छन् भने आजसम्मको समाजले पनि त्यही रूपमै व्यवहार गरेको छ। धर्मले पुरुषको संरक्षणबिनाको महिलाको कल्पनासम्म गरेको छैन। मनुले भनेका छन्, ‘स्त्रीहरूको विशेष रूपमा रक्षा गर्नुपर्छ, जसबाट थोरै पनि कुसंगतको मौका नआओस्। किनकि अरक्षित स्त्रीहरूले दुवै कुललाई शोकसन्तप्त गरिदिन्छन्।’ संरक्षण अर्थात् ‘जोगाउनु’, ‘बचाउनु’। संरक्षण त्यस्तो व्यक्तिलाई गरिन्छ, जो असक्त वा कमजोर छ, आफ्नो बुता र विवेकले बाँच्न या जीवनयापन गर्न सक्दैन। धर्मले महिलालाई सधैं यही रूपमा चित्रण गर्यो। अध्ययन गरे भने धर्मको कमजोरी पत्ता लगाउलान् भन्ने भयले अध्ययनमा समेत रोक लगाइयो र भनियो, ‘स्त्रीले वेद, गीता पढे भने बहुलाउँछन्।’ धर्मले कहिल्यै महिलालाई ‘मान्छे’ ठानेन र ‘मान्छे’ बन्न पनि दिएन।
समाजमा स्थापित जति पनि मूल्य, मान्यता, रीतिरिवाज, परम्परा, संस्कार, नीति, नियम, ऐन, कानुन छन्, आधारभूत रूपमा ती सबै त्यही धर्मका ‘सन्तान’ हुन्। ती धर्मका जन्मदाता र हर्ताकर्ता भने पुरुष हुन्। त्यसैले समाजमा महिलासँग सम्बन्धित धेरैजसो घटनाको पिँधमा धर्म लुकेको हुन्छ।
सामाजिक संरचनाको अर्को पाटो दर्शन हो। यो समाज व्यवहारको अध्ययन हो। हरेक मान्छे कुनै न कुनै दर्शनमा बाँचिरहेको हुन्छ, तर त्यसको व्याख्या भने हरेक समाजको माथिल्लो तहको ज्ञान र चेतनायुक्त व्यक्तिले मात्र गर्न सक्छ। हाम्रो समाजमा महिलालाई अध्ययनबाट वञ्चित गरिएकै कारण दर्शनको व्याख्या गर्ने तहसम्म महिला पुग्न सकेनन्। फलस्वरूप समाजमा स्थापित दर्शनहरूले महिलालाई ‘मान्छे’ नै सोचेनन्। उदाहरणका लागि महान् दार्शनिक भनिएका एरिस्टोटलले महिलालाई ‘अपूर्ण मानव’ भनेर व्याख्या गरिदिए। अर्का दार्शनिक प्लेटोले ‘स्त्री एक कमजोर प्रणी हो’ भनिदिए। पूर्वीय दार्शनिकहरूले त देवीहरूबाहेक सबै महिलालाई केवल पतिको दासीका रूपमा मात्र व्याख्या गरेका छन्। शुक्रनीतिका अनुसार सफा भएर छाया झैं पछ्याउँदै, हितका काममा साथी झैं हँुदै, आदेश दिएका काममा दासी झैं हुँदै पत्नीले पतिलाई सधैं सेवा गर्नुपर्छ।’
समाजले महान् दार्शनिकका भनाइ अनुसरण गर्दै आयो। यसले हानि महिलालाई मात्र गरेन, समग्र सभ्यता नै पछाडि धकेलियो। उन्नाइसौं शताब्दीमा विकास भएको मार्क्सवादले मात्र महिलालाई पुरुष समान परिभाषित गर्यो। मार्क्सवादले महिलाहरू किन शोषित छन् र कसरी तिनको मुक्ति हुनसक्छ भन्ने उपाय खोज्यो। महिलाहरू यहाँसम्म आइपुग्नुमा मार्क्सवादी दर्शनको सबैभन्दा बढी योगदान छ।
पछिल्लो समय प्रविधि पनि सामाजिक संरचनाको अभिन्न अंग बन्न पुगेको छ। प्रविधिले समाजका विभिन्न व्यक्तिगत र सामाजिक चेतना फैलाउने काम गर्छ चाहे त्यो सकारात्मक चेतना होस् या नकारात्मक। यद्यपि प्रविधिलाई सञ्चालन गर्ने पनि समाजसापेक्षित चेतनाले नै हो।
प्रविधिले हाम्रो सामाजिक संरचना निर्माणमा भूमिका निर्वाह गर्न थालेको त्यति लामो समय भने भएको छैन। नेपालमा त केही दशक मात्र भएको छ। तर यति छोटो समयमा फरक खालको सामाजिक संरचना निर्माणमा यसले महत्वपूर्ण योगदान पुर्याएको छ। सबैभन्दा महत्वपूर्ण त प्रविधिले समाजका मूल्यमान्यताको पुनर्निर्माण गर्नुपर्ने बहसलाई सघाइरहेको छ।
केही वर्षअगाडिसम्म सामाजिक संरचना निर्माण गर्ने सबै तत्वहरू ९राजनीति, कानुन, धर्म, दर्शन० मा महिलालाई पूर्णतया निषेध गरिएको थियो। शान्ति प्रक्रियापश्चात् राज्यले राजनीति र प्रशासनमा समावेशी सिद्धान्त लागू गर्यो। यसले राज्यको निर्णायक तहमा महिलाको उपस्थितिलाई सुनिश्चित गर्यो। जसले गर्दा महिला आफ्नो राजनीतिक एवं कानुनी अधिकारका लागि आवाज उठाउन, आन्दोलन गर्न र हतियारसमेत उठाउन सक्ने भए। यद्यपि त्यसले कति गुणात्मक परिवर्तन गरेको छ वा गर्नेछ, त्यो बहसको विषय बन्न सक्छ।
आधारभूत रूपमा भने नेपाली समाजले जैविक वा प्राकृतिक लैंगिक पहिचानलाई बेवास्ता गर्छ र सामाजिक संरचनाद्वारा निर्मित लिंगलाई मात्र स्वीकार गर्छ। सामाजिक संरचनाले हाम्रो राजनीति, कानुन, धर्म, संस्कृति सबैले केवल पुरुषलाई मात्र चिन्छ। पुरुषले पुरुषद्वारा पुरुषका लागि निर्मित सामाजिक संरचनामा महिला कहींकतै अटाउँदैनन्। यसबाट निर्मित चेतनाले पुरुषलाई त स्वाभाविक रूपमा कब्जा गरेकै छ, त्योभन्दा खतरनाक हिसाबले महिला स्वयंलाई कब्जा गरेको छ। अर्थात् महिलाविरुद्धको सामाजिक संरचनाले महिलालाई नै हतियार बनाएर महिलामाथि नै जाइलागेको छ। जस्तै– पतिको लामो आयुका लागि व्रत बस्ने, पतिको इच्छाविपरीत करियर अगाडि नबढाउने, छोरी भू्रण हत्या गर्ने आदि।
महिला हिंसा, बहुविवाह, बालविवाह, दाइजो प्रथा, महिलामाथि हुने शोषण, दिनहुँ ठूलो संख्यामा बढ्दै गइरहेका बलात्कारका घटना पनि यही सामाजिक संरचनाका परिणाम हुन्। यी हाम्रो सामाजिक संरचनाका यस्ता नतिजा हुन्, जसको कानुनी उपचार र क्षतिपूर्ति कहिल्यै समाधान बन्न सक्दैनन्। त्यो त प्राथमिक उपचारजस्तो मात्र बन्न सक्छ। पूर्णतया निको हुनका लागि त सामाजिक संरचनाको जरा नै हल्लाउनुपर्छ।