मुख्य खबर

एसइई परीक्षा नहुने मन्त्रिपरिषद निर्णय,अब स्कुलबाटै विद्यार्थीको आन्तरिक मूल्यांकन हुने

  • आर्थिक प्लस संवाददाता

    २०७७ जेष्ठ २९ गते, बिहीबार १८:३८ मा प्रकाशित

काठमाडौं –यस वर्षको एसइई परीक्षा नहुने भएको छ ।  बुधबार बसेको मन्त्रिपरिषद्को  बैठकले यस बर्षको एसइई परीक्षा नलिने निर्णय गरेको हो ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले पेस गरेको प्रस्ताव पारित गर्दै मन्त्रिपरिषदले सो निर्णय गरेको हो । मन्त्रालयले वर्तमान कानुन संशोधन गरी कक्षा १२ मा मात्रै राष्ट्रिय स्तरको एसइई परीक्षा लिने विकल्पसहित प्रस्ताव लगेको थियो।

शिक्षा मन्त्री गिरिराजमणि पोखरेलले लगेको ठाडो प्रस्ताव माथि बुधबार अबेर सकिएको मन्त्रीपरिषद् बैठकले निर्णय गरेसँगै यस बर्ष एसईई परीक्षा नहुने पक्का भएको हो ।अब सम्बन्धित स्कुलहरूले नै आफ्नो आन्तरिक मूल्यांकनका आधारमा विद्यार्थीहरूको ग्रेड निर्धारण गर्ने निर्णय भएको छ । आगामी बर्ष देखि के गर्ने भन्ने विषयलाई संघीय शिक्षा ऐनबाटै सम्बोधन गर्ने गरी मन्त्रालयले कार्य गरिरहेको मन्त्री गिरिराजमणि पोखरेलले बताए ।

गत चैत ६ गते हुने कक्षा १० को एसइई परीक्षा कोरोना जोखिमका कारण स्थगित भएको थियो। त्यसयता उक्त परीक्षा हुने कि नहुने अन्यौल रहँदै आएको थियो ।

कक्षा १० को एसइई परीक्षाका लागि ४ लाख ८२ हजार २ सय १९ विद्यार्थीले आवेदन दिएका थिए भने १ हजार ९ सय ९५ परीक्षा केन्द्र निर्धारण गरिएको थियो।

http://noc.org.np/