मुख्य खबर

नेपाल आदिवासी जनजाति महासंघले खोकना जनजातिमाथि सरकारको ज्यादतीविरुद्ध ध्यानाकर्षण

  • आर्थिक प्लस संवाददाता

    २०७७ असार २० गते, शनिबार २२:२८ मा प्रकाशित

काठमाडौं –  ऐतिहासिक प्राचीन खोनारबुङारकुदेश क्षेत्रका आदिवासी नेवाः र स्थानीय जनताको बाँच्न पाउने अधिकारलाई समेत हनन् गर्दै सत्ता र शक्तिको उन्मादमा आदिवासी नेवाःको आदिभूमि अतिक्रमणको विरुद्ध शान्तिपूर्ण आन्दोलनमा रहेका र आफ्नो जमिनमा संयुक्त खेत रोपाईं गर्न खुदोल फाँटमा पुगेका किसानहरूमाथि सुरक्षाकर्मीको अनावश्यक बल प्रयोग र धरपकडप्रति नेपालका आदिवासी जनजातिहरूको सवाल र आन्दोलनमा केन्द्रित संगठनहरूको गम्भीर ध्यानाकर्षण भएको छ ।

राज्य सरकार र खटिएका सुरक्षाकमीहरूको यसखाले मानवअधिकार विरुद्धको कदम र कार्यप्रति हामी घोर भत्र्सना गर्दछौं । शान्तिपूर्ण आन्दोलनमा अनावश्यक रुपमा हवाइ फायरसँगै अश्रु ग्याँस प्रहार र लाठी चार्जबाट अभियन्ता विद्या श्रेष्ठ, दुर्गाराम महर्जनलगायत दर्जनौँ घाइतेहरूको शिघ्र स्वास्थ्य लाभको कामना गर्दछौं ।

मानवअधिकारसम्बन्धी अन्तर्राष्ट्रिय कानून तथा मौजदा राष्ट्रिय कानूनको बर्खिलापमा सरकारले स्थानीय जनतासँगको स्वतन्त्र अग्रिम जानकारी सहितको मञ्जुरी बिना प्राचीन ऐतिहासिक क्षेत्र खोनारबुङारकुदेश सम्पदा क्षेत्रलाई विनाश पुग्ने तथा जनताको नीजि सम्पत्तिलाई जर्बजस्त रुपमा अधिकरण गर्ने र उठीबास लगाउने फास्ट ट्रयाकको नाममा भइरहेको विकासको हामी घोर विरोध गर्दछौं ।

सरकारले जनताको मुद्दालाई गम्भीरतापूर्वक प्राथमिकता दिनुपर्नेमा उल्टै कोभिड–१९को महासंकटमा समेत यसखाले घृणित कार्य कदापि न्यायोचित हुन सक्दैन । राज्यद्वारा आदिवासीमाथि भइरहेको विभेदको यो निरन्तरता हो । सरकार र सम्बन्धित संयन्त्रहरूले विकल्प निकाल्नुको अलवा शक्तिको दम्भमा जनताको सरोकारलाई निस्तेज पार्न निरन्त उद्दत भएकोप्रति समेत हामी घोर निन्दा व्यक्त गर्दछौं ।

ऐतिहासिक सम्पदाले भरिपूर्ण नगरी खोनारबुङारकुदेश क्षेत्रमा राज्य सरकारबाट भइरहेको ज्यादती तथा मानवअधिकार विरुद्धको कदमप्रति सम्पूर्ण मानवअधिकारवादी संगठनहरू, कुटनीतिक नियोगहरू, विकास साझेदारी संस्थाहरूको गम्भीर रुपले ध्यानाकर्षण गराउँदछौं ।

तसर्थ, सरकारको तर्फबाट भइरहेको यसखाले अमानवीय, निन्दनीय, बाँच्न पाउने अधिकार विरोधी कमदलाई तुरुन्त सच्याउन त्यस क्षेत्रका जनताको सरोकारलाई अविलम्ब सम्बोधन गर्न गराउन हामी जोड्दार आग्रह गर्दछौं ।

विभेदकारी राज्यसरकार र व्यवस्थाको सबैखाले निर्णय र व्यवहारको आ–आफ्नो ठाउँबाट बिरोध जनाउन र प्रतिरोध गर्न गराउन नेपालको आदिवासी जनजाति आन्दोलनसँग जोडिएका सम्पूर्ण आदिवासी जनजातीय संगठनहरू, सम्पूर्ण आदिवासी जनजाति नागरिकलगायत न्याय, समानता, समता, मानवअधिकारको पक्षधर र सबैखाले विभेदको अन्त्य चाहने आम नेपाली जनतामा हार्दिक अपील गर्दछौं ।

http://noc.org.np/