मुख्य खबर

अधिकांश स्थानमा लगातार वर्षा

  • आर्थिक प्लस संवाददाता

    २०७७ श्रावण ५ गते, सोमबार २२:१० मा प्रकाशित

काठमाडौं – उपत्यकाका धेरै स्थानमा यतिबेला वर्षा भइरहेको छ । वर्षासँगै काठमाडौंमा बग्ने खोलाहरुको जलस्तर बढ्दो क्रममा रहेको जल तथा मौसम विज्ञान विभाग पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार पछिल्लो ३ घण्टामा उपत्यकाको धेरै स्थानमा मध्यम वर्षा मापन गरिएको हो । अहिले विष्णुमती, मनोहारा, हुनमन्ते, नख्खुलगायतका खोलामा बहाव सतर्कता नजिक छ । नदी र नालाको पानी किनारको सडक सम्म आउन सक्ने महाशाखाले जनाएको छ । अर्को ३ घण्टा सतर्क रहन महाशाखाको अनुरोध छ ।

यसैगरी बारा, पर्सा र रौतहटका धेरै स्थानमा भारी वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । ती क्षेत्रमा थप वर्षाको सम्भावना रहेकाले लालबकैया र अन्य साना नदीमा आकस्मिक बाढी आउन सक्ने भन्दै विभागले एसएमएसमार्फत पनि सन्देश पठाएर अलर्ट गराएको छ । विभागले त्यस क्षेत्रका नदी किनार र डुवान भईरहने होचा स्थानमा दिउँसो सम्म सतर्क अपनाउँन आग्रह गरेको छ ।

पश्चिम राप्ती, बाँकेको ढेकरी र आसपास भारी वर्षा भएको तथा थप वर्षा हुन सक्ने भएकाले डुडवा खोला, राप्ती नदी आसपासका क्षेत्रमा पनि सतर्क रहन आह्वान गरिएको छ । यस्तै परासी, बर्दघाट, डण्डा बजार र नवलपरासीको धेरै स्थानमा पनि भारी वर्षा मापन भएको विभागले जनाएको छ । त्यस क्षेत्रमा थप वर्षा हुन सक्ने भएकाले आरूण खोला, गिरूवारी खोला र नवलपरासीको साना नदी तटीय क्षेत्रमा सावधानी अपनाउन आग्रह गरिएको छ ।

डडेल्धुरा जिल्ला रंघुन (पन्टुरागाड नदीजलाधारमा अति भारी वर्षा मापन भएपछि विभागले एसएमएस पठाएर अलर्ट गराएको छ । त्यस क्षेत्रमा थप बर्षा हुने भएकाले रंघुनको महाकाली दोभान सम्मको क्षेत्रमा खतरा आसपासको बाढीको सम्भावना भएकाले तटीय क्षेत्रमा उच्च सतर्कताका लागि आह्वान गरिएको विभागले जनाएको छ । विभागले सोमबार बिहान ६ बजे जारी गरेको तीन दिनको मौसम पूर्वानुमान बुलेटिन अनुसार मुलुकभर बुधबारसम्म वर्षा भइरहने पूर्वानुमान गरिएको छ ।

आज दिउँसो प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ ।

http://noc.org.np/