मुख्य खबर

नागढुंगा–सिस्नेखोला सुरुङमार्ग निर्माण कार्य अघि बढ्न थाले

  • आर्थिक प्लस संवाददाता

    २०७७ भाद्र २५ गते, बिहीबार २०:१६ मा प्रकाशित

काठमाडौं । नागढुंगा–सिस्नेखोला सुरुङमार्ग निर्माण कार्य अघि बढ्न थालेको छ । ‘क्लोज क्याम्प’ भित्र बसेर निर्माण काम भइहेको छ । जापानी निर्माण संस्था हाजमा आङदो कर्पोरेसनले अहिले उपलब्ध भएको जनशक्तिमार्फत काम गरिरहेको छ ।

निर्माणस्थलमा अहिले झण्डै २ सय कामदार कार्यरत छन् । काम अघि बढाउन जनशक्तिको अभाव नरहेको सडक विभागको भनाई छ । बन्दाबन्दी पहिले नै कम्पनीले आवश्यक जनशक्ति र उपकरणको व्यवस्थापन गरिसकेको थियो । निर्माण सुरु भएको १० महिना हुँदा अहिलेसम्मको भौतिक प्रगति झण्डै ४ प्रतिशत रहेको छ ।

कोरोना र निषेधाज्ञाका कारण भौतिक प्रगतिमा विलम्ब भएको हो । यसअघि यतिबेलासम्म ८ प्रतिशत काम हुने लक्ष्य लिइएको थियो । निर्माण काम अवरुद्ध नै नभए पनि कतिपय समस्या भने आइरहेकाले लक्ष्यभन्दा कम प्रगति भएको हो । केही समय पहिलेसम्म निर्माण सामग्रीको अभाव रहेको थियो ।

धादिङकै कतिपय स्थानीय तहले गिट्टी, बालुवा लगायतका निर्माण सामग्रीको ढुवानी गर्न दिएका थिएनन् ।

अहिले स्थानीय तहसँगको समन्वयमा त्यसको समाधान खोजिएको सडक विभाग, विकास सहायता समन्वय महाशाखाका प्रमुख अर्जुनजंग थापाले बताए । उनले भने, “केहीले अवरोध गर्न खोजे पनि सम्झाएर, बुझाएर अहिले निर्माण सामग्री ल्याउने वातावरण बनाइएको छ ।”

सुरुङमा अहिले काठमाडौंतर्फ काम गर्न नसकिए पनि धादिङतर्फ ‘क्लोज क्याम्प’ मा काम भइरहेको छ । सिस्नेखोला ‘डाइभर्ट’ गर्ने काम भइरहेको प्रमुख थापाले बताए । त्यससँगै जग्गा सम्याउने र सुरुङको मुखमा निर्माणको काम भइरहेको छ ।

सरकारले गर्नुपर्ने जग्गा अधिग्रहणको काम अघि बढिरहेको उनले जानकारी दिए । बलम्बुमा फ्लाइओभर निर्माणका लागि जग्गा मुआब्जाको प्रक्रिया बन्दाबन्दी पहिले नै अघि बढेको थियो । धादिङमा भने जग्गा अधिग्रहणको काम कम मात्रै रहेको छ । निर्माणस्थलमा रहेका धेरै जग्गा अधिग्रहण गरिएको छ भने समस्या भएका केही व्यक्तिको मात्रै अधिग्रहण बाँकी छ । उनले भने, “जग्गा रोक्का भएका व्यक्तिको मात्रै जग्गाको मुआब्जा दिन बाँकी छ ।”

निर्माण कम्पनीको सडक विभागसँग ४२ महिनामा निर्माण सम्पन्न गर्ने गरी ठेक्का सम्झौता भएको थियो । अहिले योजना गरिएभन्दा थोरै ढिलो भए पनि त्यसले समग्रमा असर नगर्ने प्रमुख थापाले बताउनुभयो । निर्माण कम्पनीले बाँकी समयमा काम सञ्चालन गर्न सके समयमै सकिने बताउँदै आएका छन् ।

जापान सरकारको ‘सफ्ट लोन’ मा ४२ महिनामा सो सुरुङको निर्माण गर्ने गरी नेपाल सरकार र जापानी निर्माण संस्था हाजमा आङदो कर्पोरेसनबीच गत वर्ष असोजमा सम्झौता भएको थियो ।

सुरुङमार्ग सञ्चालनमा आएसँगै नागढुंगा–नौबिसे सडकखण्डमा दैनिकरूपमा हुने जाम हट्ने अपेक्षा गरिएको छ । त्यस स्थानमा सयौँको सङ्ख्यामा सवारी साधन र धेरै व्यक्ति अलपत्र पर्ने गरेकामा त्यसको समाधान हुनेछ । त्यसको समाधानसँगै पेट्रोलियम पदार्थको बचत पनि हुनेछ ।

४२ महिनाको अवधि निर्माण सम्पन्न गर्नका लागि पर्याप्त समय भएको विभागले बताउँदै आएको छ । आयोजनाअन्तर्गत साढे ९ मिटर र ४ मिटर गरेर दुईवटा सुरुङको निर्माण हुनेछ ।

दुई वटा ‘फ्लाइओभर’, एउटा सर्भिस सेन्टर र ३।१ किलोमिटर नयाँ सडक निर्माण हुने बताइएको छ । सुरुङमार्गकै मुखमा र सतुङगलमा ‘फ्लाइओभर’ बनाउन लागिएको छ ।

अन्तराष्ट्रिय मापदण्डअनुसार एउटा लेनको चौडाइ साढे ३ मिटर हुन्छ । ३ लेन नपुगे पनि मुख्य सुरुङमार्गमा ३ वटा सवारी साधन सहज आवतजावत गर्न सक्नेछन् । एउटा गाडी बिग्रँदा पनि दुईवटै गाडी चल्न सक्नेछन् । सहायक टर्नेल तत्काल उद्धारका लागि हुने बताइएको छ । ठाउँठाउँमा मुख्य सुरुङबाट सहायक सुरुङ प्रवेशको द्वार बन्नेछ ।

सुरुङमार्ग खन्दा आएका मजबुत ढुङ्गा र माटो त्यही निर्माणका क्रममा प्रयोग हुनेछ । कमजोर ढुंगा माटोलाई भने सिस्नेखोलामा भरेर सोही स्थानमा ‘सर्भिस सेन्टर’ निर्माण गरिने प्रमुख थापाले बताए । सो स्थानमा बसपार्क, तरकारी संकलन केन्द्रलगायतका स्टल हुनेछ । निर्माण सम्पन्न हुनासाथ केन्द्र धुनिबेसी नगरपालिकामा नै हस्तान्तरण गर्ने योजना रहेको छ ।

जाइकाको सफ्ट लोन ९०।०१ प्रतिशत ब्याजदरको सहुलियत ऋण० सहयोगमा साढे २ वर्षअघिदेखि सुरुङमार्ग निर्माण प्रक्रिया सुरु गरिएको थियो । यसका लागि २२ अर्ब लाग्नेमा जाइकाले १६ अर्ब सहयोग गर्ने र ६ अर्ब नेपाल सरकारले आन्तरिक स्रोतबाट परिचालन गर्ने नागढुंगा सुरुङमार्ग निर्माण आयोजनाले जानकारी दिएको छ । रासस

http://noc.org.np/