मुख्य खबर

अख्तियारका वर्तमान र पूर्व पदाधिकारीमाथि छानबिन गर्नुपर्ने माग

  • आर्थिक प्लस संवाददाता

    २०७७ भाद्र २७ गते, शनिबार ११:५९ मा प्रकाशित

काठमाडौँ । कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अख्तियारका वर्तमान र पूर्व पदाधिकारीमाथि छानबिन गर्नुपर्ने माग गरेका छन् । भ्रष्टाचारका ठूल्ठूला कान्डमा संलग्नहरुलाई जोगाउन अख्तियार नै लाग्न थालेको बताउँदै पौडेलले शुक्रबार विज्ञप्तिमार्फत् पूर्व प्रधानन्यायधीशको अध्यक्षतामा उच्चस्तरीय न्यायिक छानबिन आयोग गठनको माग राखेका हुन् ।

‘अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा भएका यावत लापरवाहीहरु उपर छानबिन गर्न र त्यसका वर्तमान र पूर्वपदाधिकारी सदस्यहरूलाई जिम्मेवार बनाउन’पौडेलले विज्ञप्तिमा भनेका छन्,‘एक जना पूर्व प्रधानन्यायाधीशको अध्यक्षतामा सबैको भरोसायोग्य न्यायिक छानबिन आयोग गठन गरियोस् भन्ने माग गर्दछु ।’

पौडेलले शुक्रवार एक राष्ट्रिय दैनिकमा प्रकाशित ‘निगमको जग्गा खरिद फाइल सुटुक्क तामेली’ शीर्षक समाचारप्रति अख्तियारको ध्यानाकर्षण गराएका छन् । ‘१ अरब ३४ करोडको खेल भनिएको उक्त चर्चित प्रकरण यसरी डिसमिस पार्ने काम सुशासनका लागि त्यत्रो भरोसा गरेर हामीले स्थापना गरेको संस्थाबाट भइरहेको छ,’ पौडेलले भनेका छन्,‘माझीले नै डुङा डुबाउन लागेपछि कसले पार लगाउने रु यस्ता काम कारबाही किन भइरहेका छन् रु’

पौडेलले यसअघिका अरबौँका भ्रष्ट्राचार काण्डहरूसमेत चर्चामा रहेको भन्दै अख्तियारको भूमिका सन्देहपूर्ण रहेको बताएका छन् । ‘तिनको तदारुकताका साथ छानबिन गरेर दोषीउपर कारबाही चलाउने र राष्ट्रमा भइरहेका ब्रमलुट रोक्ने काममा अख्तियारको ढिलासुस्ती र लापरबाही चर्चामा छन्,’ पौडेलले भनेका छन्,‘तसर्थ ती लापरबाहीको छानबिन गर्न आवश्यक छ ।’

http://noc.org.np/