मुख्य खबर

पदमा रहँदा १६ करोड ७२ लाख रुपैयाँ भ्रष्टाचार गरेको आरोमा गुप्ताविरूद्ध अख्तियारले विशेष अदालतमा मुद्दा दायर

  • आर्थिक प्लस संवाददाता

    २०७७ भाद्र २७ गते, शनिबार १२:३७ मा प्रकाशित


काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले संघीय आयोजना कार्यान्वयन इकाइ, विराटनगरका तत्कालीन सिनियर डिभिजनल इन्जिनियर काशिप्रसाद गुप्ताविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता गरेको छ ।

पदमा रहँदा १६ करोड ७२ लाख ५६ हजार ४ सय ९६ रुपैयाँ भ्रष्टाचार गरेको आरोमा गुप्ताविरूद्ध बिहीबार अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको हो। गुप्तामाथि त्यति नै बिगो र सजाय मागदाबी लिइएको अख्तियारले जनाएको छ।

गुप्ता २०७६ असार ५ गते अवकाश भएका थिए। उनले पदमा रहँदा आफू र आफ्नी श्रीमतीसमेत १३ जनाका नाममा अस्वाभाविक रूपमा आर्जन गरेको सम्पत्ति खर्च भएको दाबी अख्तियारको छ। ०३८ साल पुस १२ गते ओभरसियर पदबाट सार्वजनिक सेवामा प्रवेश गरेका गुप्ताले ०७६ असार ५ गते सिनियर डिभिजनल इन्जिनियर पदबाट अवकाश पाएक थिए ।

गुप्ताले सार्वजनिक पद धारण गरेको मितिदेखि १ करोड ११ लाख ६९ हजार ९६२ आर्जन गरेको र सोही अवधिमा निजले १७ करोड ८४ लाख २६ हजार ४५९ खर्च तथा लगानी गरेको पुष्टि भएको अख्तियारको दाबी छ ।

गुप्ताले आफन्तहरु अन्जुकुमारी महतो, उदितनारायण प्रसाद रौनियार, चन्देश्वर महतो, धिरजकुमार गुप्ता, प्रीतिकुमारी गुप्ता, डा। रचनाप्रसाद शाह, विकासप्रसाद गुप्ता, विनयकुमार सिंह, विभा रानी, संगीता साह रौनियार र सन्तोषकुमार गुप्ताको नाममा खाता खोली रकम लुकाई–छिपाई राखेको अख्तियारको दाबी छ ।

गुप्तालाई साबिक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १५ र प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा ९१० को कसुरको मतियारको कसुरमा बिगो १६ करोड ७२ लाख ५६ हजार ४९६ कायम गरी सजाय हुन मागदाबीसहित विशेष अदालत, काठमाडौंमा मुद्दा दर्ता गरेको हो । आयोगले उनीहरुको सम्पत्ति जफत गरी हदैसम्मको कारवाहीको माग गरेको छ । यस्तै आयोगले नेपाल खानेपानी संस्थान पोखरा शाखामा कार्यरत प्रशासन सहायक कृष्णहरि वाग्लेले सेवाग्राहीसँग रु २५ हजार घुस लिएको अभियोगमा आज पक्राउ गरेको छ । आयोगले वाग्लेलाई पोखरा महानगरपालिका ट्याक्सी चोकबाट आज पक्राउ गरिएको र अनुसन्धान भइरहेको प्रवक्ता अधिकारीले जानकारी दिनुभयो ।

सीडीई गुप्ताको गैरकानुनी आर्जनमा उनकी श्रीमती मिता गुप्ताको प्रत्यक्ष संलग्नता रहेको अख्तियारको ठहर छ । अख्तियारका प्रवक्ता तारानाथ अधिकारीका अनुसार गुप्ताले भ्रष्टाचार गरेर कमाएको रकम मिताले लुकाउने र दुरुपयोग गर्ने गरेकी थिइन् ।

http://noc.org.np/