मनकुमारी दुवई विमानस्थलमा पुगेपछि अचानक पुरुष बनिन्
Saturday Sep 12, 2020
वि.सं.२०७७ भदौ २७ शनिवार १९:०१
काठमाडौ । नवलपुर जिल्लाको रजहरमा एउटा अनौठो घटना भएको छ । नवलपुरमा महिला रहेकी मनकुमारी विदेश जान भनेर दुवई पुगेपछि उनी अचानक पुरुष बनिन् । जिल्ला प्रशासन कार्यालयको लापरवाहीका कारण अनाहकमा एउटा विपन्न परिवारको महिलाले लाखौं रुपैया गुमाइन् ।
उनी वैदेशिक रोजगारीका लागि भिजिट भिषामा दुवई जाने तयारी गरिन् । आफ्ना दाजुभाईको सहयोगमा उनी दुवई जान भनेर नेपालवाट गइन् । उनी दुवई पनि पुगिन् तर दुवईको विमानस्थलमा पुगेपछि भने उनी झसंग भइन् ।
उनले दुई वर्ष अघि नै पासपोर्ट बनाएकी थिइन् । विदेश जाँदा उनले अनेकौ प्रकृया पुरा गरिन् । मेनपावरले सोही पासपोर्टका आधारमा उनको भिषा लगाइदिएको थियो । त्यतीबेला पनि पासपोर्टमा भएको त्रुटी थाहा भएन ।
जिल्ला प्रशासन कार्यालयले पासपोर्ट बनाउँदा उनलाई पुरुष भनेर लेखिदिएको कसैले पनि थाहा पाएनन् । उनको पासपोर्टमा राखिएको फोटो हेर्दा पनि पुरुषको जस्तै देखिन्छ । नेपालको विमानस्थलवाट जाँदा त्यहाँका कर्मचारीले उनलाई महिला हो वा पुरुष भनेर हेरिदिएनन् । उनी सो पासपोर्ट देखाएर दुवई पुगिन् ।
दुवईवाट फर्काइएपछि उनलाई विमानस्थलले फाइन तिरायो । भिजिट भिषा पठाउँदा पनि दुवईमा पनि कसैले हेरेनन् । भाईहरुको सहयोगमा उनको भिषा लगाइएको थियो । भिजिट भिषामा जाँदा पनि उनले एक लाख ५० हजार रुपैया तिरेकी थिइन् । अहिले उनको पासपोर्ट विमास्थलमै राखिदिएको छ ।
त्यो पासपोर्ट ल्याउन एक लाख ६५ हजार रुपैया चाहिन्छ भनेपछि उनले त्यो पैसा तिर्न सकेकी छैनन् । उनले आफै पनि ८ कक्षा पढेकी छन् उनले पनि दुई वर्ष सम्म पासपोर्ट हेरिनन् । भिजिट भिषामा विदेश जान भनेर उनले महिनाको ३ प्रतिशत ब्याजमा एक लाख ५० हजार रुपैया ऋण लिएको बताएकी छन् ।