मुख्य खबर

सरकारले साल्ट ट्रेडिङलाई समयमा चिनी ल्याउन नदिंदा मूल्य वृद्वि ,उपभोक्ता मारमा

  • आर्थिक प्लस संवाददाता

    २०७७ आश्विन ९ गते, शुक्रबार २२:५५ मा प्रकाशित

काठमाडौं । सरकारले सरकारी स्वामित्वका साल्ट ट्रेडिङ कर्पोरेसन ,खाधान्न व्यवस्था तथा व्यापार कम्पनी मार्फत पर्याप्त चिनी खरिद गरेर बजारमा प्रवाह गरि हस्तक्षेप गर्न नसक्दा बजारमा चिनीको मूल्यमा १५–२० रूपैयाँ सम्म वृद्वि गरि उपभोक्तालाई मारमा पार्ने कार्य भैरहेको छ।

अहिले बजारमा चिनी किलोको ७३ रुपैयाँदेखि ९० रुपैयाँसम्ममा बिक्री भइरहेको छ । साल्ट ट्रेडिङ कर्पोरेसनले ७३ रूपैयाँमा चिनी बिक्री वितरण गरि रहेपनि नीजि उद्यमी र व्यापारीले भने ९० देखि ९५ रूपैयाँमा बिक्री गरिरहेका छन ।

व्यापारीले मनोमानी रुपमा चिनी बिक्री गर्दा उपभोक्ता ठगिएका छन् । साल्ट ट्रेडिङ कर्पोरेसनले ७३ रुपैयाँ किलोमा बिक्री गरेको चिनी खुला बजारमा व्यापारीले ९५ रुपैयाँसम्म लिने गरेका छन् । केही मार्ट, डिपार्टमेन्टल स्टोर्सले ८० देखि ८५ रुपैयाँमा चिनी बिक्री गरिरहेका छन् । तरकारी जस्तो चिनी सड्ने, गल्ने वस्तु नभएकाले मूल्यमा एकरुपता हुनुपर्नेमा मनोमानी मूल्य लिदै आएका छन।

तर प्रशासनले राम्रोसँग अनुगमन गरि कारवाही गरेको छैन। उद्योग,वाणिज्य तथा आपूर्ति मन्त्रालयले साल्ट ट्रेडिङ कर्पोरेसनलाई दशैं,तिहार र छठ जस्ता पर्वका लागि समयमै चिनी आयात गर्न अनुमति नदिदा यस्तो अवस्था आएको हो।

नीजी व्यापारीसँग आपूर्ति मन्त्रालयका अधिकारीहरूले घुस खाएर चिनी आयातको अनुमतिपत्र दिन ढिला गरेको कारणले बजारमा चिनी अभाव गराएर व्यवसायीहरूले उपभोक्तालाई बढी मूल्य तिर्न बाध्य पारेको बताइन्छ । कर्पोरेसनले गत जेठ महिनामै चिनी आयात गर्न मन्त्रालयमा पत्र पठाएकोमा पिआर अन्तिममा मात्र अनुमतिपत्र दिएको थियो।

उद्योगी र व्यापारीको मिलेमतोमा चिनीमा उपभोक्ता सधैं ठगिएको खुद्रा व्यापार संघका अध्यक्ष राजकुमार श्रेष्ठ बताउछन। साल्ट ट्रेडिङमा चिनी निकै सस्तो छ,व्यापारीले महगोमा वेचिरहेका छन। ठूला व्यापारीको मिलेमतोमा चिनीमा खेल भइरहेको छ । खुद्रा किराना पसलले ८५ देखि ९० रुपैयाँमा चिनी बिक्री गरिरहेका छन ।

सरकारको लगानी रहेको साल्ट ट्रेडिङ कर्पोरेसन र खाद्य व्यवस्था तथा व्यापार कम्पनीले चिनी स्टक राखेर हस्तक्षेप गर्न नसक्दा उपभोक्ता ठगिएका छन । ती कम्पनीले सरकारले समयमा नै चिनी आयातको अनुमति नदिँदा मागको आधारमा आपूर्ति गर्न नसकेर बजारमा मुल्यमा मनपरी भएको हो ।

कर्पोरेसनसँग सीमित मात्रामा चिनी भएकाले माग गरेका आधारमा आपूर्ति गर्न नसकेको साल्ट ट्रेडिङ कर्पोरेसनका विभागीय प्रबन्धक ब्रजेशकुमार झा बताउछन । झाले भने–हाम्रो बिक्री केन्द्रहरूमा ७३ रुपैयाँ किलोमा बिक्री गरिरहेका छौं। सरकारले समयमै चिनी आयात गर्ने अनुमति नदिँदा पर्याप्त स्टक छैन । अहिले खुद्रा हिसाबले मात्र बिक्री गरिरहेको, नयाँ चिनी आएपछि मात्र ठूलो परिमाणमा दिन सक्ने छौं ।

अहिले बजारमा चिनी प्रतिकिलो ७३ रुपैयाँदेखि ९५ रुपैयाँसम्म बिक्री भइरहेको छ । सरकारको लगानी रहेको साल्ट ट्रेडिङ कर्पोरेसन र खाद्य व्यवस्था तथा व्यापार कम्पनीले चिनी स्टक राखेर बजारमा हस्तक्षेप गर्न नसक्दा उपभोक्ताले बढी मूल्य तिर्नु परेको छ।

फितलो सरकारी तयारीले चिनीको मूल्य नियन्त्रण हुन नसकेको उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमिल्सिना बताउछन । उनले भने९समयमा खरिद गरेर स्टक राखेको भए मूल्यमा एकरुपता हुन्थ्यो,बजारमा प्रभावकारी अनुगमन नहुँदा पनि पसलै पिच्छे मूल्य फरक–फरक छ ।’