मुख्य खबर

कोरोनाभाइरस सङ्क्रमणलाई ध्यानमा राख्दै बैंकहरुले दसैँ बिदामा आफ्ना शाखाहरु नखोल्ने

  • आर्थिक प्लस संवाददाता

    २०७७ कार्तिक ५ गते, बुधबार ०९:२८ मा प्रकाशित

काठमाण्डौ। कोरोनाभाइरस सङ्क्रमणलाई ध्यानमा राख्दै बैंकहरुले दसैँ बिदामा आफ्ना शाखाहरु नखोल्ने भएका छन्।

गत वर्ष बडादसैँका बिदामा समेत सीमित बैंकका काउन्टर खोलेर सेवा प्रवाह गरेका बैंकले यस वर्ष कुनै पनि बैंक नखोल्ने निर्णय गरेका हुन्। बैंकहरुको छाता संगठन नेपाल बैंकर्स संघले सीमित शाखा खोलेर बैकिङ सेवा दिँदा कोरोना सर्ने जोखिम बढ्ने सम्भावना भएकाले नखोल्ने निर्णय गरिएको जनाएको छ।

संघका प्रमुख कार्यकारी अधिकृत अनिल शर्मा सरकारले तोकिएअनुसार यही कात्तिक ७ देखि ११ गतेसम्म पाँच दिन सबै वाणिज्य बैंकका शाखा बन्द गर्ने निर्णय भएको सुनाए। ‘दसैँमा कम आवतजावत हुन्छ, सीमित बैंकमात्र खुला गर्दा बढी भीडभाड हुन सक्छ’, उनले भने, ‘अधिकांश बैंकका कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएको छ। सङ्क्रमणको जोखिम लिनुभन्दा पाँच दिन बन्द गर्दा उपयुक्त हुने निष्कर्षसहित बन्द गरिएको हो।’

हाल बैंकहरुले एटिएम तथा डिजिटल कारोबारलाई प्राथमिकतामा राख्दै आएकाले यस पटक डिजिटल बैंकिङलाई प्रोत्साहन गरी शाखा खोलेर दिने सेवालाई बन्द गरिएको बताएका छन्। दसैँका समयमा वाणिज्य बैंक बन्द गर्ने कुरा नेपाल राष्ट्र बैंकको अधिकार क्षेत्रभित्र नपर्ने राष्ट्र बैंक, नियमन विभागका प्रमुख देवकुमारमा ढकाल बताउँछन्।