मुख्य खबर

आज महासंघको निर्वाचन सुरु, तीन ठाउँमा मतदान केन्द्र

  • आर्थिक प्लस संवाददाता

    २०७७ मंसिर १३ गते, शनिबार १३:२१ मा प्रकाशित

काठमाडौं :आज महासंघको निर्वाचन सुरु भएको हो । नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचन सुरू भएको छ । राजधानीका विभिन्न तीन ठाउँमा एकसाथ मतदान सुरु भएको हो ।

वरिष्ठ उपाध्यक्षसहित विभिन्न पदका लागि महासंघको केन्द्रीय कार्यालय, टेकु, कार्की व्यांकेट बबरमहल र नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा मतदान सुरु भएको हो ।

तीन स्थानमध्ये नेपाल उद्योग वाणिज्य महासंघको सचिवालयमा वस्तुगत, कार्की व्यांकेट बबरमहलमा एशोसिएट र प्रज्ञा प्रतिष्ठान कमलादीमा वाणिज्य समूहको मतदान सुरु भएको हो ।

शुक्रबार बन्दशत्र सकिएपछि शनिबार बिहान आठ बजेबाट मतदान सुरु भएको हो । कोरोना संक्रमित प्रतिनिधिका लागिसमेत प्रज्ञा प्रतिष्ठानमा मतदानको छुट्टै व्यवस्था गरिएको छ ।

महासंघको चुनावमा वरिष्ठ उपाध्यक्षका लागि चन्द्र ढकाल र किशोर प्रधान प्यानल बनाएरै प्रतिस्पर्धामा उत्रिएका छन् । महासंघको विधानअनुसार वरिष्ठ उपाध्यक्ष नै स्वतः आगामी महाधिवेशनबाट अध्यक्ष बन्नेछ । सोही प्रावधान अनुसार शेखर गोल्छा महासंघको आगामी अध्यक्ष बन्दैछन् ।

एक हजार ११६ मतदाता रहेको महासंघको निर्वाचनमा ९०४ वटा एसोसियट, ६ वटा द्विराष्ट्रिय, १०१ वस्तुगत र १०५ जना जिल्ला नगर तर्फबाट मतदान गर्दै छन् ।

जिल्ला नगरतर्फ १८ जना कार्यकारिणी सदस्यका लागि ३८ जना चुनावी मैदानमा छन् भने प्रदेशतर्फ ६ जनाका लागि १४ उम्मेदवार चुनावी मैदानमा छन् । ​

वस्तुगततर्फ १४ जनाका लागि २८ जना, एसोसिएटतर्फ १९ जनाका लागि ३१ र संस्थापक सदस्यतर्फ एक जनाका लागि तीन जना चुनावी प्रतिस्पर्धामा छन् ।

महासंघको २ केन्द्रीय सदस्यमध्ये प्रदेश १ बाट राजेन्द्र राउत र द्विराष्ट्रिय उद्योग वाणिज्य संघबाट सन्दीप अग्रवाल निर्विरोध निर्वाचित भइसकेका छन् । शनिबार अन्य पदका लागि मतदान सुरु भएको हो ।

महासंघको ५४ औं साधारणसभा मंसिर ११ गतेबाट सुरु भएको हो । प्रधानमन्त्री केपी ओलीले भर्चुअल माध्यमबाट उद्घाटन गरेको साधारणसभाको बन्दशत्रसमेत भर्चुल नै भएको थियो । कोरोना महामारीका कारण चैतमा रोकिएको सधारषसभा पटकपटक स्थगित हुँदै अहिले भएको हो ।