मुख्य खबर

आज बालुवाटारमा नेकपा सचिवालय बैठक

  • आर्थिक प्लस संवाददाता

    २०७७ मंसिर १३ गते, शनिबार १४:२४ मा प्रकाशित


काठमाडौं : सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक बालुवाटारमा सुरु भएको छ । बैठकमा सहभागी हुन सबै सचिवालय सदस्य बालुवाटारमा पुगेका छन् ।

बैठकमा प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीले लिखित जवाफ प्रस्तुत गर्ने निर्धारित कार्यसूचि रहेको छ ।

आजको बैठकमा पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको प्रतिवेदनको जवाफमा प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीको प्रतिवेदन प्रस्तुत हुने कार्यक्रम छ । आजको बैठकमा दुवै प्रतिवेदन वितरण गर्ने र त्यसमै छलफल हुनेछ ।

दुबै अध्यक्षको प्रस्तावलाई साझा प्रस्ताव बनाएर अघि बढ्ने र नभए बहुमतका आधारमा निर्णय गरेर अघि बढ्ने तयारी प्रचण्ड(माधव समूहको छ ।

पार्टी र सरकार सञ्चालनमा भइरहेका असन्तुष्टिबाट सुरू भएको नेकपाको विवाद विभिन्न नियुक्ति र राजनीतिक चलखेलपछि फुट नजिक पुगेको छ ।

बहुमत सचिवालय सदस्यको दबाबपछि गत कात्तिक २८ गते शुक्रबार बसेको सचिवालय बैठकमा प्रचण्डले ओलीविरूद्धको राजनीतिक प्रस्ताव ल्याएपछि ओली रूष्ट छन् ।

उक्त प्रस्तावमा ओली असफल भएको भन्दै ओलीले पार्टी र सरकारको नेतृत्वमा त्याग देखाउन पर्ने उल्लेख गरिएपछि उनले मंसिर ३ मा बसेको बैठकमा आरोप पुष्टि नभए दाहालले पद त्याग गर्नु पर्नेसमेत चेतावनी दिएका थिए ।

सोही बैठकले ओलीलाई पनि राजनीतिक प्रस्ताव पेस गर्न १० दिनको समयावधी दिएको थियो भने स्थायी कमिटी र केन्द्रीय कमिटी बैठकको मिति तोकेको थियो ।

सचिवालय बैठकमा विवाद हल नभए जारी विवाद १८ मंसिरको स्थायी कमिटी तथा २५ मंसिरको केन्द्रीय कमीटी बैठकमा पुगेर छिनोफाने गर्न दुबै पक्ष अघि बढेका छन् ।

आजको बैठकमा प्रधानमन्त्री ओलीको प्रस्तुति नै पार्टीका लागि एउटा निर्णायक मोड हुनसक्ने भनी यो बैठक निकै चासोपूर्वक हेरिएको छ।