मुख्य खबर

“बेस्ट सिङ्गर अफ दी ईयर २०२०” को अवार्ड गायक बिनोद ढकाललाई

  • आर्थिक प्लस संवाददाता

    २०७७ फाल्गुन २५ गते, मंगलवार १०:३७ मा प्रकाशित

काठमाडौँ । शनिवार राजधानीमा मोडल सङ्ग्स नेपालद्वारा आयोजित  ‘नेपाली कला, संस्कृति, सष्ट्रा तथा सर्जकको सम्मानमा समर्पित अन्तर्राष्ट्रिय अवार्ड’ ‘मोडल सङ्ग्स अवार्ड २०२०’ मा गायक तथा संगितकार बिनोद ढकालले “बेस्ट सिङ्गर अफ दी ईयर २०२०” को अवार्ड हात पारेका छन।

अन्तर्राष्ट्रिय स्तरमा सम्पन्न हुँदै आएको ‘मोडल सङ्ग्स अवार्ड’ को दोश्रो संस्करण भने कोरोना संक्रमणको जोखिमका कारण यस वर्ष राजधानीको जमलस्थित राष्ट्रिय नाचघरमा बिभिन्न साँस्कृतिक प्रस्तुतिहरुसहित पूर्व सुचना तथा संचारमन्त्री तथा प्रतनिधी सभा सदस्य डा. मिनेन्द्र रिजालको प्रमुख आतिथ्यतामा सु-सम्पन्न भएको थियो।

अवार्ड समारोहको समुद्घाटन प्रमुख अतिथि रिजाल,कार्यक्रम आयोजक डेभिल सिंह राजपुत, विशेष अतिथि नेपाल विद्यार्थी संघका महामन्त्री मनोज वैद्यले पानसमा दीप प्रज्ज्वलन गरी गरेका थिए ।

 

नेपाली सांगितिक वृत्तमा वि सं २०६३ सालमा आफ्नै शव्द, संगित र स्वरमा ‘डाउनलोड’ नामक गिती संग्रह सार्वजनिक गरी नेपाली पप/रक संगित विधलाई अंगाल्दै नेपाली सांगितिक जगतमा पदार्पण गरेका गायक तथा संगितकार ढकालले नेशनल सङ्ग क्याटेगरीमा “कालापानी” बोलको गितबाट उक्त अवार्ड हात पारेका हुन।

गायक ढकाल एक बहुप्रतिभाशाली व्यक्तित्व हुन। नेपाली रंग जगतमा गाउने बजाउने मात्र नभएर उनी नेपाली सांगितिक क्षेत्रका पप किङ्ग़ मानिने गायक नविन के. भट्टराईको ‘कामना’ बोलको गितको म्युजिक भिडियोमा उत्कृष्ट अभिनय गरेर अभिनय यात्रा शुरु गरेका ढकाल बिभिन्न म्युजिक भिडियो, टेलिचलिचित्र, चलचित्रमा अभिनय गर्नुको साथै एक क्षमतावान भोईस ओभर आर्टिस्ट समेत हुन।

‘उकालीमा पनि हजुर मोटर जाँदो रैछ’ बोलको गितमा गरेको र्याप गायन सर्वार्धिक रुचाईएको थियो। साथै चलचित्र ‘मोक्ष’को ओएसटी गीत ‘मर्छुकी क्या हो गाँजा तानी तानी’, ‘बाजेले गितार बजाको’, चलचित्र ‘किङ्ग़’को गीत ‘भ्रूम भ्रूम’, चलचित्र ‘लालटिन’को ‘ह्वीस्की’, ‘कव वेब’, ‘ह्याप्पी न्यु ईयर’को शिर्ष गितको शब्द-संगित, चलचित्र ‘कुम्भ करण’, ‘ह्याप्पी न्यु ईयर’, ‘पासवर्ड’, ‘हिरो रिटर्न्स’ लगायतका चलचित्रहरुमा भोईस डबिङ गर्नुका साथै दर्जनौ उत्कृष्ट गितहरु नेपाली सांगितिक क्षेत्रलाई प्रदान गर्दै आएका गायक ढकालको पछिल्लो समय लिम्पियाधुरा-लिपुलेक सिमा अतिक्रमणको सम्बन्धमा ‘शास्त्र ब्यान्ड’ मार्फत सार्वजनिक राष्ट्रिय भावनाले ओतप्रोत ‘कालापानी’ बोलको गितलाई यस वर्षको ‘मोडल सङ्ग्स अवार्ड २०२०’ को नेशनल सङ्ग क्याटेगरीमा “बेस्ट सिङ्गर अफ दी ईयर २०२०” अवार्ड प्रदान गरिएको आयोजक संस्थाका सिईओ डेविल सिंह राजपुतले जनाए।