मुख्य खबर

सुन देखि नून सम्म बरामद गर्दै पुलिसले भन्सार छलेर ल्याएका करौडौका सामान यसरी गर्यो जफत

  • आर्थिक प्लस संवाददाता

    २०७७ चैत्र ५ गते, बिहीबार ११:२६ मा प्रकाशित

 

काठमाडौं । महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले मात्र तीन महिनाको अवधिमा भन्सार छली गरेर ल्याएको ८९ लाख ३२ हजार रुपैयाँ बराबरको सामान बरामद गरेको छ।

पुस महिनादेखि चैत १ गतेसम्म विभिन्न कम्पनीका मोबाइल, कपडा, सुन इत्यादि गरेर ८९ लाख रुपैयाँ बराबरको सामान बरामद गरेको परिसरका एसएसपी अशोक सिंहले जानकारी दिए।

सबैभन्दा धेरै कुर्था सुरुवाल र लेहगां बरामद गरेको प्रहरीले जानकारी दिएको छ। ५ सय ७८ थान कुर्था बरामद गरेको हो। तीन महिनामा ५० लाख १ हजार ४ सय रुपैयाँ बराबरको कुर्था सुरुवाल बरामद गरेको हो।

भारत हुँदै काठमाडौं भित्र्याएका मोबाइल र त्यसको ब्याट्री समेत बरामद गरेको छ। ६ सय २६ वटा विभिन्न कम्पनीका मोबाइल र २ हजार ६ सय १० थान मोबाइलको ब्याट्री र १ सय ६५ थान चार्जर नियन्त्रणमा लिएको हो। यी सामानको मूल्य ८ लाख ९५ हजार रुपैयाँ बराबरको रहेको छ।

त्यस्तै त्रिभुवन विमानस्थल हुँदै भन्सार छली गरेर आएको २२ तोला सुन समेत बरामद गरेको प्रहरीले जानकारी दिएको छ। टर्च लाइट, स्पिकर, साडीमा जडान गर्ने पोते समेत बरामद भएको एसएसपी सिंहले जानकारी दिए।