मुख्य खबर

कहाँ पुग्यो हिमालयन र इन्भेष्टमेन्ट बैंकको मर्ज प्रक्रिया ? हिमालयनको ६ अर्ब ८९ करोड हबिबले लाने लाग्यो टुंगो

  • आर्थिक प्लस संवाददाता

    २०७७ चैत्र २८ गते, शनिबार ०९:२२ मा प्रकाशित

काठमाडौं । पाकिस्तानको हबिब बैंकले हिमालयन बैंकमा गरेको सेयर लगानी झिक्ने भएको छ। बैंकमा कुल सेयर लगानीमध्ये हबिबको २० प्रतिशत स्वामित्व छ।

बैंकले घोषणा गरेको बोनसपछि कम्पनीको कुल सेयर संख्या १२ करोड १८ लाख २ हजार १६९ हुन आउँछ। यस हिसावले २ करोड ४३ लाख ६० हजार ४३३ कित्ता संस्थापक सेयर बिक्री गरेर हबिबले करिब ६ अर्ब ८९ करोड रुपैयाँ लैजाँदै छ।

हबिबले प्रतिकित्ता करिब २८३ रुपैयाँका दरले आफ्नो संस्थापक सेयर बिक्री गर्न खोजेको छ। हिमालयनका प्रमुख कार्यकारी अधिकृत अशोक शमशेर राणाका अनुसार हबिबको सेयर पनि अरु नेपाली संस्थापक सेयर धनीले नै खरिद गर्नेछन्।

‘हबिबले सेयर बेच्न चाह्यो, उसले तोकेको मूल्यमै सेयर बिक्रीका लागि हामीले सहजीकरण गरिदिने हो’ राणाले भने ‘त्यो सेयरमा पहिलो अधिकार अरु संस्थापककै हुन्छ, संस्थापक सेयरधनीलाई यसबारे जानकारी भइसकेको छ।’

हबिबले सेयर बिक्रीपछि करिब ६ अर्ब ८९ करोड रुपैयाँ पैसा लैजानेछ। हबिबपछि हिमालयन बैंकमा कर्मचारी सञ्चय कोषको स्वामित्व सबैभन्दा धेरै १४ प्रतिशत छ।

त्यस्तै एन ट्रेडिङ कम्पनीको १२. ७१, म्युचुल ट्रेडिङ कम्पनीको ११. ८५, आभा इन्टरनेसनलको ११. ३८, छाया इन्टरनेसनलको ८.८९ प्रतिशत सेयर हिस्सा छ। व्यक्तिगततर्फबाट शशिकान्त अग्रवालको सबैभन्दा धेरै २.६५ प्रतिशत सेयर छ।

कुनै पनि संस्थापकले एउटा बैंकमा १५ प्रतिशतसम्म मात्रै सेयर ग्रहण गर्न सक्छन्। त्यस आधारलाई लिने हो भने सञ्चय कोषले थप १ प्रतिशत मात्रै सेयर खरिद गर्न सक्छ।

तर सरकारी स्वामित्वको काेष भएकाले यसका हकमा १५ प्रतिशत लागू हुन्छ या हुँदैन भन्नेमा अझै अन्यौल छ। निजीका हकमा कुनै एक कम्पनीले एउटा बैंकमा बढीमा १५ प्रतिशतसम्म सेयर हिस्सा कायम राख्न सक्छ।

संस्थापकहरुलाई दिइसकेपछि बाँकी रहेमा अर्को नयाँ इन्भेष्टमेन्ट कम्पनी खडा गरेर सोमार्फत पनि संस्थापक सेयर खरिद हुन सक्छ। ‘हबिबको सेयर नबिक्ने भन्ने त हुँदैन, बिक्रीका लागि प्रक्रिया अघि बढेको छ, सबै संस्थापकहरु सेयर लिन उत्सुक हुनुहुन्छ’ बैंकका एक उच्च अधिकारीले भने।

आन्तरिक कारण जनाउँदै बैंकको संचालक समितिको बैठक बस्न सकिरहेको छैन। हबिबको कति सेयर को संस्थापकले सकार्छन् टुंगो लागिसकेको छैन।

हबिबको तर्फबाट संचालक समितिमा फैसल ललानीले प्रतिनिधित्व गर्छन्। ‘बोर्ड बैठकमा हबिबको सेयर बिक्री प्रक्रिया पनि छलफलको एजेण्डा बन्ने छ, संभवतः चैतको अन्तिमतिर बैठक बस्नेछ’ ती अधिकारीले भने।

हबिबका विभिन्न १५ देशमा १७ सय बढी शाखा सञ्जाल छन्। हाल हिमालयन र इन्भेष्टमेन्ट बैंक मर्जका लागि तयारी गरिरहेका छन्।

मर्जको तयारी भए पनि हबिबको सेयर बिक्रीका लागि कुनै असर पर्ने छैन। मर्जको सम्झौतापछि पनि सेयर बिक्री हुन सक्नेछ वा मर्ज सम्झौता अघि नै पनि सेयर बिक्री हुन सक्नेछ।

मर्जपछि सेयर बिक्री गर्नलाई अझ सहज हुनेछ। किनकि इन्भेष्टमेन्टका हालका संस्थापक सेयरधनीले समेत मर्जपछि हबिबको सेयर खरिद गर्न सक्छन्। त्यसाे भएमा हबिबकाे सेयर खरिदका लागि छुट्टै कम्पनी समेत जरुरत नपर्न सक्छ।

कहाँ पुग्यो हिमालयन र इन्भेष्टमेन्ट बैंकको मर्ज प्रक्रिया ?
हिमालयन बैंक र इन्भेष्टमेन्ट बैंक मर्जको तयारीमा छन्। इन्भेष्टमेन्ट बैंकले प्रारम्भिक डिडिए (सम्पत्ति तथा दायित्वको मूल्याङ्कन)का सम्वन्धमा छलफल गरिसकेको छ। यता हिमालयनको संचालक समितिको बैठक बस्न सकिरहेको छैन।

बैठकमा मर्जको एजेण्डा प्रस्तुत भई छलफल हुने छ। बैठक बसेलगत्तै मर्जका लागि सम्झौता हुनेछ।

बोर्ड बैठकमा प्रारम्भिक डिडिएबारे छलफल भइसकेपछि दुवै बैंकको मर्जका लागि सम्झौता हुनेछ। मर्ज सम्झौता भइसकेपछि सेयर कारोबार रोकिनेछ। १ बराबर १ स्वाप रेसियोकै हैसियतमा दुवै बैंक मर्जमा जानेछन्।

यसको अर्थ हिमालयन वा इन्भेष्टमेन्ट बैंकको जति कित्ता सेयर लगानीकर्तासँग छ, मर्जपछि बन्ने बैंक ‘हिमालयन इन्भेष्टमेन्ट’को सेयर पनि त्यति नै हुनेछ। यद्यपि बैंकको नाम के रहने भन्ने सम्वन्धमा टुंगो लागिसकेको छैन।

प्रारम्भिक डिडिएकै क्रममा धेरै विषयमा गहन छलफल भएकाले बीचमै भाँडिने संभावना नरहेको एक अधिकारीले बताए।

मर्जपछिको हिमालयन-इन्भेष्टमेन्ट बैंक सबभन्दा ठूलो हुनेछ। दुवै बैंकको दोस्रो त्रैमासिक वित्तीय विवरण समायोजन गर्दा चुक्ता पुँजी करिब २५ अर्ब हुनेछ, जुन हालका वाणिज्य बैंकहरूको तुलनामा सबभन्दा उच्च हो।

त्यस्तै कर्जा प्रवाह साढे दुई खर्ब हुनेछ भने निक्षेप संकलन तीन खर्ब बराबरको हुन्छ। जगेडा कोषको आकार १६ अर्ब २६ करोड पुग्छ।

यसअघि ग्लोबल आइएमईमा जनता बैंक मर्ज भएको थियो। मर्जपछि चुक्ता पुँजी, नाफा, शाखा संख्या, निक्षेप तथा कर्जा प्रवाह लगायतमा अब्बल देखिएको छ।

मर्ज हुने बैंकलाई राष्ट्र बैंकले स्प्रेड दर (कर्जा तथा निक्षेपको औसत ब्याजदर अन्तर) को सीमामा समेत सहजता दिएको छ। जुन सहजताले बैंकलाई नाफा बढाउन मद्दत गर्छ।