मुख्य खबर

महामारीको निहुँमा व्यापारीको चाँदी कटाई,मनलाग्दी पाराले बढाईयो दैनिक खाद्यबस्तुको भाउ

  • आर्थिक प्लस संवाददाता

    २०७८ बैशाख १४ गते, मंगलवार १६:५८ मा प्रकाशित

 

काठमाडौं ।  कोरोना महामारीलाई व्यापारीहरुले कमाउने मौकाको रुपमा लिन थालेका छन् । नियमित आयात भइरहेको र बजारमा पर्याप्त उपलब्धता रहे पनि व्यापारीहरुले मनलाग्दी खाद्यान्न लगायत दैनिक उपभोग्य वस्तुको भाउ बढाएका हुन् ।

उपत्यकामा निषेधाज्ञा घोषणा गरिएसँगै बजारमा खाद्यान्नको माग सामान्य बढेपछि बजारमा रिटेल तथा होलसेल पसलहरुले खाद्यको मूल्य बढाएका हुन् ।

व्यवसायीहरु भारतका विभिन्न राज्यहरुमा लकडाउन भएसँगै नेपालमा आयात हुने सामग्रीको संख्यामा कमी आउन थालेको भन्दै मूल्य वृद्धि गरेका हुन् । साथै पेट्रोलियम पदार्थको मूल्य बढेसँगै ढुवानी खर्च समेत बढेकाले मूल्य वृद्धि हुन गरेको व्यवसायीहरुको भनाइ छ ।

नेपाल रिटेलर एसोशिएसनका अध्यक्ष राजकुमार श्रेष्ठले पछिल्लो समय पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएकाले ढुवानी महँगो हुँदा खाद्यको मूल्य समेत वृद्धि हुन गएको बताए ।

निजी क्षेत्रले खाद्य वस्तु ६ महिनासम्म राख्न गरेको भन्दै उनले इन्धनको मूल्य वृद्धि नै खाद्यको मूल्य वृद्धि हुनुका कारण हुन सक्ने बताए । ‘सामान लगातार आयात भइरहेको छ, इन्धनको मूल्य बढेको कारणले खाद्यमा पनि असर पर्न सकेको हुन्छ,’ श्रेष्ठले चाणक्य पोष्टसँग भने ।

श्रेष्ठका अनुसार चामलको मूल्य प्रतिबोरामा ५० रुपैयाँ वृद्धि भएको छ । केही दिन यता दाल तथा गेडागुडीमा ५ देखि ७ रुपैयाँ प्रतिकेजी वृद्धि भएको छ । चिनीमा ४ देखि ५ रुपैयाँ मूल्य वृद्धि भएको छ । अन्य अधिकांश खाद्यवस्तुमा पनि मूल्य वृद्धि भएको छ ।

भारतमा कोरोनाका कारण लकडाउन भएपनि आपूर्तिमा कुनै समस्या नआएको उनले बताए । निरन्तर विगतकै मात्रामा खाद्य आयात भइरहेको छ ।

यस्तै, हरियो तरकारी तथा फलफूलको समेत मूल्य बढेको छ । होटल तथा रेष्टरेन्ट लगायत तरकारी धेरै खपत हुने स्थानहरुमा खासै माग नभए पनि तरकारीको भाउ पछिल्लो एक सातामा दोब्बरसम्म वृद्धि भएको छ । निर्वाध आयात भइरहे पनि आपूर्ति कम भएको भन्दै व्यापारीहरुले तरकारीको पनि भाउ बढाएका हुन् ।

अनुगमन फितलो

बजारमा बिनाकारण दैनिक उपभोग्य वस्तुको भाउ बढे पनि सरकार भने यसबारे बेखबर रहेको छ । बजारमा हुने कालोबजारी रोक्न सक्रिय भूमिका खेल्नु पर्ने सरकारी निकाय बेवास्ता गरेर बसेको छ ।

बजार अनुगमनको नियामक निकाय वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले कोरोनाको कारण देखाउँदै बजार अनुगमन सुस्त बनाएको छ ।

प्रभावकारी बजार अनुगमन नहुँदा व्यापारीहरुले आफूखुशी भाउ बढाउँदा कोरोनाको मारमा परेको उपभोक्ता झन् महँगीको चेपुवामा परेका छन् ।