मुख्य खबर

यी हुन् नाफा बढाउने २२ बैंक,कुन बैंकको कति (सूचीसहित)

  • अमिर लामा, संवाददाता

    २०७८ बैशाख १६ गते, बिहीबार ११:४६ मा प्रकाशित

 

काठमाडौं । कोरोनाका बाबजूद वाणिज्य बैंकहरुले खुद मुनाफामा उल्लेख्य सुधार गरेका छन् । पछिल्लो ६ महिना यता आक्रमक कर्जा विस्तार गरेका बैंकहरुले खुद ब्याज आम्दानी, संचालन नाफा, गैर संचालन आम्दानी बढ्दा अधिकांश बैंकहरुको नाफामा सुधार आएको हो ।

बैंकहरुले सार्वजनिक गरेको चालू आवको तेस्रो त्रैमासको वित्तीय विवरण अनुसार खुद मुनाफा गत वर्षको सोही अवधिको तुलनामा औसतमा ११ प्रतिशतले वृद्धि भएको छ ।

चैत मसान्तसम्ममा २७ वाणिज्य बैंकहरुले कुल ५० अर्ब ७४ करोड रुपैयाँ नाफा कमाएका छन्। गत वर्षको सोही अवधिको भन्दा ५ अर्ब ५ करोड रुपैयाँले बढी हो । बैंकहरुले गत आवको चैतसम्म ४५ अर्ब ६९ लकरोड खुद मुनाफा कमाएका छन् ।

समीक्षा अवधिसम्म एउटा बैंकले अ‍ैसतमा १ अर्ब ८७ करोड मुनाफा कमाएका छन् । जबकी गत वर्ष यसै अवधिमा बैंकहरुले औसतमा १ अर्ब ६९ करोड कमाएका थिए ।

२७ वटा बैंकमध्ये नबिल बैंक सबैभन्दा धेरै नाफा कमाउने बैंक बनेको छ भने सेञ्चुरी कमर्शियल सबैभन्दा कम कमाउने बैंक बनेको छ । चैतसम्म नबिलले साढे ३ अर्ब बढी करोड र सेञ्चुरीले ३५ करोड नाफा कमाएको छ ।

२२ बैंकको नाफा बढ्यो

चालू आवको तेस्रो त्रैमासमा २७ मध्ये २२ बैंकको नाफा बढेको छ भने ५ वटा बैंकको मुनाफामा गिरावट आएको छ । समीक्षा अवधिमा एनसीसी, एभरेष्ट, सेञ्चुरी, हिमालयन र नेपाल एसबीआई बैंकको नाफा घटेको छ ।

बैंकहरुको नाफा बढ्नुमा मर्जरको सिनर्जी देखिएको छ । नाफामा छलाङ मार्नेहरुमा अधिकांश मर्जर गरेका तथा अन्य संस्थालाई प्राप्ति गरेका बैंकहरु छन् । गत वर्ष जनता बैंकलाई गाभेर बिग मर्जर गरेको ग्लोबल आइएमइ बैंक सबैभन्दा धेरै नाफा कमाउने दोस्रो बैंक बनेको छ । यसले समीक्षा अवधिसम्म ३ अर्ब ५७ करोड खुद मुनाफा कमाएको छ ।

यस्तै, अन्य विकास बैंक तथा फाइनान्सलाई आफूमा गाभेका एनएमबी, प्राइम कमर्शियल, मेगा, कुमारी लगायत बैंकले पनि आफ्नो नाफामा छलाङ मारेका छन् । कुनै संस्था आफूमा नगाभे पनि प्रभु, सिटिजन्स, नेपाल बंगलादेश, सनराइज र एनआइसी बैंकले पनि नाफामा आकर्षक वृद्धि गरेका छन् ।

समीक्षा अवधिमा कुमारी बैंकले सबैभन्दा धेरै ७८ प्रतिशत नाफा बढाउन सफल भएको छ । गत वर्ष १ अर्ब नाफा कमाएको कुमारीले चालू वर्षम खुद नाफा ८० करोड बढाएर १ अर्ब ८० करोड पुर्याएको छ । यस्तै, नेपाल बंगलादेश बैंकले ६३ प्रतिशत, सिदार्थ ५४, सिटिजन्स ४१ र प्रभुले ४० प्रतिशत नाफा बढाउन सफल भएका छन् ।

गत वर्षको तुलनामा सेञ्चुरी बैंकको भने सबैभन्दा धेरै ६० प्रतिशत नाफा घटेको छ । गत वर्ष ९१ करोड नाफा कमाएको सेञ्चुरीको नाफा यसवर्ष घटेर ३५ करोडमा सीमित भएको छ । यस्तै, समीक्षा अवधिमा हिमालयन ४४ प्रतिशत, एसबीआईको ३९, एभरेष्टको ३५ र एनसीसीको ५ प्रतिशतले नाफा घटेको छ ।

३ बैंक अर्बपति क्लबमा प्रवेश गर्न सकेनन्, ४ बैंकको नाफा ३ अर्ब माथि

चालू आवको तेस्रो त्रैमाससम्म २४ बैंक अर्बपति क्लबमा प्रवेश गरेका छन् । २७ बैंकमध्ये २४ वटा बैंकले ९ महिनामा १ अर्ब बढी खुद मुनाफा कमाएका छन् । गत वर्ष तेस्रो त्रैमाससम्म २३ बैंकले १ अर्ब बढी नाफा कमाएका थिए । चालू आवमा नेपाल एसबीआई, सिभल र सेञ्चुरी बैंकको खुद नाफा १ अर्ब मुनि रहेको छ ।

तेस्रो त्रैमाससम्म नबिल, एनआइसी एशिया, राष्ट्रिय वाणिज्य र ग्लोबल आइएमईले ३ अर्ब बढी नाफा कमाएका छन् । यस्तै, एनएमबी, प्राइम, इन्भेष्मेन्टसहित ७ बैंकले २ अर्ब बढी नाफा कमाउन सफल भएका छन् भने १३ बैंकले १ देखि २ अर्बको बीचमा नाफा कमाएका छन् ।

वितरण योग्य नाफा तेब्बरले बढ्यो

गत वर्षको तुलनामा यस वर्ष बैंकहरुको वितरण योग्य नाफा झन्डै तेब्बरले बढेको छ । गत वर्ष तेस्रो त्रैमाससम्म २७ बैंकहरुको वितरण योग्य नाफा १२ अर्ब रहेकोमा यसवर्ष १९५ प्रतिशतले बढेर ३५ अर्ब ४३ करोड रुपैयाँ पुगेको छ ।

समीक्षा अवधिमा २७ वटैं बैंकहरुले वितरण योग्य नाफा बढाउन सफल भएका छन् । जसमा सबैभन्दा धेरै नेपाल बंगलादेशले ३४०९ प्रतिशत वितरण योग्य नाफा बढाएको छ । गत वर्ष जम्मा २ करोड ८० लाख वितरण योग्य नाफा रहेको बंगलादेश बैंकले यस वर्ष त्यस्तो नाफा बढाएर ९८ करोड पुर्याएको छ ।

तेस्रो त्रैमाससम्म सबैभन्दा धेरै वितरण योग्य नाफा नबिल बैंकको रहेको छ । यस बैंकको सेयरधनीलाई बाँड्न मिल्ने नाफा ३ अर्ब ८० करोड रुपैयाँ रहेको छ ।

यस्तै, ग्लोबल, एनएमबी र प्राइमको २ अर्ब माथि रहेको छ भने ९ बैंकको वितरण योग्य नाफा १ अर्ब माथि छ । समीक्षा अवधिसम्म सबैभन्दा कम वितरण योग्य नाफा सेञ्चुरी बैंकको जम्मा २२ करोड मात्र रहेको छ ।