मुख्य खबर

एमालेको विवाद र नयाँ वहस

  • नीरज रञ्जित

    २०७८ जेष्ठ २ गते, आईतवार ११:३२ मा प्रकाशित

 राष्ट्रिय राजनीतिलाई नयाँ दिशा दिन विगत एक बर्ष देखि अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक बैचारिक लाईनसंँग असहमत हुँदै वरिष्ठ नेता माधव नेपाल,झलनाथ खनाल,बामदेव गौतमले असहमति राख्दै आएका छन । यसले झण्डै पार्टी विभाजनको स्थितिसम्म पुगेर रोकिएको छ। अध्यक्ष ओली आफ्ना पुर्व निर्णयबाट पछि हटेकाले एमालेमा अस्थायी युद्व विराम भएको छ। माधव बकस केही समय पर्ख र हेरको अवस्थामा छ। एमालेको २६५ सदस्यीय केन्द्रीय समितिमा करिव १६५ जना ओलीतिर र करिव १०० जना माधव –झलनाथ –बामदेव तिर ढल्किएका छन । प्रतिनिधि सभाको १२१ सिटमा माधव ( झलनाथ पक्षमा २९ जना र ओलीतिर ९३ जना सांसद रहेको देखिन्छ ।
विवाद सतहमा कार्यशैलीगत देखिएपनि र त्यो रंग दिन खोजिए पनि यथार्थमा पहिले नेकपा हुँदा ओलीलाई प्रधानमन्त्रीबाट हटाएर प्रचण्ड प्रधानमन्त्री बन्ने आकांक्षा देखिएको थियो भने अहिले नेकपा (एमाले) भएपछि प्रधानमन्त्री बन्न माधव कुमार नेपालले आँखा लगाएको देखिन्छ । अहिले प्रधानमन्त्री पदमै ओली र नेपालको विवाद देखिन्छ। ओली र नेपाल वीच गत जेठ ३० गते व्यापारी क्याप्टेन रामेश्वर थापाको घरमा भएको गोप्य ४ घण्टे वार्तामा माधवले धारा ७६(५) अनुसारको चुनावी सरकारको नेतृत्व आफुले पाउनु पर्ने माग गरेको समेत संकेत चुहिएको छ।
त्यसमा ओली सहमत भएको हो वा होइन प्रष्ट हुन सकेको छैन। एमालेमा ओलीको नेतृत्वमा पार्टीले फाइदा नै प्राप्त गरेको देखिन्छ। तत्काल देश र जनताले ओली सरकारबाट ठुलो उपलव्धी नपाएको जस्तो देखिएपनि उनको दुवै कार्यकालमा विपत्ति देखिए। पहिला भुकम्पको पिडाको जनसमस्या, भारतको अघोषित नाकाबन्दीले गर्दा खासै काम गर्न सकेनन्।
चीनसँग व्यापार तथा पारवहन सन्धी गर्नु र भारतको नाकाबन्दी हटाउनु नै ठुलो उपलव्धी बन्यो। दोस्रो कार्यकालमा दुई तिहाई बहुमत उन्मुख समर्थन भएपनि खासै काम गरेको पाइदैन । राष्ट्रियताको सवालमा भारतले मिचेको भुमी कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटेर नेपालको नक्सा सार्वजनिक गर्नु ठुलो उपलव्धी हो। अन्त:त अध्यक्ष ओलीको नेतृत्वको तात्कालिक पार्टी लाईन तथा सहमति र सहकार्यको राजनीतिले अग्नि परीक्षा पास गरेको छ ।
दिर्घकालिन प्रकृतिका मुर्त राष्ट्रिय एजेन्डा आत्मसाथ हुन नसकेको वर्तमान राजनीति तात्कालिक विषयमा बढी केन्द्रित छ । मूलुकले दिर्घकालिन प्रकृतिका सात राष्ट्रिय एजेन्डा आत्मसाथ नगरी अहिलेको संक्रमणकालिन राजनीतिले स्थायित्व पाउन सक्दैन । यिनै राष्ट्रिय एजेन्डाको वरिपरि चलेका एमालेको वहस पेचिलो बनेको छ । यसै शिलशिलामा तत्कालिन नेकपामा यो विषयले पार्टी विभाजन सम्म पुरायो । अफसोच हिजोको नेकपा (नेकपा) आज सम्मको वहसमा आईपुग्दा विभिन्न कारण एक रहन सकेन ।
कारण सर्वोच्चमा बिचाराधिन रहेको मुद्दा माने पनि खास पार्टी भित्रको तिक्तताको परिणती मान्दा अन्यथा नहोला । हिजो नेकपा (नेकपा) मा चलेको अन्तरविरोध वा आज एमालेमा चलेको अन्तरविरोधमा सत्ता र सत्ता केन्द्रीत स्वार्थ प्रतिविम्वन थियो । राजनीतिक पार्टीहरूका बिचमा विभिन्न कोणबाट वहस चल्छ । यो स्वभाविक पनि छ। विभिन्न विचारको बीचमा विरोध र सङ्घर्ष चलिरहन्छ । यसलाई समाजमा विद्यमान वर्गहरूबीच तथा नयाँ पुराना चिन्तनका बीच आउने अन्तर विरोधको प्रतिविम्बनको रूपमा लिनुपर्छ । कुनै पनि राजनीतिक पार्टीमा अन्तर विरोध सिर्जना नभएमा अर्थात् अन्तर विरोध समाधानका लागि विचारधारात्मक सङ्घर्ष नभएमा त्यो पार्टी जीवन्त पार्टी रहन सक्दैन । मूलतः वस्तुगत अन्तर विरोधहरू चिन्तनमा प्रतिविम्बित भएर प्रकट हुन्छ । मानिसको चिन्तनमा आउने विविध समस्यालाई समाधान गर्ने आधार निर्माण गर्छ ।
हरेक वस्तु वा चिन्तन राजनीतिक पार्टीहरूको विकासको प्रक्रियामा अन्तरविरोध अनिवार्य मानिन्छ । अन्तरविरोधका शैली तिक्ततापूर्ण पनि भए । कुनै पनि पक्षबाट भएका वहसको उदेश्य कुनै नेतालाई देवत्वकरण गर्ने वा कुनैलाई राक्षसीकरण गर्ने अवस्य होइन, केवल पार्टी लाइनलाई मजवुत बनाउने ध्येय मात्र हो । पार्टी एकताको संक्रमणकालिन अवस्थामा सहमति र सहकार्यको राजनीतिक संस्कार अवलम्वन गरौ नकि बहुमतिय प्रणाली भन्ने अध्यक्ष ओलीको बिचार राम्रो बिचार थियो । परिस्थिति पेचिलो बन्दै जाँदा पार्टी नाममा कानूनी हक नपुग्दा सर्वोच्चले एकतालाई पूर्ववत अवस्थामा फर्काइ दियो ।
परिणाम एमाले र माओवादी केन्द्र पूर्ववत अवस्थामा आए । कुनै पनि वस्तुको गतिको साधारण रूपमा होस् वा कठिन परिस्थितिमा नै किन नहोस्, वस्तुगत घटना होस् या विचारधारात्मक घटनामा अन्तरविरोध सर्वव्यापी निरपेक्ष हुन्छ । त्यसैले भनिन्छ – एकता सापेक्ष हुन्छ तर अन्तरविरोध निरपेक्ष हुन्छ । नदीहरुले आफ्ना लागि पानी पिउदैनन् । वृक्षले आफ्नो फल आफूले उपयोग गर्दैन । मेघले आफ्ना लागि पानी पार्दैन । त्यसैले हामी जस्ता राजनीतिक कर्मिहरुको योगदान पनि आफ्ना लागि भन्दा देश र जनताका काम गरेका हुन्छन। वैदिक हिन्दु धर्मका गुरु आदि शंकराचार्यले गोविन्दम भज मूढमते’ अर्थात अर्को जुनिमा प्लम्बर हुन पाउँ भनेका छन् ।
सापेक्षतावादका सिद्धान्तकार तथा वैज्ञानिक आइन्सटाइनले पनि  यदि पुनर्जन्म हुन्छ भने म अर्को जुनीमा एउटा सामान्य ‘प्लम्बर’ हुन चाहन्छु भनेका छन। यी दुबै विद्वनको सन्देशको अर्थ सिर्जनात्मक काम गर्नु पर्छ भनेको हो। यी दुवैको भनाईमा कुनै भिन्नता छैन। दुबैले बुद्धिको आश्रय छाड्ने आशय व्यक्त गरिरहेका छन् । यो मेरो यो तेरो भन्ने भावना सानो चित्त भएकाहरूको हो ।
उदार चरित्र भएका आत्माहरूका लागि त समग्र भूमण्डल ब्रह्माण्ड एउटै विशाल र सभ्य सुसंस्कृत सौम्य परिवार हो । यस्तो महान बिचार दुनियाँलाई संप्रेषण गर्न सफल यो माटो जस्तो सुकै विवाद पनि समाधान गरी उचित मार्गदेश गर्न सक्षम छ । यही माटोको जगमा राष्ट्रमा तथा एमाले भित्र देखिएका विवाद हल गर्न अध्यक्ष अोलीले उदार चरित्रकासाथ अगाडि बढ्नु भयो र देखिएका विवाद हल गर्न सक्षम हुनुभएको छ ।