मुख्य खबर

एनआरएनए मध्यपूर्वले सहयोग गरेको ५६० थान अक्सिजन सिलिण्डर ओमनबाट नेपाल ल्याइयो

  • आर्थिक प्लस संवाददाता

    २०७८ जेष्ठ २ गते, आईतवार १२:५२ मा प्रकाशित

काठमाडौं । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम ९नेपाल एयरलाइन्स० ले ओमानको मस्कटबाट ५६० थान अक्सिजन सिलिण्डर ल्याएको छ । गैरआवासीय नेपाली संघ९एनआरएनए० मध्यपूर्वको सहयोग र नेपाली दूतावास ओमानको सहकार्यमा सहयोगस्वरुप प्राप्त सिलिण्डर निगमको वाइड बडी ए ३३० जहाजले शनिबार साँझ काठमाडौँ ल्याएको हो । अक्सिजन सिलिण्डर लिन निगमको जहाज बिहान मस्कट उडेको थियो ।

एनआरएनएले सुरु गरेको ‘नेपालमा अक्सिजन पठाऔँ, आफन्तको ज्यान बचाऔँ’ अभियानअन्तरगत मध्यपूर्वमा रहेका नेपालीहरुको सहयोगमा ओमानबाट ५ सय ६० अक्सिजन सिलिण्डर नेपाल आइपुगेको हो । कोभिड–१९ संक्रमणले हाल नेपालमा ज्यादै कठिन र दुखदायी अवस्था सिर्जना हुँदै गइरहेको र संक्रमणका कारण मानवीय क्षति पनि बढ्दो रहेको छ । यही गम्भीर र जटिल अवस्थाका बिरामीको ज्यान जोगाउन अक्सिजन, भेन्टिलेटर, अक्सिजन कन्सनट्रेटर, औषधी तथा अन्य स्वास्थ्य सामग्रीको माग बढिरहेको र देशको पछिल्लो स्वास्थ्य सम्बन्धी संकटलाई मध्यनजर गर्दै संघले यसअघिनै विश्वव्यापी रुपमा सहयोग संकलनको अभियानको सुरुआत गरेको थियो ।
यसै अभियानमार्फत संघले विदेशस्थित राजदूताबास, कूटनीतिक नियोग, संघका राष्ट्रिय समन्वय समिति लगायत विभिन्न नेपाली संघसंस्था तथा आम गैरआवासीय नेपालीहरुसँग सहकार्य गरिरहेको छ । यसैबीच मध्यपूर्वमा रहेका नेपालीहरुको सहयोगमा शनिबार ओमानबाट ५६० सिलिन्डर अक्सिजन नेपाल ल्याइएको संघले जानकारी दिएको छ ।

गैरआवासीय नेपाली संघ मध्यपुर्वको पहल, ओमानस्थित नेपाली राजदूताबास, विभिन्न नेपाली संघसंस्था एवं आम गैरआवासीय नेपालीहरुको संयुक्त सहयोग र सहकार्यमा नेपाल ल्याइएको अक्सिजन सिलिन्डर रु ७५ लाख बराबरको रहेको छ । ओमानदेखि काठमाडौँसम्मको अक्सिजन सिलिण्डर ढुवानीको खर्च भने नेपाल सरकारले व्यहोरेको छ । नेपाल ल्याइएका ती अक्सिजन सिलिण्डर तत्काल कोरोना संक्रमितहरुसमक्ष पुगोस भनेर आइतवार नेपाल सरकारलाई हस्तान्तरण गरिने कार्यक्रम रहेको छ ।

मध्यपूर्व देखि अक्सिजन सिलिण्डर नेपाल पुरयाउने अभियानमा विशेष पहलकदमी लिई सहकार्य गरेकोमा महामहिम शर्मिला पराजुली ढकालसहित एनआरएनए ओमानका सम्पूर्ण पदाधिकारीहरु, मध्यपूर्वमा रहेका संघका केन्द्रिय पदाधिकारीहरु, गैरआवासीय नेपाली संघअन्तर्गतका राष्ट्रिय समन्वय परिषद्हरु त्यहाँस्थित नेपाली संघसंस्थालगायत मध्यपूर्वमा रहेका गैरआवासीय नेपालीहरुप्रति एनआरएनएले हार्दिक कृतज्ञता व्यक्त गरेको छ ।

नेपालमा अक्सिजनको अभावका कारण सयौँको संख्यामा कोरोना संक्रमितहरुले ज्यान गुमाउनुपरेपछि यूएई, कतार, ओमन, साउदी अरब, कुवेत, बहराइनमा रहेका नेपालीहरुले स्वतस्फूर्त रुपमा रकम उठाएर ५६० थान अक्सिजन नेपाल सरकारलाई पठाएका हुन् । खाडी मुलुकअन्तर्गत ओमन अन्तराष्ट्रिय विमानस्थलबाट शनिबार स्थानीय समय अनुसार दिउँसो २ः३० बजे ओमनका लागि नेपाली राजदूत शर्मिला पराजुली ढकालको उपस्थितिमा नेपाल एयरलाइन्सको वाइड बडी मार्फत अक्सिजन सिलिन्डर नेपाल पठाएका हुन् । राजदूत पराजुलीले नेपाल र नेपालीलाई आपत परेको बेला अक्सिजन सिलिन्डर नेपाल पठाउन पाएकोमा खुशी व्यक्त गरिन् । उनले खाडी मुलुकमा कार्यरत सम्पूर्ण नेपाली कामदारहरुलाई धन्यवाद दिँदै एनआरएनए मध्यपूर्वलाई विशेष आभार प्रकट गरेकी थिइन् ।

एनआरएनएले ‘नेपाल अक्सिजन पठाऔँ, आफन्तको ज्यान बचाऔँ’ अभियानका अन्तर्गत करिब एक हप्ताको अभियानमा ७५ लाख रुपैयाँ भन्दा बढि रकम संकलन गरेर अक्सिजन सिलिन्डर नेपाल पठाएको गैरआवासीय नेपाली संघ आईसीसीका प्रवक्ता डिबी क्षेत्रीले बताए । उक्त परियोजनाको संयोजन एनआरएनए मध्यपूर्वले गरेको थियो भने अक्सिजन सिलिन्डर गैरआवासीय नेपाली संघ एनआरएनए एनसीसी ओमानले खरिद गरेको हो । एनआरएनए, मध्यपूर्वसंयोजक प्रपिवन गुरुङका अनुसार ५६० थान अक्सिजन सिलिन्डर आइतबार नेपाल सरकारलाई हस्तान्तरण गर्ने कार्यक्रम रहेको छ ।

यस्तै बेइजिङबाट चीन सरकारले अनुदानमा दिएको अक्सिजन सिलिन्डरसहितका स्वास्थ्य सामग्री लिन निगमको वाइड बडी जहाज शनिबार राति ११ः०० बजे बेइजिङ्ग प्रस्थान गरेको छ । निगमको पूर्वनिर्धारित उडान तालिकाअनुसार वाइड बडी जहाज ‘ए’ ३३० उडान नं आरए ४२५१ जहाज खाली अक्सिजन सिलिन्डर लिन राति बेइजिङ उड्दैछ । मे १५, १६, १७ र १८ तारिखमा बेइजिङबाट दैनिक ५५० सिलिन्डर ल्याइनेछ । काठमाडौँ–बेइजिङ उडान ५ः४५ घण्टाको हुने प्रक्षेपण गरिएको छ ।

निगमका प्रवक्ता करिश्मा श्रेष्ठका अनुसार चीन सरकारको दुई हजार अक्सिजन सिलिन्डर अतिरिक्त चीनस्थित नेपाली एनआरएन आइसिसीको सहयोगमा १०० थान, चीनमा रहेका एक नेपाली तथा अन्य चिनियाँ नागरिकको सहयोगमा ७६ थान, होंसी ग्रुपले २७ थान र करुणा फाउन्डेशनको सहयोगमा ११० थान गरी कूल अतिरिक्त ३१३ अक्सिजन सिलिन्डर नेपाल आउने जनाइएको छ । निगमको वाइड बडी जहाजले यसअअि वैशाख २८ गते चीनबाट अनुदानका ४०० थान अक्सिजन सिलिन्डर, १० थान भेन्टिलेटरसहितका स्वास्थ्य सामग्री काठमाडौँ ल्याएको थियो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आग्रह र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँगको समन्वयबमोजिम चीनबाट अक्सिजन सिलिन्डरसहितका स्वास्थ्य सामग्री ल्याइएको हो ।