मुख्य खबर

किसानलाई धानको बिउ ५० प्रतिशत अनुदान उपलब्ध

  • आर्थिक प्लस संवाददाता

    २०७८ जेष्ठ १८ गते, मंगलवार ०९:५५ मा प्रकाशित


नवलपुर । नवलपरासी ९बर्दघाट–सुस्तापूर्व०को मध्यविन्दु नगरपालिकाले किसानलाई ५० प्रतिशत अनुदानमा धानको बिउ उपलब्ध गराएको छ । नगरपालिकाले खुला टेण्डर मार्फत धानको बिउ खरिद गरेर किसानलाई ५० प्रतिशत अनुदानमा बिउ उपलब्ध गराएको हो ।

चालु आर्थिक वर्ष २०७७र०७८ को नियमित कार्यक्रमअनुसार नगरपालिकाले नगरका सबै वडाका किसानलाई सावाँ धान, सावित्री धान र राम धानको बिउ ५० प्रतिशत अनुदानमा उपलब्ध गराएको प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद सापकोटाले बताउनुभयो ।

धानको बिउ राख्ने बेलामा किसानहरु नठगिउन् र धानको बिउ अभाव नहोस् भनेर खुला टेण्डरमार्फत खरिद गरेर किसानलाई समयमै उपलब्ध गराइएको उहाँको भनाइ छ । “धानको बिउ राख्ने समयमा हरेक वर्ष बिउको अभाव हुने तथा किसानहरु ठगिने हुँदै आएका थियो”, सापकोटाले भन्नुभयो, “किसानलाई राहत दिनका लागि नगरपालिकाले अनुदानमा गुणस्तरीय बिउ उपलब्ध गराएको हो ।”

बजारमा प्रतिकिलो रु ११० मा बिक्री हुने धानको बिउ नगरपालिकाले खुल्ला टेण्डर मार्फत रु ७२ मा खरिद गरेर किसानहरुलाई रु ३६ मा उपलब्ध गराएको सापकोटाले बताउनुभयो ।

नगरपालिकाभित्रका चार हजार ५०० घरधुरीलाई ५१ हजार ३१० किलो धानको बिउ अनुदानमा वितरण गरिएको सापकोटाले बताउनुभयो । नगरपालिकाले रु ३५ लाख लागतमा खरिद गरेको बिउ किसानलाई रु १७ लाख ५० हजारमा वितरण गरिएको सापकोटाले जानकारी दिनुभयो ।

अनुदानमा गुणस्तरीय धानको बिउ पाउँदा किसानहरु समेत हर्षित छन् । मध्यविन्दु–२ पतबारीका किसान केशव घिमिरेले यस वर्ष समयमै धानको बीउ पाउनाले आफूहरुले दुःख नपाएको बताउनुभयो ।

अघिल्ला वर्षहरुमा बीउ पाउनै मुस्किल हुने गरेको भन्दै धानको बीउ जसरी नै रासायनिक मलसमेत सहजरूपमा पाउन सके उत्पादनमा वृद्धि हुने घिमिरेको भनाइ छ ।रासस