मुख्य खबर

बैंकिङ क्षेत्र चम्किँदा सेयर बजारले बनायो ऐतिहासिक रेकर्ड,यी ८ कम्पनीका लगानीकर्ताको भयो चाँदी कटाई

  • आर्थिक प्लस संवाददाता

    २०७८ जेष्ठ २० गते, बिहीबार १५:५० मा प्रकाशित

काठमाडौं ।  बैंकिङ क्षेत्र चम्किँदा सेयर बजारले ऐतिहासिक रेकर्ड बनाएको छ । हिजो एकैदिन करिब ५६ अंकले बढेको बजार आज पनि दोहोरो अंकले बढ्दै इतिहासकै सर्वाधिक विन्दुको नयाँ रेकर्ड बनाएको हो ।

नेप्सेले २८५६ विन्दु चुम्दै सर्वाधिक उच्च विन्दुको रेकर्ड बनाएको हो । नेप्से २८५० विन्दु माथि पुगेको इतिहासमै पहिलो पटक हो । यसअघि जेठ १६ गते नेप्से सर्वाधिक १८२७.९३ विन्दु पुगेको थियो ।

सूचकसँगै आज कारोबार रकममा पनि उच्च वृद्धि भएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम झन्डै साढे पौने ६ अर्बले बढेर करिब १६ अर्ब ९० अर्बको कारोबार भएको छ । यो इतिहासकै दोस्रो धेरै कारोबार रकम हो ।

आज सेयर बजार मापक सूचक नेप्से २९.६४ अंकले बढेर २८५६.७७ विन्दुमा पुगेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज २१८ कम्पनीको १६ अर्ब ९० करोड ७० लाख २० हजार २८६ रुपैयाँ बराबरको ३ करोड ४६ लाख ९१ हजार ३१२ कित्ता सेयर किनबेच भएका छन् ।

आज कारोबारमा आएका १३ वटा समूहमध्ये ९ समूहको परिसूचकमा हरियाली छाएको छ भने ४ समूहको परिसूचक राताम्मे भएका छन् । विकास बैंक समूहको परिसूचक सबैभन्दा धेरै१४५.१६ अंकले बढेको छ भने निर्जीवन बीमा समूह ११२.६८ अंकले घटेको छ ।

आज कारोबारमा आएका २१८ कम्पनीमध्ये १२४ कम्पनीको सेयर मूल्य बढेको छ भने ९१ कम्पनीको मूल्यमा गिरावट आएको छ । ३ कम्पनीको मूल्य स्थिर रहेको छ ।

आज नेपाल पुनर्बीमा कम्पनीको सर्वाधिक कारोबार भएको छ । यसको १ अर्ब २ करोड रुपैयाँ बढीको कारोबार भएको छ । कारोबार रकमकै आधारमा छिमेक लघुवित्त ६८ करोड र लुम्बिनी विकास बैंक ३५ करोडको कारोबार सहित शीर्ष तीन स्थानमा रहे ।

उच्च अंकले बढेको बजारमा आज ३ कम्पनीको सेयर मूल्य पोजेटिभ सर्किट लागेको छ । मञ्जुश्री फाइनान्स र महिला लघुवित्तको सेयर मूल्य ठ्याक्कै १० प्रतिशत बढेको छ ।

यस्तै, गोर्खा फाइनान्स र गुडविल फाइनान्सको सेयर मूल्य पनि करिब १० प्रतिशतले बढेको छ । साइन रेसुंगा डेभलपमेन्ट बैंक, लक्ष्मी बैंक, सप्तकोशी विकास बैंक र सिटिजन्स बैंक्को सेयर मूल्य ७ प्रतिशतभन्दा धेरैले बढेको छ ।

बढ्दो बजारमा आज पञ्चकन्यामाइ हाइड्रोपावरका लगानीकर्ताले सबैभन्दा धेरै ५.९२ प्रतिशत गुमाएका छन् ।