मुख्य खबर

कर्जा विस्तारको गति तिब्र हुँदा ११ बैंकको सीसीडी ८०% नाघ्यो, कुन बैंकको कति ? हेर्नुहोस् सूची

  • आर्थिक प्लस संवाददाता

    २०७८ असार ७ गते, सोमबार १२:१० मा प्रकाशित

काठमाडौं । कोरोना र निषेधाज्ञाका बीच बैंकहरुले चालू आर्थिक वर्षमा आक्रमक रुपमा व्यापार विस्तार गरेका छन् । पछिल्लो डेढ महिना यता निक्षेप संकलन तथा कर्जा लगानीमा केही सुस्त देखिए पनि बैंकहरुले त्यसअघि उल्लेख्य रुपमा व्यापार बढाएका हुन् ।

नेपाल बैंकर्स संघका अनुसार वाणिज्य बैंकहरुले चालू आवको ११ महिना (साउन–जेठ मसान्तसम्म) मात्रै ५ खर्ब १ अर्ब निक्षेप संकलन गरी ७ खर्ब ४० अर्ब कर्जा लगानी गरेका छन् । चालू आवमा बैंकहरुले निक्षेप संकलनभन्दा करिब २ खर्ब ३९ अर्ब बढी ऋण लगानी गरेका छन् ।

संघका अनुसार जेठ मसान्तसम्ममा बैंकहरुले कुल ३९ खर्ब ९१ अर्ब निक्षेप संकलन गरी ३६ खर्ब ४६ अर्ब कर्जा लगानी गरेका छन् । पछिल्लो १ वर्ष बैंकिङ प्रणालीमा पर्याप्त तरलता (लगानी योग्य रकम) हुँदा बैंकहरुले उल्लेख्य मात्रमा कर्जा लगानी गर्न सफल भएका हुन् ।

यद्यपि, हाल भने बैंकिङ प्रणालीका तरलता खुम्चिँदै गएको छ । चालू आवको शुरुवाती महिनामा झन्डै २ खर्बसम्म तरलता रहेको जेठ मसान्तसम्म आइपुग्दा करिब २० अर्बमा (बैंकहरुले एसएलएफ सुविधामार्फत लिएको सहित) सीमित रहेको राष्ट्र बैंकले जनाएको छ ।

सरकारले धमाधम आन्तरिक ऋण उठाउन थालेपछि बैंकिङ प्रणालीमा तरलता खुम्चिँदै गएको जनाइएका छ । तरलता खुम्चिँदै गएपछि पछिल्लो समय अन्तर बैंक सापटी ब्याजदर समेत बढेर करिब साढे ४ प्रतिशत पुगेको छ ।

११ बैंकको सीसीडी अनुपात ८० प्रतिशत नाघ्यो

चालू आवमा (निषेधाज्ञाको अवधि बाहेक) आक्रमक रुपमा कर्जा विस्तार गरेका बैंकहरुको कर्जा निक्षेप तथा पूँजी (सीसीडी) अनुपात औसतमा ७ प्रतिशतले बढेको छ । गत असार मसान्तसम्म औसतमा ७२ प्रतिशत हाराहारीमा रहेको सीसीडी अनुपात चालू वर्षको जेठमा आइपुग्दा बढेर औसतमा ७९ प्रतिशत पुगेको छ ।

नेपाल बैंकर्स संघका अनुसार जेठ मसान्तसम्म ११ बैंकको सीसीडी अनुपात औसतभन्दा माथि पुगेको छ । जसमा ४ वटा बैंकको ८३ प्रतिशत माथि छ । । यस्तै, १६ वटा बैंकको सीसीडी औसतभन्दा माथि पुगेको छ भने ११ बैंकको सीसीडी अनुपात औसतभन्दा कम रहेको छ ।

कोभिड–१९ को प्रभावपछि राष्ट्र बैंकले बैंकहरुलाई ८५ प्रतिशत सीसीडी अनुपात कायमा गर्नु पर्ने व्यवस्था गरेको छ । यसअघि यस्तो अनुपात बढीमा ८० प्रतिशत हुनुपर्ने व्यवस्था थियो ।

केही बैंकको सीसीडी अनुपात नेपाल राष्ट्र बैंकले तोकेको सीमा नजिक पुग्न लागेको छ । ती बैंकहरुलाई अब थप कर्जा विस्तार गर्न समस्या हुने देखिन्छ ।

जेठ मसान्तसम्ममा एनआइसी एशिया, सानिमा, मेगा र माछापुच्छ्रे बैंकको सीसीडी ८३ प्रतिशतभन्दा माथि पुगेको छ । अब यी बैंकहरुको कर्जा विस्तार सीमा न्यून हुन पुगेको छ । आगामी दिनमा यी बैंकले आक्रमक व्यापार विस्तार गर्नसक्ने ठाउँ कम देखिन्छ । यद्यपि, बैंकहरुले ऋणपत्र जारी गरी कर्जा विस्तारको दायार भने बढाउन सक्नेछन् ।

जेठसम्ममा सबैभन्दा धेरै सीसीडी अनुपात एनआइसी एशिया बैंकको रहेको छ । पछिल्लो समय आक्रमक रुपमा व्यापार विस्तारमा लागेको एनआइसीको सीसीडी ८३.९७ प्रतिशत पुगेको छ । यो राष्ट्र बैंकले तोकेको सीमाभन्दा १ प्रतिशत मात्र कम हो । यसले आगामी दिनमा बैंकले थप कर्जा विस्तार गर्न सक्ने सीमा न्यून रहेको जनाउँदछ ।

जेठसम्ममा एनआइसीले ३ खर्ब ४ अर्ब रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब ६७ अर्ब ऋण लगानी गरेको छ । यो वाणिज्य बैंकहरुमध्ये सबैभन्दा धेरै हो ।

सीसीडी अनुपात उच्च हुनेको दोस्रो स्थानमा सानिमा बैंक रहेको छ । जेठसम्म १ खर्ब ३२ अर्ब निक्षेप संकलन गरी १ खर्ब २२ अर्ब कर्जा लगानी गरेको सानिमाको सीसीडी ८३.४५ प्रतिशत रहेको छ । यस्तै, पछिल्लो समय आक्रमक कर्जा विस्तार गरेका मेगा र माछापुच्छ्रे बैंकको सीसीडी अनुपात क्रमशः ८३.३१ र ८३.१९ प्रतिशत रहेको छ ।

जेठसम्ममा सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकको सीसीडी अनुपात सबैभन्दा कम ६९ प्रतिशत मात्र रहेको छ । सो अवधिसम्म २ खर्ब ५० अर्ब निक्षेप संकलन गरी १ खर्ब ८६ अर्ब कर्जा लगानी गरेको छ । सीसीडी अनुपात राष्ट्र बैंकले तोकेको सीमाभन्दा अझै १६ प्रतिशत कम रहेकोले राष्ट्रिय वाणिज्य बैंकको अझै प्रशस्त मात्रमा कर्जा विस्तार गर्न सक्ने ठाउँ रहेको छ ।

यस्तै, एभरेष्ट, नेपाल एसबीआई, नेपाल बंगलादेश र नेपाल बैंकको पनि सीसीडी अनुपात ७५ प्रतिशभन्दा कम रहेको छ । यी बैंकको पनि कर्जा विस्तार गर्नसक्ने सीमा प्रशस्त रहेको देखिन्छ ।