मुख्य खबर

डरलाग्दो ढंगले सेयरमा लगानी गर्दै बैंकहरू, अहिले सम्ममा गरे १ खर्ब लगानी

  • आर्थिक प्लस संवाददाता

    २०७८ असार ७ गते, सोमबार १८:५३ मा प्रकाशित

काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरु सेयर कर्जा विस्तारमा आक्रमक बनेका छन् । पछिल्लो १ वर्षको अवधिमा बैंक तथा वित्तीय संस्थाले सेयर कर्जा दोब्बरले वृद्धि गरेका हुन् ।

गत साउन यता सेयर बजार झन्डै अढाई गुणाले बढ्दा सेयर कर्जा पनि दोब्बरले बढेको हो । नेपाल राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको वैशाख मसान्तसम्म बैंक तथा वित्तीय संस्थाहरुले सेयर धितोमा ९४ अर्ब ३४ करोड रूपैयाँ कर्जा लगानी गरेका छन् ।

यो गत आर्थिक वर्ष २०७६/७७ को सोही अवधिको तुलनाममा ९९.१८ प्रतिशत प्रतिशत बढी हो । बैंक तथा वित्तीय संस्थाले गत आर्थिक वर्षको वैशाख मसान्तसम्म जम्मा ४७ अर्ब ३६ करोडलाख रुपैयाँ सेयर कर्जा लगानी गरेका थिए ।

चालू आर्थिक वर्षको १० महिनामा बैंक तथा वित्तीय संस्थाको कुल कर्जा करिब साढे २४ प्रतिशतले बढ्दा सेयर कर्जा भने शतप्रतिशतले बढेको छ । बैंक तथा वित्तीय संस्थाले चालू आवको १० महिनामा मात्रै थप ४६ अर्ब ९७ करोड रुपैयाँ करोड सेयर कर्जा लगानी गरेको राष्ट्र बैंकले जनाएको छ ।

गत असार सम्ममा बैंकहरुले ५० अर्ब ४० करोड ९७ लाख रुपैयाँ सेयर कर्जा लागनी गरेका थिए । १० महिनामै त्यस्तो कर्जा लगानी ८७ प्रतिशतले वृद्धि भई ९४ अर्ब ३४ करोड रुपैयाँ पुगेको छ ।

सेयर कर्जा लिनेमा ठूला लगानीकर्ताको वर्चश्व

सेयर कर्जा लिनेमा ठूला लगानीकर्ताको वर्चश्व देखिएको छ । १० महिनाको अवधिमा लगानी भएको कुल कर्जामध्ये ६८ प्रतिशत १ करोडभन्दा माथिको दरले लगानी भएको राष्ट्र बैंकले जनाएको छ । कुल ९४ अर्ब कर्जा लगानी हुँदा ६४ अर्ब रुपैयाँ १ करोडभन्दा माथिको कर्जा लगानी भएको छ ।

यस्तै, ११ अर्ब ५३ करोड रुपैयाँ १ करोडभन्दा मुनि ५० लाखससम्मका दरले लगानी भएको छ । २५ लाखदेखि ५० लाखका दरले १२ अर्ब १३ करोड लगानी भएको छ ।

सेयर कर्जा लिनेमा साना लगानीकर्ता न्यून रहेको राष्ट्र बैंकको तथ्यांक्ले देखाएको छ । १० महिनाको अवधिमा लगानी भएको कुल कर्जाको जम्मा ७ प्रतिशत अर्थात् ६ अर्ब ६७ करोड मात्र २५ लाखभन्दा कमले लगानी भएको छ ।

यस कारण बढाए बैंकहरुले सेयर कर्जामा लगानी ?

सेयर कर्जा बढ्नुको मुख्य कारण बैंकिङ प्रणालीमा अधिक तरलता र ब्याजदर सस्तो हुनु नै हो । कोरोनाका कारण समग्र अर्थतन्त्र प्रभावित हुँदा अन्य क्षेत्रमा अपेक्षित कर्जा प्रवाह हुन नसकेपछि बैंक तथा वित्तीय संस्थाहरुले सेयरमा कर्जा लगानी बढाएका हुन् । यद्यपि, बैंकहरुले राष्ट्र बैंकले तोकेको सीमा भित्रै रहेर कर्जा लगानी गरेका छन् ।

चालू सेयर बजारले गति लिँदै जाँदा लगानीकर्ता उत्साहित भई लगानी बढाउन बैंक तथा वित्तीय संस्थाबाट ऋण लिई लगानी गर्ने प्रवृत्ति बढेसँगै सेयर कर्जा उल्लेख्य वृद्धि भएको हो ।

यस्तै, पछिल्लो १ वर्ष यता बैकिङ प्रणालीमा अधिक तरलता छ । जसले बैंकको ब्याजदर निकै सस्तो भएको छ । गत वर्ष १२ प्रतिशतसम्म रहेको बैंकहरुको ब्याजदर अहिले ८ प्रतिशत हाराहारीमा झरेको छ । जसले गर्दा सस्तो ब्याजमा ऋण लिएर सेयरमा लगानी गर्नेको संख्या बढेको हो ।

बैंकहरुले पनि अन्य क्षेत्रमा कर्जा प्रवाह हुन नसकेपछि विभिन्न आकर्षक अफर ल्याएर सेयरमा कर्जा लगानी बढाउन थालेका छन् । सस्तो ब्याजदरमा सहजै कर्जा पाइने अवस्था सृजना भएपछि पछिल्लो समय सेयर कर्जा रकम र ऋण लिनेको संख्या समेत बढ्दै गएको छ ।

अहिले बैंक तथा वित्तीय संस्थाले करिब ७ देखि ९ प्रतिशतमा ब्याजदरमै सेयर कर्जा दिँदै आएका छन् । जबकी गत वर्ष बैंकहरुले सेयर कर्जामा १३ देखि १५ प्रतिशतसम्म ब्याज लिने गरेका थिए ।

यस्तै, नीतगत व्यवस्थामा आएको सुधारले पनि सेयर कर्जा लगानी बढेको हो । राष्ट्र बैंकले चालू आवको मौद्रिक नीतिमार्फत सेयर धितो कर्जाको सीमा बढाएको थियो । जसको प्रभाव कर्जा विस्तारमा देखिएको छ ।