मुख्य खबर

यी हुन् बाढीले बगाएका डेढ दर्जन हाइड्रोपावर,हाइड्रोको दश अर्ब बाढीले बगायो

  • आर्थिक प्लस संवाददाता

    २०७८ असार ७ गते, सोमबार १९:०७ मा प्रकाशित

बाढीपहिरोको कारण सानाठूला गरी करिब डेढ दर्जन जलविद्युत् आयोजनामा क्षति पुगेको छ । एकसाता देखि परेको अबिरल वर्षापछि आएको बाढीले देशभरका डेढ दर्जन हाइड्रोपावरमा क्षति पुगेको हो ।

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान)का अनुसार मुख्य गरी बाग्मती र गण्डकी प्रदेशमा संचालित निर्माणाधीन जलविद्युत् आयोजनामा बढी क्षति पुगेको छ ।

बाढीका कारण दोर्दी करिडोर, मादी करिडोर, मर्स्याङ्दी, कालीगण्डकीका आयोजनामा सबैभन्दा धेरै नोक्सानी भएको छ । दोर्दी करिडोरका दोर्दी खोला, सुपर दोर्दी, अपर दोर्दीसहित ५ वटै विद्युत् आयोजना, सिक्लेस हाइड्रोपावर, हिमालयन हाइड्रोमा क्षति पुगेको छ ।

यस्तै, मादी करिडोरका मादी, सुपर मादी, अपर मादी जलविद्युत् आयोजनामा पनि क्षति पुगेको छ । यस्तै, रसुवामा निर्माण भइरहेको रसुवागढी, सिन्धुपाल्चोकको नेशनल हाइड्रोपावर, इन्द्रावती तेस्रो लगायत अन्य आयोजनामा पनि बाढीले क्षति पुर्याएको छ ।

यस्तै, बाढीका कारण केही प्रसारण लाइनसमा समेत क्षति पुर्याएको छ । निर्माणाधीन दोर्दी करिडोर १३२ केभी प्रसारण लाइन अन्तर्गत लमजुङमा ४ वटा टावर बगाएको छ भने अन्य टाउँका केही टावरमा पनि क्षति पुगेको छ ।

१० अर्ब बढीको नोक्सानी, सुपर मादीमा मात्रै १ अर्ब बढी

बाढीका कारण जलविद्युत् आयोजनामा १० अर्ब बढीको नोक्सानी पुर्याएको प्रारम्भिक अनुमान गरिएको छ । क्षति पुगेका आयोजनामा ठ्याक्कै कतिको नोक्सानी भयो भन्ने यकिन तथ्यांक नआए पनि १० अर्ब बढीको नोक्सानी भएको इप्पानले जनाएको छ ।

केही आयोजनाको क्षतिको प्रारम्भिक मूल्यांकन शुरु गरिए पनि केही आयोजनामा भने अझै बाढी आइरहेकाले क्षतिको विवरण संकलन शुरु नै गर्न सकिएको छैन ।

कास्कीमा निर्माणाधीन अवस्थामा रहेको ४४ मेगावाट क्षमताको सुपर मादी जलविद्युत् आयोजनामा सबैभन्दा ठूलो क्षति पुगेको छ । सुपर मादी हाइड्रोपावरका अध्यक्ष पुष्पज्योति ढुङ्गानाका अनुसार बाढीका कारण झण्डै १ अर्ब बराबरको नोक्सानी भएको छ ।

इलेक्ट्रो मेकानिकलतर्फ ३० करोड, हाइड्रो मेकानिकल १२ देखि १५ करोड, सिभिल कन्ट्रयाक्टरको निर्माण सामग्री, डन्डी, फलामसहित २० करोड, प्लान्ट र उपकरणमा २० करोड र सिभिल संरचनामा २० करोड गरी १ अर्ब हाराहारीमा क्षति भएको उनले बताए ।

उनका अनुसार मादी नदीमा आएको बाढीले निर्माणाधीन आयोजनाको हेडबक्स, पावरहाउस, कामदार आवास एरियालगायत स्थानमा ठूलो क्षति पुर्याएको छ ।

यस्तै लोडर, एक्साभेटर, पेनस्टक पाइप, कर्सर प्लान्ट, आरएमसी प्लान्ट, हेभी जेनेरेटरलगायत पावरहाउस क्षेत्रबाट निर्माण सामग्रीसमेत बगाएको छ ।

बाढीका कारण दोर्दी करिडोरमा निर्माणमा रहेका आयोजनामध्ये केहीमा सामान्य क्षति पुर्याएको छ । बाढीका कारण दोर्दी करिडोरमा निर्माणाधीन अवस्थामा रहेका आयोजना क्षति पुगेको छ ।

यसो गरे जोगाउन सकिन्छ

यस्तो विषम अवस्थामा हाम्रा भौतिक पूर्वाधार निर्माणमा कुन विषयलाई बढी ध्यान दिनुपर्ला त भन्ने जिज्ञासामा नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी एनइए इन्जिनीयरिङका प्रबन्ध सञ्चालक माधव कोइराला भन्छन्, “हामीले विशेषगरी खोलाको अवस्थालाई ख्याल गरेर मात्रै निर्माणका काम अगाडि बढाउनुपर्छ ।” उनका अनुसार हामीले कस्तो संरचना बनाउँदैछौँ, त्यहाँको भूगोल कस्तो छ भन्ने जस्ता विषयमा मिहीन अध्ययनको जरुरी देखिएको छ ।

यस्तै सुरक्षाका उपाय के कति मात्रामा अवलम्बन गरेका छौँ वा जोखिम न्यून गर्ने मापदण्डलाई के कसरी आत्मसात् गरेका छौँ भन्ने विषय पनि यसमा जोडिएर आएको प्रबन्ध सञ्चालक कोइरालाको भनाइ छ ।

भइहाल्छ वा चलिहाल्छ नि भन्ने मान्यताले कतिपय विकास निर्माणका काममा गुणस्तरलाई ख्याल नगर्ने प्रवृत्ति पनि उत्तिकै छ । सही डिजाइन भयो वा भएन, डिजाइनअनुसारका संरचना तयार भए वा भएनन् भन्ने कुरालाई विशेष ख्याल गर्नुपर्ने र सोही अनुसारका संरचना बनाउन लागिपर्नुपर्ने कोइरालाको भनाइ छ ।

चिलिमे जलविद्युत् आयोजनादेखि नेपाल चीन सीमा क्षेत्र नजीक निर्माण भइरहेको १११ मेगावाट क्षमताको रसुवागढी आयोजनाको समेत प्रमुख भएर काम गरिसकेका कोइरालाको विचारमा “सही स्थानमा सही संरचना (राइट प्लेस, राइट स्ट्रकचर)” हुनु आवश्यक छ ।

परियोजनाको छनोटदेखि नै भौगर्भिक रुपमा जोखिमम छन् वा छैनन् विषयमा राम्रो खोज आवश्यक रहेको पछिल्ला दिनमा देखिएको बाढीपहिराले देखाएको कोइरालाको बुझाइ छ ।

उनी भन्छन्, “हामीले अब इन्जिनीयरिङलाई पनि सोही अनुसार अगाडि बढाउनुपर्ने देखिन्छ, सही डिजाइन र मापदण्डको पूर्ण कार्यान्वयन जरुरी देखिन्छ ।” एनइए इन्जिनीयरिङ कम्पनीले गरिरहेका कामलाई समेत अब थप गुणस्तरीय र प्रभावकारी बनाउने तथा जोखिम कम गर्नेतर्फ ध्यान दिने उनको भनाइ छ ।

ठूला प्राकृतिक विपत्तिलाई रोक्न नसकिए पनि क्षति कम गर्नेतर्फ सोच्नु जरुरी छ । किनकि, नेपालको विकास निर्माण प्रक्रियामा सुरक्षाका उपाय अवलम्बन नगर्ने प्रवृत्ति पनि उत्तिकै छ । पूर्वसावधानी अपनाउन सकिए क्षतिलाई घटाएर भौतिक संरचनाको सुरक्षा गर्न सकिने प्रबन्ध सञ्चालक कोइरालाको भनाइ छ ।

ठूला भौतिक पूर्वाधार निर्माण गर्दा सामान्यता दशौँ वर्षको मौसमी विवरण आवश्यक पर्दछ । त्यसमा अध्ययन गरिन्छ । त्यसमा पनि अर्थतन्त्रको प्रमुख आधारका रुपमा रहेको ऊर्जा क्षेत्रका परियोजना निर्माण गर्दा झनै मिहीन अध्ययनको जरुरी देखिन्छ ।