मुख्य खबर

१० महिनामै ५८ अर्ब उठ्यो घरजग्गाको राजस्व, १३ लाख जग्गा कित्ता काट

  • आर्थिक प्लस संवाददाता

    २०७८ श्रावण ३ गते, आईतवार ११:०१ मा प्रकाशित

काठमाडौं ।  कोरोना महामारीले आर्थिक कारोबार प्रभावित पारेको वर्ष भए पनि घरजग्गा किनबेच अस्वाभाविकरूपमा बढेको छ। भूमि व्यवस्थापन तथा अभिलेख विभागको तथ्यांकमा यस्तो देखिएको हो।

घरजग्गा किनबेचबापत सरकारले पाउने राजस्व १० महिनामै ५८ अर्ब रुपैयाँ पुगेको छ। जुन अघिल्लो आर्थिक वर्षमाको तुलनामा १०६ प्रतिशत बढी हो।

अघिल्लो आर्थिक वर्षमा देशभरबाट २८ अर्ब रुपैयाँ मात्रै राजस्व संकलन भएको थियो।

कोभिड महामारी र अर्थतन्त्रमा आएको संकुचनले राजस्वका अन्य लक्ष्य प्रभावित हुँदा पनि घरजग्गा कारोबारबाट भने लक्ष्यको दोब्बर बढी राजस्व संकलन भएको हो।

कोभिड महामारीका कारण १० महिना मात्रै खुलेका मालपोतले आधा समयमा पनि अघिल्लो वर्षको तुलनामा दोब्बर बढी राजस्व संकलन गरेको विभागको भनाई छ।

भूमि व्यवस्थापन तथा अभिलेख विभागले गत आर्थिक वर्षमा १० महिनामै ५७ अर्ब ६८ करोड रुपैयाँ राजस्व संकलन गरेको छ। अघिल्लो आर्थिक वर्षमा भने २८ अर्ब ३ करोड रुपैयाँ मात्रै राजस्व संकलन भएको थियो।

विभागको उक्त राजस्वमा बागमती प्रदेशको मात्रै करिब ५० प्रतिशत योगदान छ। महंगा घरजग्गाको किनबेच हुने बागमतीमा गत आर्थिक वर्षभरी करिब २८ अर्ब रुपैयाँ राजस्व संकलन भएको विभागले जनाएको छ।

सबैभन्दा कम कर्णाली प्रदेशमा मात्र एक अर्ब रुपैयाँ भन्दा कम मात्रै राजस्व संकलन भएको छ। बाँकी सबै प्रदेशमा डेढ अर्बदेखि ५ अर्बसम्म राजस्व संकलन भएको छ।

प्रदेश १ मा पाँच अर्ब ३४ करोड, प्रदेश २ मा चार अर्ब ८० करोड, वागमतीमा २७ अर्ब ८४ करोड, गण्डकीमा तीन अर्ब ७ करोड, लुम्बिनीमा चार अर्ब ९ करोड, कर्णालीमा ४५ करोड र सुदूरपश्चिम प्रदेशमा एक अर्ब ५३ करोड रुपैयाँ बढी राजस्व संकलन भएको विभागले जनाएको छ।

एउटै कार्यालयको पाँच अर्ब सम्म राजस्व

सबैभन्दा धेरै राजस्व संकलन गर्ने कार्यालयले गत वर्ष पाँच अर्ब रुपैयाँभन्दा बढी राजस्व संकलन गरेका छन्। मालपोत कार्यालयल ललितपुरले पाँच अर्ब ३० करोड रुपैयाँ राजस्व संकलन गर्दै आफूलाई एक नम्बरमा उभ्याएको छ।

दोस्रोमा डिल्लीबजार मालपोतले चार अर्ब ९ करोड, कलंकीले तीन अर्ब ४५ करोड, भक्तपुरको तीन अर्ब १४ करोड र चाबहिलको तीन अर्ब १३ करोड रुपैयाँ राजस्व संकलन गरेका छन्।

उपत्यकाका बाँकी रहेका साँखु, मनमैजु र टोखाले पनि १/१ अर्ब बढी राजस्व संकलन गरेका छन्।

उपत्यका बाहिर भने पोखरा र चितवनले समान डेढ अर्ब राजस्व संकलन गर्दा विराटनगर. सुनसरी, काभ्रे र पर्सा मालपोतले पनि १/१ अर्ब रुपैयाँभन्दा बढी राजस्व संकलन गरेका छन्।

निषेधाज्ञा नभएको भए पौने एक खर्ब राजस्व
कोभिड महामारीका कारण २ महिनाभन्दा बढी समयसम्म कार्यालय बन्द हुँदा करिब १५/२० अर्ब राजस्व कम संकलन भएको विभागका महानिर्देशक शेषनारायण पौडेलले बताए।

‘१२ महिना नै कार्यालय खुलेको भए कम्तिमा पनि १५ देखि २० अर्बसम्म थप राजस्व संकलन हुन सक्थ्यो,’ उनले भने। यो भएको भए विभागले गतवर्ष पौने एक खर्ब रुपैयाँ राजस्व संकलन गर्न सक्ने पौडेलको अनुमान छ।

सबै कार्यालय अनलाइन प्रणालीमा गएको र जग्गा किनबेच गर्दा लाग्ने करका दरहरु पनि सफ्टवेयरबाटै निर्धारण हुने भएकाले कर छली हुन नपाएर सत प्रतिशत बढी राजस्व संकलन भएको पौडेलको दाबी छ।

साढे ६ लाख घरजग्गा किनबेच,

गत आर्थिक वर्षमा देशभरबाट ६ लाख २२ हजार भन्दा धेरै घरजग्गा किनबेच भएका छन्। यी मध्ये सबैभन्दा धेरै सुनसरीमा २८ हजार र बेलबारी मोरङमा २६ हजार घरजग्गा किनबेच भएका छन्। भक्तपुर र ललितपुरमा १७/१७ हजार, जनकपुरमा २१ हजार, भद्रपुर (झापा)मा २२ हजार घरजग्गा किनबेच भएका छन्।

नेपालगञ्जमा २० हजार, दाङको तुलसीपुर, चितवन, जलेश्वर, दमक र घोराहीमा १२/१२ हजार, कपिलवस्तु, कैलाली, सर्लाही र रुपन्देहीमा ११/११ हजार, पर्सा, सिरहा र राजविराजमा १०/१० हजार, बारा र काभ्रेमा १३/१३ हजार, कलंकी, विराटनगर र मकवानपुरमा १४/१४ हजार घरजग्गा किनबेच भएका छन्।

गतवर्ष ५ लाख ५० हजार घरजग्गा रोक्का राख्दा तीन लाख २० हजार घरजग्गा फुकुवासमेत भएका छन्। त्यस्तै ४ हजार २७५ जना मोहीको लगत कट्टा गरिएको छ।

१३ लाख कित्ता काट

गत वर्ष देशभर १३ लाख कित्ता टुक्रा जग्गा थपिएका छन्। यो तथ्यांक अघिल्लो वर्षको तुलनामा ३० प्रतिशत बढी हो। अघिल्लो आर्थिक वर्षमा करिब १० लाख कित्ताकाट भएका थिए।

सबैभन्दा धेरै पूर्वमा बेलबारी र सुनसरीमा ५० हजार भन्दा धेरै कित्ता काट भएका छन्।

बेलबारी मोरङमा ५५ हजार, इनरुवा सुनसरीमा ५३ हजार र भद्रपुर झापामा ४६ हजार कित्ताकाट भएका छन्। नेपालगञ्जमा ४० हजार, धनगढीमा ३४ हजार र लगनखेलमा ३३ हजार बढी कित्ताकाट भएका छन्।

दमक (झापा), महोत्तरी, पर्सा र विराटनगरमा २२/२२ हजार, सर्लाही र रुपन्देहीमा २१/२१ हजार, काभ्रे, चितवन र भक्तपुरमा २३/२३ हजार, कलंकी, तुलसीपुर दाङ, सुर्खेत, बुटवल र कपिलवस्तुमा २०/२० हजार, मकवानपुरमा २७ हजार, कलैया (बारा) र दाङमा २५/२५ हजारभन्दा बढी कित्ताकाट भएका छन्।