सबैको रोजाईको बैंक बन्न यी चार बैंकको हानथाप, कसले कसलाई मार्दैछ धाप ?

वि.सं.२०७९ माघ १६ सोमवार ०९:४१

काठमाडौं । पछिल्लो समय वाणिज्य बैंकहरू बीच बजारलाई कसले लिड गर्ने भन्नेमा कडा प्रतिस्पर्धा देखिएको छ । बैंकहरू आफ्नो क्षेत्रको लिडर बन्ने दौडमा रहेका छन् ।
बैंकिङ क्षेत्रकै ठूलो बन्न बैंकहरू बीच मर्जरको लहर नै चलेको छ । जसबाट प्राप्त हुने सिनर्जीबाट आफूलाई बैंकिङ क्षेत्रकै लिडर बनाउन उनीहरू प्रयासरत छन् ।
हाल मुख्य गरी ४ बैंक बैंकिङ लिडर बन्न कडा प्रतिस्पर्धाम उत्रिएका छन् । बिग मर्जरबाट ठूला बनेका ग्लोबल आइएमई, नबिल, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक र चुक्ता पूँजीका आधारमा सानै भए पनि व्यापार व्यवसाय, शाखा विस्तारमा आक्रमक रहेको एनआइसी एशिया बीच लिडर बन्न तीव्र प्रतिस्पर्धा देखिन्छ ।
विगत १ दशक अघिसम्म नेपाली बैंकिङ क्षेत्रका दुई चिर प्रतिद्धन्दी बैंकहरू थिए, नबिल बैंक र नेपाल इन्भेष्टमन्ट बैंक । वासलतका हरेक सूचकहरूमा यी दुई बैंक बीच कडा प्रतिस्पर्धा हुने गथ्र्यो ।
बीचका केही वर्षरुमा केही ठूला ऋण प्रोभिजनिङ गर्नुपरेपछि नेपाल इन्भेष्टमेन्ट बैंक यो प्रतिस्पर्धाबाट बाहिरिएको थियो । तर, हालै मेगा बैंकसँग मर्ज भएर नयाँ बनेको नेपाल इन्भेष्टमेन्ट बैंकले फेरि आफूलाई प्रतिस्पर्धामा उभ्याउने कोशिस गरेको छ ।
नेपाल इन्भेष्टमेन्ट कमजोर भएका बीचका केही वर्ष नबिल बैंकको प्रतिस्पर्धी कोही नभए झैं देखियो । अधिकांश वित्तीय सूचकमा नबिल बैंकले ‘नम्बर १’को ताज पहिरिरह्यो । तर, पछिल्लो ३/४ वर्ष यता नबिललाई टक्कर दिने गरी दुई बैंकको उदय भएको देखिन्छ । ती हुन् आक्रमक व्यवसाय विस्तार नीति अगाल्दै अघि बढेको एनआइसी एशिया र एकपछि अर्को बिग मर्जरपछि प्राप्त सिनर्जीबाट लम्किँदै गरेको ग्लोबल आइएमई बैंक ।
अहिले बैंकङि क्षेत्रमा नम्बर वान बन्ने दौडमा निजी क्षेत्रका मुख्य गरी नबिल बैंक, एनआइसी एशिया, इन्भेष्टमेन्ट मेगा र ग्लोबल आइएमइ बैंक रहेका छन् । वासलतका अधिकांश सूचकमा यी बैंकहरू बीच तीव्र प्रतिस्पर्धा रहेको छ ।
मर्जरको सिनर्जीबाट चम्किँदै
विगतदेखि नै बैंकिङ लिडरको रुपमा रहेको नबिल बैंकले गत वर्ष नेपाल बंगलादेश बैंकलाई गाभेर आफ्नो ताज जोगाउन प्रयासरत रहेको छ । गत वर्ष केही सूचकमा नबिललाई ग्लोबल र एनआइसीले पछि पारे पनि अहिले नबिलले फेरि आफूलाई कमब्याक गर्न सफल भएको छ । मर्जरपछि नबिलले आफ्नो शाख जोगाइ राख्न डिजिटल बैंकिङ र व्यापार रणनीतिमा आक्रमक बनेको छ ।
त्यस्तै, साढे ३ वर्ष अघि जनता बैंकलाई गाभेर बिग मर्जरको सिनर्जी प्राप्त गरेको ग्लोबल आइएमईले हालै बैंक अफ काठमाडौंलाई आफूमा गाभेर बैंकिङ लिडर बन्ने होडमा छ । ग्लोबलले ३ वर्षको अवधिमा २ वटा वाणिज्य बैंक गाभेर चुक्ता पूँजीका आधारमा देशकै सबैभन्दा ठूलो वाणिज्य बैंक बनेको छ ।
ग्लोबल भविष्यमा आफू नै नम्बर बन्ने रणनीतिका साथ अघि बढेको छ । ग्लोबल शाखा सञ्जाल, डिजिटल बैंकिङ, कर्जा विस्तारमा आक्रमक रुपले लागेको छ ।
त्यसैगरी, मेगा र इन्भेष्टमेन्ट बैंक मर्ज भई बनेको इन्भेष्टमेन्ट मेगा बैंकले पनि मर्जरको सिनर्जीबाट आफूलाई प्रतिस्पर्धामा उभ्याएको छ । विरासत र मर्जरको सिनर्जीबाट बैंकिङ क्षेत्रमा आफ्नो दबादबा कायम राख्ने यस बैंकको रणनीति छ ।
भारतको निजी क्षेत्रको सबैभन्दा ठूलो बैंक एचडीएफसी बैंकको व्यवसायिक रणनीतिबाट प्रभावित रहेको एनआइसी एशियाले विगत ३–४ वर्षमा लामो फड्को मारेको छ । एनआइसीले आक्रमक शाखा विस्तारसँगै रिटेल लेन्डिङलाई आफ्नो बलियो हतियार बनाएको छ ।
अहिले देशभर सबैभन्दा बढी शाखा संजाल एनआइसीकै छन् । देशभर करिब ३५० हाराहारीमा शाखा छन् । साथै, डिजिटल बैंकिङमा पनि एनआइसीले उल्लेख्य काम गरेको छ । यही जगमा एनआइसी बैंकिङ लिडर बन्ने होडमा दौडिरहेको छ । यद्यपि, पूँजी कोषको आधारमा एनआइसी अरु ३ बैंकभन्दा निकै सानो छ ।
बैंकिङ लिडर बन्न ४ बैंकको बीचको यो प्रतिस्पर्धा कहिलेसम्म चल्ला र कसले लिड गर्ला त्यो भने भविष्यले नै बताउला ।
कुन सूचकमा को अब्बल ?
लिडर बन्ने दौडमा रहेका ४ बैंक बीच कडा टक्कर देखिन्छ । वासलतमा प्रकाशन हुने मुख्य डेढ दर्जन मुख्य सूचकमा यी बैंक बीच तीव्र प्रतिस्पर्धा देखिन्छ । यहाँ हामीले चालु आवको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरणका आधारमा ४ बैंकको तुलना गरेका छौं ।सेयर लगानीकर्ताहरूले धेरै चासोका साथ हेर्ने मुख्य सूचकहरू जगेडा कोष, खुद नाफा, खुद ब्याज आम्दानी लगायत सूचकमा नबिल बैंक अगाडि रहेको छ । ४ बैंक मध्ये नबिल बैंकको जगेडा कोष सबैभन्दा बलियो रहेको छ । नबिलको जगेडा कोषमा साढे २५ अर्ब संचित छ । त्यस्तो दोस्रो त्रैमासमा ३ अर्ब ४७ करोड नाफा कमाउँदै सबैभन्दा धेरै नाफा कमाउने बैंक बन्न सफल भएको छ ।
चुक्ता पूँजीका आधारमा ग्लोबल सबैभन्दा ठूलो बैंक बनेको छ भने पूँजीकोषको आकारका आधारमा इन्भेष्टमेन्ट मेगा सबैभन्दा अघि छ । ग्लोबलको चुक्ता पूँजी सबैभन्दा धेरै ३५ अर्ब ७७ करोड छ भने इन्भेष्टमेन्ट मेगाको पूँजीकोष २६ अर्ब रुपैयाँ छ ।
त्यस्तै, कर्जा लगानी र निक्षेप संकलनमा ग्लोबल आइएमई बैंक नै अगाडि रहेको छ । पुस मसान्तसम्म ग्लोबलको निक्षेप ४ खर्ब बढी र कर्जा लगानी ३.६३ खर्ब छ । अरु तीनै बैंकको निक्षेप ४ अर्बभन्दा कम छ ।
सेयर लगानीकर्ताहरूले धेरै चासोका साथ हेर्ने मुख्य सूचकहरू वितरण योग्य नाफा, प्रतिसेयर नेटवर्थ, प्रतिसेयर आम्दानीमा एनआइसी एशिया बैंक अगाडि रहेको छ । एनआइसीको वितरणयोग्य नाफा ३ अर्ब ७५ करोड छ । यद्यपि, एनआइसीले विगत २ वर्षदेखि सेयरधनीलाई लाभांश वितरण गरेको छैन ।
प्रतिसेयर आम्दानीमा पनि एनआइसी एशिया बैैंक अघि रहेको छ । , एनआइसीको प्रतिसेयर आम्दानी सबैभन्दा धेरै ५६.६१ रुपैयाँ छ । जबकी नबिलको प्रतिसेयर आम्दानी २५.२६, ग्लोबल र इन्भेष्टमेन्टको १५ रुपैयाँ मात्र छ ।त्यस्तै, प्रतिसेयर नेटवर्थमा एनआइसी एशिया नै अघि छ । एनआइसीको नेटवर्थ २४३.९७ रुपैयाँ छ भने अरुको २०० भन्दा कम छ ।
खराब कर्जाको कुरा गर्दा इन्भेष्टमेन्ट मेगाको सबैभन्दा धेरै ३.७१ प्रतिशत रहेको छ । एनआइसीको ०.६१ प्रतिशत मात्र रहेको भने नबिलको २.९८ र ग्लोबलको २.९२ प्रतिशत रहेको छ ।त्यस्तै, आधारदर भने नबिल बैंकको सस्तो रहेको छ । नबिलको आधारदर १०.१० प्रतिशत मात्र रहेको छ भने ग्लोबलको एनआइसीको ११.०२, ग्लोबलको १०.५० र इन्भेष्टमेन्टको १०.८० प्रतिशत रहेको छ ।
यसरी वासलतका सूचकका आधारमा हेर्दा पछिल्लो समय ग्लोबल, नबिल, इन्भेष्टमेन्ट मेगा र एनआइसी बीच कडा प्रतिस्पर्धी देखिन्छ । यी ४ बैंकहरू बीचको रोचक प्रतिस्पर्धा भने अबको भविष्यमा देख्न पाइने नै छ ।