सफ्टवेयर कम्पनी इन्फोडेभलपर्स र ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेडबीच साझेदारी
Friday Jan 12, 2024
वि.सं.२०८० पुस २७ शुक्रवार १९:३५
काठमाडौं । सहकारी संस्थालाई सफ्टवेयर लगायत डिजिटल सेवा सुविधा प्रदान गर्दै आइरहेको इन्फोडेभलपर्स प्रा. लि. र ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेडबीच कोर बैकिङ्ग प्रणाली इन्फिनिटी प्रयोग गर्ने समझदारी भएको छ ।
लगनखेलस्थित संघको कार्यालयमा इन्फोडेभलपर्सका तर्फबाट सेल्स म्यानेजर अनिश कुमार झा र ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेडका कोषाध्यक्ष बसन्त मालीले समझदारी पत्रमा हस्ताक्षर गरेका हुन् । सहकारी क्षेत्रलाई प्रविधिमैत्री बनाउनका साथै स्वनियम र सुशासन कायम राख्न सहयोग पुर्याउँदै आएको उत्कृष्ट सफ्टवेयर कम्पनीसँग साझेदार हुन पाएकोमा ललितपुर जिल्ला संघका कोषाध्यक्ष बसन्त मालीले खुसी जनाएका छन् ।
यसैगरी ललितपुर जिल्ला संघका व्यवस्थापक सन्तोष बजगाईँ र सहायक व्यवस्थापक भिम खड्काले यस साझेदारीले ललितपुरका सहकारीलाई डिजिटाइज एवं स्वचालित बनाउने बताए । इन्फोडेभलपर्सका सेल्स म्यानेजर अनिश कुमार झाले सहकारी क्षेत्रको स्वामित्व, विकास र उत्कृष्टताका लागि यो साझेदारी कोषेढुङ्गा सावित हुने आशा व्यक्त गरे । साथै आगामी दिनमा अन्य जिल्ला सहकारी संघहरुसँग समेत सहकार्य गर्दै जाने उनले बताए ।