सम्झौता पश्चात् हरायो अपि पावर, हरित हाईड्रोजन उत्पादन परियोजना अल्पत्र
Thursday Jan 25, 2024
वि.सं.२०८० माघ ११ बिहीवार १४:२०
सरकारले यसै साता हरित हाइड्रोजन नीति पारित गर्यो । यो नीति पारित गरेसँगै ग्रिन हाइड्रोजन अर्थात हरित हाइड्रोजनका लागि नेपालमा सम्भावनाको ढोका खुलेको छ ।
तर, हरित हाइड्रोजन उत्पादन गर्न भारतीय कम्पनी ग्रिनजो इनर्जी प्राइभेट लिमिटेडसँग २०७९ साउन १ गते सम्झौता (एमओयू) गरेको अपी पावर कम्पनी लिमिटेड अहिले हराएको छ ।
यो कम्पनीले हरित हाइड्रोजन उत्पादन गर्नकै लागि शेयर निष्कासन गरेर नागरिकबाट रकम उठाएको पनि थियो । तर, सरकारले नीतिसमेत पारित गरिसक्दा अपी पावर हाइड्रोजन उत्पादनका लागि तदारुकता देखाउन चाहदैन ।
हरित हाइड्रोजन उत्पादनका लागि के भएको थियो सम्झौता ?
अपि पावर कम्पनी लिमिटेड र हरित हाइड्रोजनमा काम गर्दै आएको भारतको ग्रिनजो इनर्जी मिलेर नेपालमा ५० मेगावाटको आयोजनामार्फत हरित हाइड्रोजन उत्पादन गर्ने सम्झौता भएको थियो । जसमा १००० करोड लगानी रहने कुरा उल्लेख छ ।
सुरुमा १ मेगावाटको पाइलट आयोजनाबाट काम सुरु गर्ने र पछि ५० मेगावाटको सोलारबाट हरित हाइड्रोजन तथा अमोनिया उत्पादनको प्रक्रिया अगाडि बढाइएको अपि पावरले दाबी गरेको थियो । तर नीति नहुँदा कठिनाइ भएको भन्दै अपी पावर उदासिन बन्दै आएको थियो ।
सरकारले नीति पारित गरिसक्दा पनि अपी पावरका प्रबन्ध निर्देशक सञ्जिव न्यौपाने सम्पर्कमा छैनन । उता, ग्रिनजो इनर्जी इण्डियाले गुजरातको सानन्दमा हाइड्रोजन प्लान्ट स्थापना गरेर काम नै सुरु गरिसकेको छ ।
नेपालमा नीति पारित भएपछि उसले सम्झौता अनुसार अपीसँग नेपालमा पनि उत्पादनका लागि काम थाल्ने प्रयास अघि बढाएको छ । ग्रिनजोका प्रबन्ध निर्देशक सन्दीप अग्रवालका अनुसार अपीका प्रबन्ध निर्देशक न्यौपाने पनि नेपालमा हाइड्रोजन नीति आएकोमा खुशि भएको कुरा व्यक्त गरेका छन् ।
तर आयोजनाको काम कहिलेबाट शुरु गर्छन् त्यसमा कुनै जानकारी दिएका छैनन् र उनका अनुसार अपि पावर नेपालको हाइड्रो पब्लिक कम्पनी हो र अपि नै नेपालको पहिलो हाइड्रोजन उत्पादक कम्पनि बन्ने छ ।
अपि पावरले २०७९ साउन १ गते ग्रिनजो इनर्जीसँग सम्झौता गर्दा दार्चुलामा निर्माण भएको ८.५ मेगावाटको नौगाड गड जलविद्युत आयोजनालाई आधार मानी १ मेगावाट विद्युत भण्डारण गर्न सक्ने हाइड्रोजन प्लान्ट विकास गर्ने उल्लेख थियो ।
त्यसबाहेक अमोनिया समेत उत्पादन गर्ने गरी ५० मेगावाटको सोलार प्लान्ट छनोट भएको पनि दाबी गरिएको थियो । ग्रिनजो इनर्जी जोडिएपछि नेपालमा हरित हाइड्रोजनको लगानी बढाउन सकिने प्रबन्ध निर्देशक अग्रवालले बताउनुभएको थियो ।
ग्रिनजोकै अग्रसरतामा अपि पावरले चन्द्रनिगाहपुरमा निर्मित ४ मेगावाट र १ मेगावाटको सिमरा सोलारको आयोजनामा हाइड्रोजनको प्लान्टका लागि प्रारम्भिक अध्ययन गर्ने दाबी गरेको थियो ।
युरोपमा विकसित प्रविधिलाई भारतले व्यावसायिकरूपमा विस्तार गर्न लागेको हुँदा यसलाई सजिलै नेपालमा स्थानान्तरण गर्न सकिनेगरी ग्रिनजोले काम गर्ने योजना बनाएको थियो ।
तर, अपी पावर नीति बनेपछि पनि चुप लागेर बसेको देख्दा आफ्नो शेयर भ्यालू बढाउन मात्र ग्रिनजोसँग हाइड्रोजनको सम्झौता गरेको देखिन्छ । जबकी अपि पावर र ग्रिनजो मिलेर नेपालमा ५० मेगावाटको हरित हाइड्रोजन, अमोनिया देखि युरिया सम्म उत्पादन गरि परियोजना विकास गर्ने योजनामा थिए ।
दुई कम्पनीबीचको एमओयूपछि अपीको शेयर भ्यालू ह्वात्तै बढेको थियो । २०७९ साउन १ गतेमा सम्झौता गरेको अपि पावरले माघ २ गते मात्र अपीले १ करोड ६५ लाख ३३ हजार १ सय ३७ कित्ता हकप्रद शेयर निष्काशन गरेको थियो ।
२०७९ पुस २१ गते अपि पावर कम्पनी लिमिटेडले लाभांश घोषणा गर्यो । कम्पनीले त्यसबेला कायम गरेको चुक्ता पुँजीको ७.५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.३९४७ नगद लाभांश गरि ७.८९४७ बितरण गर्यो ।
त्यसबेला कम्पनीको चुक्ता पुँजी ३८४.४९ करोड रहेको थियो । यो अझै बढेको छ । कम्पनीका अध्यक्ष सतिश न्यौपाने र प्रबन्ध निर्देशक सन्जीव न्यौपाने नै अपिमा नागरिकले राखेका विश्वास भत्काउन लागि परेका जस्तो देखिन्छ यसमा सरकारले उनीहरुको नियतमा छानबिन गर्दैन ?