वडाले उत्पादन गरेका ट्रेनरबाटै गार्मेन्ट सञ्चालन गर्ने योजना छ : अध्यक्ष धमेन्द्र श्रेष्ठ (टोखा–४)

Monday Feb 12, 2024
वि.सं.२०८० माघ २९ सोमवार ११:३६

काठमाडौं । म निर्वाचित भएको करिब दुई वर्ष पुग्नै लागेको छ । यो बीचमा छापरको टोलमा बाटो बनाएका छौँ । सारथि पाठशालाको राधेराधेमा खानेपानी र ढल निर्माण कार्य सम्पन्न भएको छ । मन्दिरको पुनर्निमाण भएको छ । वडाम रहेको धापासी माविमा वडाको तर्फबाट शौचालय, पर्खाल निर्माणजस्ता कार्य भइसकेका छन् । वडामा सञ्चालित योजनामध्ये ७२ प्रतिशत भौतिक योजना छन् ।
खानेपानी आयोजनका लागि पाइपलाइन बिस्तार गरिएको छ । वडामा खानेपानीको समस्या छ । केयुकेलले पानी वितरण गर्न नसकेको अवस्था छ । मेलम्चीको पानी वितरणका लागि बुस्टरपम्प निर्माण कार्य भएको छ ।
वडामा रहेको एक मात्र सामुदायिक विद्यालयको शिक्षका लागि चार लाख बजेट विनियोजन गरिएको छ । विद्यालयको भौतिक विकासका लागि बजेट छुट्याइएको छ । विद्यार्थीको मनोबल उच्च बनाउनका लागि केही दिनअघि मात्रै छात्रवृत्ति वितरण गरिएको छ । म निर्वाचित भएर आउँदा यो विद्यालयमा ३५० को हाराहारीमा विद्यार्थी थिए । अहिले ६०० भन्दा बढी विद्यार्थी भर्ना भएका छन् ।
सामुदायिक विद्यालयमा निम्न स्तरका परिवार र अभिभावक नभएका विद्यार्थीहरु पढ्ने भएकाले पनि सामुदायिक विद्यालयको शिक्षाको गुणस्तर हुन सकिरहेको अवस्था छ । सामुदायिक विद्यालयको स्तर श्रीवृद्धिका लागि समाजमा रहेका सामाजिक अभियान्त, बुद्धिजीवी वर्गलगायतका छोराछोरीलाई अनिवार्य विद्यालयमा भर्ना गर्नुपर्छ ।
नारा र कुरामा सामुदायिक विद्यालयको स्तर वृद्धि गर्नुपर्छ भने छ । तर, व्यवहारमा त्यस्तो हुन सकेको छैन । तसर्थ सामुदायिक विद्यालयको स्तर वृद्धिका लागि स्थानीय सरकार वा केन्द्र सरकारले सबैले आफ्ना विद्यार्थी सामुदायिक विद्यालयमा पढाउनुपर्ने नीति बनाउनुपर्छ ।
कानुनी रुपमा सामुदायिक विद्यालयमा कुनै पनि शुल्क लिन पाउँदैन । धापासी विद्यालयमा एक जना मात्रै मावि दरबन्दी छ । बाँकी निमावि र प्राविका शिक्षकहरुले सञ्चालन गरिरहेको अवस्था छ । नगरले सबै विद्यार्थीलाई खाजाको व्यवस्था गरिएको छ ।
सुरुमा हाम्रो वडामा स्वास्थ्यचौकी थिएन । मेरै कार्यकालमा मन्दिर परिषरमा स्वास्थ्यचौकीको सुरुवात भएको छ । त्यसैगरी सस्तो दर रेटमा सरकारी फार्मेसी पनि सुरु भएको छ । दिसा र पिसाब संकलन गरेर परीक्षण सुरुवात भएको छ । मेयर दीर्घायु स्वास्थ्य परीक्षण कार्यक्रम सुरु भएको छ । निःशुल्क होलबडी चेक, ब्लड प्रेसरसम्बन्धी चेक जाँच गरिएको छ ।
यस्तै, सुगर र प्रेसरका बिरामीलाई महिनाको पाँच हजार नगरले व्योहोरेको छ । घरघरमा गएर स्वास्थ्यसम्बन्धी जनचेतनासम्बन्धी कार्यक्रम अघि बढाइएको छ । गत वर्ष हामीले पाठेघरसम्बन्धी कार्यक्रम भएको थियो । जसबाट करिब २०० भन्दा बढी महिला दिदी बहिनीहरुले लाभ लिएका थिए । यो वर्ष पुरुषहरुको पोस्टेर क्यान्सर परीक्षणका लागि बजेट विनियोजन गरिएको छ । पोस्टेर क्यान्सरसँगसँगै भिआइभी परीक्षण पनि हुनेछ ।
वडाको फोहोर व्यवस्थापनका लागि डस्टविन वितरण गरिएको छ । किचेनविन वितरण गरिएको छ । त्यसैगरी फाहोर व्यवस्थापनका लागि कौशी खेतीको तालिम परीक्षण गरिएको छ । प्लाष्टिको सट्टा कपडाको झोला उत्पादनका लागि वडाले प्रशिक्षण गर्नेछ ।
घरपालुवा कुकुर पाल्नेहरुले अर्काको घर दैलो अगाडि दिसा पिसाब गर्ने प्रचालनलाई न्यूनीकरणका लागि जरिवाना तोक्ने योजना बनाएका छौँ । वडाको फोहोरमैला व्यवस्थानका लागि वडाले २ जना कर्मचारी नियुक्ति गर्दैछ । यस्तै, प्लाष्टिकको झोला बाल्न निषेध गरेका छौँ ।
क्षेत्रफलका हिसाबले टोखा आवासीय रुपमा विकसित भएको छ । यहाँ कृषकको संख्या न्यून छ । बरु बाहिरबाट आउनेहरुले खेती गरिरहेको अवस्था छ । कौशी खेती र करेसाबारी खेतीका लागि प्रमोट गर्ने योजना अघि बढेका छौँ ।
लक्षित वर्गको प्रशिक्षणका लागि १० लाख छुट्याइएको छ । वडाले कपडा सिलाउने तालिम दिएर उनीहरुलाई नै ट्रेनरको रुपमा काम दिनुपर्छ भनेर तालिम लिएकाहरुको सिपलाई कार्यान्वयनका लागि गार्मेन्ट बनाउने योजना बनाएको छ । यस्तै, ब्यूटिसियन तालिम, कपडा सिलाउनेलगायत प्रशिक्षण सञ्चालन गरेको छ ।
यस्तै, वडालेज्येष्ठ नागरिकका लागि टाइम पासका लागि भजन कीर्तनका लागि कार्य अघि बढाउने दिवा सेवा सञ्चालन गर्ने योजना बनाएको छ । वडामा १०० जनाभन्दा बढी वृद्धवृद्धा हुनुहुन्छ ।
वडाले विभिन्न गुठीको संरक्षण, नेवारी समुदायको संस्कृति बचाउन र विभिन्न बाजा संरक्षण कार्य अघि बढाएको छ । विस्केट जात्रा, लाखे नाच सञ्चालनमा टेवा पु¥याइरहेको छ । वडामा बाह्य पर्यटकीय स्थल छैनन् । तर, आन्तरिक पर्यटकको चहलपहल राम्रै हन्छ ।
वडा कार्यालय जनताको जन्मदेखि मृत्युसम्मका कार्य गर्नुपर्ने हुन्छ । जनप्रतिनिधि भनेको जनतको चाहना पूरा गर्न भनी आइएको हुन्छ । तर, ऐन, कानुन नियमका कारण पनि सोचेअनुरुप कार्य पूरा गर्न नसकिने हुन्छ । कानुन संशोधन गर्नुपर्छ । वडाअध्यक्षलाई १००० पनि खर्च गर्न सक्ने अवस्था छैन ।
अहिले विद्युत् प्राधिकरण, सडक विभाग र वडाले भत्काउने, बनाउने प्रचलन छ । जसका कारण वडाले गुनासो सुन्नुपर्ने अवस्था छ । तसर्थ विकासमा एकद्वार नीति हुनुपर्छ । विकासमा अन्तर निकाय समन्वय हुनुपर्छ ।
(अध्यक्ष श्रेष्ठसँग गरिएको कुराकानीका आधारमा)