जङ्गी अड्डा पुगेर रक्षामन्त्रीले गरे नेपाली सेनाको प्रशंसा

Monday Mar 25, 2024
वि.सं.२०८० चैत १२ सोमवार १७:४७

काठमाडाैँ । रक्षामन्त्री हरिप्रसाद उप्रेतीले जङ्गी अड्डाको निरीक्षण भ्रमण गरेका छन्। उनले साेमबार जङ्गी अड्डा पुगेर नेपाली सेनाबारे औपचारिक जानकारी लिएका हुन्।
जङ्गी अड्डामा आयोजित कार्यक्रममा मन्त्री उप्रेतीसमक्ष नेपाली सेनाको सङ्गठनात्मक स्वरूप, तैनाथी, स्वदेश र अन्तर्राष्ट्रिय क्षेत्रमा नेपाली सेनाले सञ्चालन गरिरहेका विविध गतिविधिबारे जानकारी गराइएको थियो।
कार्यक्रममा प्रधानसेनापति प्रभुराम शर्माले रक्षामन्त्री उप्रेतीलाई बधाई ज्ञापन गर्दै सेनाका सकलदर्जाको तर्फबाट जङ्गी अड्डामा स्वागत गरेका थिए। उनले संविधान प्रदत्त जिम्मेवारीका अलावा नेपाल सरकारबाट विधिसम्मत ढङ्गले प्राप्त विकास निर्माण लगायत विविध जिम्मेवारीहरू समयमानै पुरा गर्न नेपाली सेना सदैव कटिबध्द रहेको बताए।
उनले जिम्मेवारी पूरा गर्ने क्रममा आइपर्ने चुनौतीलाई नियमसम्मत रूपमा रक्षा मन्त्रालयबाट सम्बोधन हुँदै आएको र सोको प्रभावकारी निरन्तरता हुनेमा विश्वस्त रहेको बताए।
उनले सेनाले विश्व शान्ति स्थापनार्थ गरिरहेका कार्यहरुले अन्तर्राष्ट्रिय जगतमा नेपाल र नेपाली सेना दुवैको साख बढाउनुका साथै सैन्य कूटनीति प्रवर्ध्दन एवम् अन्तर्राष्ट्रिय सम्बन्ध विस्तारमा समेत सकारात्मक प्रभाव परेको बताए।
साथै, संयुक्त राष्ट्रसंघसँगको सहकार्यलाई थप मजबुत र बृहत् बनाउन राष्ट्रिय रूपमै एकीकृत नीतिररणनीति अख्तियार गर्न आवश्यक रहेको समेत उल्लेख गरे। उनले बाह्य तथा आन्तरिक सुरक्षा प्रणालीलाई सुदृढ बनाई राष्ट्रको आधारभूत मूल्यमान्यताको रक्षा एवम् जनताको विकास र समृध्दिको अभिलाषालाई पूरा गर्न समेत नेपाली सेनाको समयानुकूल आधुनिकीकरण गर्दै लैजान आवश्यक रहेको बताए।
कार्यक्रममा रक्षामन्त्री उप्रेतीले राष्ट्रिय स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता, स्वाधीनता तथा राष्ट्रिय एकताको रक्षार्थ नेपाली सेनाले निर्वाह गर्दै आएको अहम् भूमिकाको साथै विकास निर्माण, विपद् व्यवस्थापन, नागरिक सहयोग, खेलकुद एवम् विश्व शान्ति स्थापनामार्फत अन्तर्राष्ट्रिय क्षेत्रमा नेपालको पहिचान स्थापित गराउन नेपाली सेनाले निर्वाह गरेका विविध गतिविधि एवम् पहलता सम्बन्धी विस्तृत जानकारीका लागि धन्यवाद ज्ञापन गरेका थिए।