नबिल बैंकद्वारा जाजरकोट र रुकुम पश्चिमका भूकम्प पीडिलाई अस्थायी आवास हस्तान्तरण

Sunday Dec 22, 2024
वि.सं.२०८१ पुस ७ आइतवार २०:५५

काठमाडौं । नबिल बैंकले जाजरकोट र रुकुम पश्चिमका भूकम्प प्रभावितलाई अस्थायी आवास हस्तान्तरण गरेको छ ।
आइतबार एक कार्यक्रम बीच नबिल बैंकका अध्यक्ष उपेन्द्रप्रसाद पौडेलले नलगाड नगरपालिकाका मेयर डम्बरबहादुर रावत र चौरजहारी नगरपालिकाका मेयर पुष्प वादीलाई ९६ वटा अस्थायी आवास हस्तान्तरण गरेका हुन् ।
बैंकले निर्माण गरिदिएको अस्थायी आवास हस्तान्तरण कार्यक्रममा नबिल बैंकका अध्यक्ष पौडेलले बैंक समाजमा सकारात्मक प्रभाव पार्न सधैं प्रतिबद्ध रहेको बताए । प्राकृतिक प्रकोपबाट प्रभावितलाई सहयोग पुर्याउने उद्देश्यले सामाजिक उत्तरदायित्व अन्तर्गत बैंकले यो परियोजना अघि बढाएको उनले बताए ।
नबिलले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत अस्थायी आवास निर्माण गरेको हो । बैंकले स्थानीय सरकारसँगको साझेदारीमा जाजरकोटको नलगाड नगरपालिका- १ मा ४७ र रुकुम पश्चिमको चौरजहारी नगरपालिका- १ मा ४९ अस्थायी आवास निर्माण गरेको थियो ।
बैंकले अस्थायी आवास बनाउन आवश्यक जस्तापाता, बाँस, सिमेन्ट, रंगरोगन, किल्लाकाँटीजस्ता निर्माण सामग्री उपलब्ध गराएको थियो ।