कामना सेवा विकास बैंकद्वारा ९% लाभांशसहित ३५ करोड रुपैयाँको अग्राधिकार सेयर जारी हुने

Sunday Jan 26, 2025
वि.सं.२०८१ माघ १३ आइतवार ०६:१६

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले ९ प्रतिशत वार्षिक लाभांशदरका साथ ३५ करोड रुपैयाँ बराबरको अविमोच्य असञ्चिति अग्राधिकार सेयर जारी गर्ने भएको छ। बैंकले प्रति कित्ता १ सय रुपैयाँ अंकित मूल्यका ३५ लाख कित्ता अग्राधिकार सेयर परिपत्र विधिबाट निष्काशन गर्ने तयारी गरेको छ।
बैंकले यो सेयरको निष्काशन तथा बिक्री व्यवस्थापनको जिम्मा एनआइएमबि एस क्यापिटल लिमिटेडलाई प्रदान गरेको छ। बैंकले पूरक पूँजी वृद्धि गर्ने उद्देश्यले यो अग्राधिकार सेयर जारी गर्न लागेको हो।
९ प्रतिशत वार्षिक लाभांशदर भएको यो अग्राधिकार सेयर अविमोच्य हुने भएकाले भुक्तानी अवधि तोकिएको छैन। परिपत्र विधिबाट निष्काशन गरिने सेयरले बैंकको पूँजी संरचना थप सुदृढ गर्ने विश्वास लिइएको छ।
यस विषयमा भएको सम्झौतामा कामना सेवा विकास बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत दिनेश थकाली र एनआइएमबि एस क्यापिटल लिमिटेडका तर्फबाट महाप्रबन्धक सचिन्द्र ढुङ्गानाले हस्ताक्षर गरेका छन्।
कामना सेवा विकास बैंकले यो सेयर निष्काशनमार्फत पूँजी संरचनालाई बलियो बनाउँदै लगानीकर्ताहरूमाझ थप विश्वास निर्माण गर्ने लक्ष्य राखेको छ।