नेपाल बिजनेस समिटको दोस्रो संस्करण बैशाख ७ मा आयोजना हुने

Tuesday Mar 04, 2025
वि.सं.२०८१ फागुन २० मंगलवार २३:४९

काठमाडौं । नेपाल बिजनेस समिटको दोस्रो संस्करण आगामी २०८२ साल बैशाख ७ गते (अप्रिल २०) काठमाडौंमा आयोजना हुने भएको छ। यो समिट नेपाल सरकार, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, नेपाल चेम्वर अफ कमर्स (एनसिसि) र नेपाल बिजनेस इन्स्टिच्युट (एनबिआई)ले संयुक्त रूपमा आयोजना गर्ने भएको छ। समिटको आयोजनाबारे सोमवार चेम्वर भवन जमलमा एनसिसि र एनबिआईबीच सम्झौता भएको थियो।
“Economy for a Sustainable and Resilient Future” को मुल नाराका साथ आयोजना हुने यस वर्षको समिटमा आर्थिक, बैंकिङ, उद्योग, व्यवसाय तथा अन्य सम्भावनाशील क्षेत्रहरूमा देखिएका चुनौती तथा अवसरहरूमा केन्द्रित गरिएका विषयहरूमा छलफल हुनेछ। यसैगरी, स्वदेशी तथा विदेशी विज्ञ, उद्यमी, युवा तथा महिला उद्यमीहरूको सहभागितामा गहन छलफल, बहस तथा अन्तरक्रिया गरिनेछ। समिटबाट प्राप्त हुने सुझावहरू समेटिएको निष्कर्ष प्रतिवेदन बनाई सरकारी तहलाई पेश गरिनेछ।
सम्झौता पत्रमा हस्ताक्षर कार्यक्रममा बोल्दै नेपाल चेम्वर अफ कमर्सका अध्यक्ष कमलेश अग्रवालले यो समिटले तीनै तहका सरकार र निजी क्षेत्रबीच विश्वास बढाउने र आत्मनिर्भर अर्थतन्त्र निर्माणका लागि एकजुटता बढाउने भूमिका खेल्ने विश्वास व्यक्त गरे।
नेपाल बिजनेस इन्स्टिच्युट (एनबिआई) का कार्यकारी अध्यक्ष तथा सम्मेलन आयोजक समितिका संयोजक विशाल गैरेले यस समिटले चीन र भारत जस्ता ठूला अर्थतन्त्र भएका छिमेकी मुलुकहरूसँगको सहकार्यलाई बलियो बनाउने बताए। उनले यसले आन्तरिक लगानीलाई प्रोत्साहन गर्ने र बाह्य लगानीलाई आकर्षित गर्ने भूमिका खेल्ने बताए। यसैगरी, दिगो बैंकिङ विकास, औद्योगिकीकरण, कृषि, पर्यटन, जलविद्युत, प्रविधि, साना तथा मझौला उद्योग, स्टार्टअप व्यवसाय, भेन्चर क्यापिटल, इक्यूबेसन जस्ता क्षेत्रमा लगानी बढाउने मार्ग प्रशस्त गर्ने उद्देश्य राखिएको छ।
समिटमा संघीय सरकारका उच्च राजनीतिक तथा प्रशासनिक अधिकारी, प्रदेशका मुख्यमन्त्री, स्थानीय निकायका प्रमुख, स्वदेशी तथा विदेशी विषयविज्ञ, अर्थविद्, बैंकिङविद्, दातृ निकायका प्रतिनिधि, निजी क्षेत्रका अग्रणी संस्थाका नेतृत्वगण, बैंक तथा वित्तीय संस्थाका अध्यक्ष/संचालक, उद्योगी, व्यवसायी, युवा तथा महिला उद्यमी, आईटी तथा डिजिटल प्रविधिमा संलग्न युवा, वैदेशिक रोजगारबाट फर्किएका जनशक्ति तथा उच्च शिक्षाका विद्यार्थीहरू सहभागी हुनेछन्। जम्मा ५ सयभन्दा बढी प्रतिनिधिहरूको सहभागिता रहने अपेक्षा गरिएको छ।
यसरी, नेपाल बिजनेस समिटले देशको आर्थिक विकासका लागि महत्वपूर्ण मंचको भूमिका निर्वाह गर्ने अपेक्षा छ।