आशिक कार्की : कुशल व्यवस्थापन र व्यावसायिक पहलसहित सचिव पदको दावेदारी
Friday Jan 09, 2026
वि.सं.२०८२ पुस २५ शुक्रवार ११:२४
हाल नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को कोषाध्यक्षको जिम्मेवारीमा रहेका आशिक कार्कीले आगामी कार्यसमितिका लागि सचिव पदमा उम्मेदवारी दिइसकेका छन् । उनलाई इक्यानको आगामी सचिवको रुपमा शसक्त दावेदारको रुपमा हेरिएको छ ।
पाएको जिम्मेवारीलाई कुशलतापूर्वक निर्वाह गर्ने क्षमता भएका कार्की मुखले बोलेर नभई काम गरेर देखाउने सवालमा अगाडी छन् । कार्यसमिति सदस्य हुँदै कोषाध्यक्षको भूमिका निर्वाह गर्दा कुनै प्रश्न नउठ्ने गरी इक्यानको आर्थिक कोषलाई परिचालन एवं व्यवस्थापन गरेको भनी व्यवसायी सदस्यहरुमाझ कार्कीको चर्चा हुने गरेको छ ।
उनले गत निर्वाचनमा कोषाध्यक्षको उम्मेदवार हुँदा अघि सारेका लगभग सबै एजेण्डा र कार्यायोजनाहरु निर्वाचित भएपछि कार्यान्वयन गरेको बताए । ‘मैले गरेको बाचा र बोकेको जिम्मेवारी पूरा गर्ने सन्दर्भमा कतै प्रश्न उठाउने ठाउँ दिएको छैन,’ कार्कीले भने, ‘विभिन्न क्रियाकलाप संचालन गरी कोषको आम्दानी बढाउनु, अनावश्यक खर्चमा कटौती गर्नु र व्यवसायीहरुको क्षमता अभिवृद्धिका लागि संस्थागत पहल गर्नु नै मेरो जिम्मेवारी रह्यो ।’
उनले कोषाध्यक्षको मात्र होइन मिडिया विभाग संयोजकको भूमिका पनि उत्तिकै जिम्मेवारीपूर्ण तवरबाट निर्वाह गरे । संस्थागत समृद्धिको लागि प्रचारप्रसारलाई जोड दिए जसका कारण संचारमाध्यमले पनि कार्कीलाई नजिकबाट नियाल्ने मौका पाए । उनी संचारकर्मीमाझ पनि उत्तिकै सरल र व्यवहारिक रुपमा प्रस्तुत हुन्छन् ।
कार्कीले कोषाध्यक्षको रुपमा व्यवसायीक हितका लागि केही महत्वपूर्ण कार्यहरु पनि सम्पन्न गरेका छन् । उनले परामर्श व्यवसायीलाई करको डर नभई ज्ञान बाँड्ने काम गरे । करसम्बन्धि सही जानकारी नपाउँदा थुप्रै व्यवसायीले दुख पाइरहेको अवस्थामा देशव्यापी कर सम्बन्धि तालिम गोष्ठी संचालन गरेर सचेतना फैलाउन भूमिका खेले ।
यस्तै उनकै पहलमा काठमाडौं नै धाउनुपर्ने बाध्यता हटाउँदै ओडीएमबी सेवामार्फत जापान, युके, अस्ट्रेलियाको बायोमेट्रिक सेवा मोफसलबाटै लिने व्यवस्था भयो । यसले व्यवसायीको समय र पैसा दुबै बचत भयो । त्यसैगरी बैंकहरुसँग समन्वय गरी व्यवसायीलाई आवश्यकता पर्दा विना धितो १५ लाख रुपैयासम्म कर्जा लिन सक्ने अवस्था निर्माण गरे भने स्ट्यान्डर्ड चाटर्ड बैंक र सिटिजन्स बैंकसँगको सहकार्यमा क्यूआर फोन पेमार्फत क्रेडिट सेवा लिन सहजीकरण गरे ।

यतिमात्र नभई कोभिड १९ पछि चार हजार १०० वटा जापान भिसा एप्लिकेसनको समस्या समाधान गर्नुका साथै पीटीईको मिति सजिलै उपलब्ध हुने अवस्था सिर्जन गर्न भूमिका खेले ।
इक्यानबाट संस्गत रुपमा संचालन गर्ने विभिन्न कार्यक्रमहरुलाई आवश्यक पर्दा फण्ड कलेक्सनको विशेष भूमिका खेलेका कार्कीले कतिपय अवस्थामा आफ्नै कम्पनीबाट प्रायोजन गरेर भएपनि कार्यक्रमहरु सफल बनाएका छन् ।
कार्कीले शैक्षिक परामर्श व्यवसायलाई व्यवस्थित, सशक्त र सम्मानित बनाउने साझा अभियानमा लामो समयदेखि खेलेको भूमिका र अनुभवको आधारमा अब सचिवको जिम्मेवारी लिन तयार भएको बताए । ‘इक्यानमा थिति बसालेका छौँ, अब गति दिनेछौँ !’ उनले भने, ‘इक्यानको संस्थागत सुदृढिकरण र व्यवसायीक हकहितमा समर्पित रहेर काम गर्ने अवसर प्राप्त हुने अपेक्षा गरेको छु ।’
जब नेतृत्वमा स्पष्ट भिजन र इच्छाशक्ति हुन्छ, तब असम्भव पनि सम्भव हुन्छ भन्ने मान्यता बोकेर कोषाध्यक्षको रूपमा ईक्यानलाई एउटा कर्पोरेट उचाइमा पुर्याएको स्मरण गर्दै कार्कीले अब संस्थाको प्रशासनिक र रणनीतिक जिम्मेवारी पुरा गर्ने अवसरका लागि सम्पूर्ण इक्यानियनहरुलाई साथ, सहयोग र अमूल्य मत प्रदान गर्न आग्रह गरेका छन् ।





























