कामना सेवा विकास बैंकद्वारा लम्की मानव सेवा आश्रमलाई न्यानो सामग्री वितरण
Thursday Jan 15, 2026
वि.सं.२०८२ माघ १ बिहीवार ०९:०६
काठमाडौं, पुस ३० । कामना सेवा विकास बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत शाखा कार्यालय लम्कीमार्फत कैलालीस्थित लम्की मानव सेवा आश्रमका असहाय, बेसाहारा तथा संरक्षणविहीन वृद्ध–वृद्धा र टुहुरा बालबालिकालाई न्यानो सामग्री वितरण गरेको छ ।
बैंकको लम्की शाखा प्रमुख भिमराज जैसीले आश्रमका सञ्चालक विनोद थापालाई ब्ल्याङ्केट, म्याट्रेस, सिरक तथा चिसो मौसमका लागि आवश्यक अन्य न्यानो सामग्री हस्तान्तरण गर्नुभएको थियो । सो अवसरमा शाखा प्रमुख जैसीले बैंकको सामाजिक उत्तरदायित्वअन्तर्गत गरिएको यस कार्यक्रमले आश्रमलाई महत्वपूर्ण सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
न्यानो सामग्री प्राप्त भएपछि आश्रमका वृद्ध–वृद्धा तथा बालबालिकाको जीवनमा न्यानोपन, सुरक्षा र आत्मबल थपिने विश्वास व्यक्त गर्दै सञ्चालक थापाले यस मानवीय पहलप्रति बैंकलाई धन्यवाद ज्ञापन गर्नुभएको छ ।
न्यानो सामग्री वितरण कार्यक्रममा बैंकका कर्मचारी, मानव सेवा आश्रमका प्रतिनिधि तथा स्थानीय व्यक्तिहरूको उपस्थिति रहेको थियो । बैंकले आगामी दिनहरूमा पनि सरोकारवालाहरूसँगको समन्वय तथा सहकार्यमा यस्ता सामाजिक उत्तरदायित्वसम्बन्धी कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ ।





























